कञ्चनपुर,साउन २२ गते । दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको अध्ययन गर्नका लागि नेपाल–भारतको संयुक्त टोली गठन गरी निर्माण कार्यलाई अगाडि बढाइने भएको छ ।
नेपाल–भारत दुवैतर्फ भौतिक संरचना निर्माण गरिने भएकाले दुवै देशका विशेषज्ञ सम्मिलित अध्ययन टोली गठन हुने भएको हो । सुख्खा बन्दरगाहाका लागि अध्ययन गर्न दुवै देशका विज्ञ सम्मिलित संयुक्त टोली बनाउने विषयमा इन्टर गभर्मेन्ट कमिटी आइजीसीको बैठकमा समझदारी भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए ।
आइजीसी भनेको नेपाल र भारत सरकारका सचिव सम्मिलित संयुक्त समिति हो । सुख्खा बन्दरगाहका लागि नेपालमा जस्तै भारततर्फ भन्सार, क्वारेन्टाइन, सडक र रेलवे लगायतका संरचना बनाउनुपर्ने भएकाले संयुक्त अध्ययन टोली गठन हुन लागेको बस्नेतले बताए । दोधाराचाँदनीको भारतीय सीमा क्षेत्रमा आवश्यक संरचना बनाउने विषयमा भारतीय पक्ष सकारात्मक भएपछि दुवै देशका विज्ञ सम्मिलित संयुक्त समिति बनाउने निर्णय भएको हो ।अर्थ मन्त्रालयले सुख्खा बन्दरगाहको विषयलाई बजेट वक्तव्यमा समावेश गरेर प्राथमिकतामा राखेको छ । सुख्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरिएको क्षेत्रमा वाणिज्य मन्त्रालय, नेपाल इन्टरमोडल यातायात विकास समिति, स्थानीय क्षेत्रका सांसद, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले पटक पटक अनुगमन गरिसकेका छन् । दोधाराचाँदनी नगरपालिकामा पर्ने कञ्चभोज आसपास क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको प्रस्ताव गरिएको छ ।
जैविक तटबन्ध निर्माण
दोधारा चाँदनी नगरपालिका–३, जामुनाघारीका दलित समुदायले जैविक तटबन्ध निर्माण गर्न थालेका छन् । बाढीबाट हुने गरेको जग्गा कटान रोक्न उनीहरुले तटबन्ध निर्माण गर्न लागेका हुन् ।
जोगबुडा नदीको बाढीले बर्सेनि बिचल्ली पार्न थालेपछि जैविक तटबन्ध थालेको विपद् व्यवस्थापन समितिका अध्यक्ष राधा सुनारले बताए । पक्की तटबन्धको पहल नभएपछि भैरव टोल, पत्थरनाला टोल, जामुनाघारी, ट्वालट्वालेलगायतका क्षेत्रमा विपद् व्यवस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माण सुरु गरिएको हो ।-रासस

Post a Comment