Websoft University

www.radiomakalu.com || 021-522512


जयन्त चन्द भन्छन्-पशुपति शम्शेरले हामीलाई मुसा बनाए

'पशुपतिलाई छाडेर एकीकरण गर्नेबारे विचार विमर्श हुँदैछ'jayanta chand
राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराले एकता घोषणाको २४ घण्टा अघि पार्टी एकीकरण अश्वीकार गरेकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आश्चर्य व्यक्त गरे । थापा भन्दा बढी आश्चर्यचकित भएका छन् पशुपतिकै पार्टी राप्रपाका वरिष्ठ नेताहरु ।

पशुपति शम्शेरपछि नहटेका भए राप्रपा नेपाल र राप्रपाबीच आज एकीकरण भइरहेको हुनेथियो । एकाएक एकता भाँडिएपछि पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्द सहितका नेताहरुले पशुपति शम्शेर अबिश्वसनीय र मूसा प्रवृतिको बाहक बनेर प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

ओली सरकारमा मन्त्री समेत रहेका राप्रपा केन्द्रीय सदस्य तथा प्रभावशाली नेता जयन्त चन्दले अनलाइनखबरसँग पशुपतिले आफूलाई समेत मुसा बनाइदिएको टिप्पणी गरेका छन् । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री चन्दका पुत्र जयन्तसँग अनलाइनखबरले गरेको कुराकानीः

पार्टी एकीकरण अचानक रोकिनुमा तपार्इंहरुको दोष हो कि कमल थापाको ?

हाम्रो दोष पनि होइन, कमल थापाजीको पनि होइन । हामीलाई पशुपति शम्शेरले बर्बाद पारे । एकीककरण हुने भनेर अस्ती २२ गते पशुपति शम्शेर आफैंले संयुक्त वक्तव्यमा हस्ताक्षर गरे । त्यसको ४८ घण्टा नबित्दै उनी आफैंले अर्को विज्ञप्ति निकालेर एकीकरण भाँडे र एकीकरण सभामा नजान निर्देशन जारी गरे । यस्तो झल्लु प्रवृतिलाई के भन्ने ? हामी सबै आश्चर्यचकित भएका छौं ।

एकीकरण रोक्ने सन्दर्भमा पार्टीमा छलफल भएन ?

उहाँले पार्टीमा र नेताहरुसँग पनि कुनै छलफल गर्नु भएन । एकल निर्णय गरेर उहाँले जारी गरेको विज्ञप्ति हामीले मिडियामा आएपछि थाहा पायौं । पार्टी एकता गर्ने निर्णय साउन ११ गते राप्रपा केन्द्रीय समितिले पारित गरेको हो । अध्यक्ष पशुपतिले त्यसमा हस्त्ाक्षार गरेका छन् । आज पार्टी एकता भाँड्ने क्रममा उनले एकल निर्णय गरे ।

सरकार वा पार्टी एकतामध्ये एउटा रोज्न उहाँमाथि दबाव परेछ नि ?

त्यस्तो केही पनि होइन । हिजो पशुपतिले उनका दुई जना मान्छेलाई मन्त्री बनाएर पठाएछन् बिना विभागीय । ठीकै छ हिजो मन्त्री बनाए, आज एकीकरण नरोकेको भए हुन्थ्यो ।

मन्त्री बनाउने सन्दर्भमा चाहिँ तपाईहरुसँग सल्लाह भएन ?

यत्रो पार्टी एकीकरण गर्दा त सल्लाह नगर्नेले मन्त्री बनाउने कुरामा के सल्लाह लिन्थे । मन्त्री बनाउने कुरा पार्टी केन्द्रीय कार्यसमितिमा छलफल हुनुपर्ने हो तर, त्यसो भएन । त्यसमा पनि हाम्रो कुनै गुनासो थिएन, तर पार्टी एकीकरणबाट किन पछि हटे ? यो प्रश्न महत्वपूर्ण छ । आज देशभरीबाट कार्यकर्ताले हामीलाई सोधिरहेका छन् ।

यस्तो किन भयो ? पशुपति शमसेरलाई तपाईहरुले नै अस्ती भर्खर लोकेन्द्रवहादुर चन्दको नेतृत्व हस्तान्तरण गर्नुभएको होइन र ?

वास्तवमा हामीमाथि धोका भयो । सिंगो पार्टी र कार्यकर्तामाथि धोका भयो । हामीले पार्टी एकीकरण होला भनेर उनलाई अध्यक्ष बनायौं । तर, उनकै कारण एकता भाँडियो ।

आज ९० प्रतिशत कार्यकर्ता एकताको पक्षमा छन् । केन्द्रीय कार्यसमिति एकताको पक्षमा छ । राष्ट्रवादी प्रजातान्त्रिक वैकल्पिक शक्ति चाहिन्छ भनेर यत्रो प्रयास गरियो । यो ६ महिनादेखिको प्रयासलाई पशुपतिले सिध्याए । यो त अनैतिकता र फेरवीको पराकाष्ठ नै गरे । उनले आफैंले साउन २५ गते एकीकरण गर्ने भनेर सही गरेको कुरा पनि लत्याए । बेहोसीमा सही गरेका त होइनन होला । तर यो देशमा जे गरे पनि हुने रहेछ । मलाई त यस्तो प्रवृति देखेर दिक्क लागेको छ, म आश्चर्यमा पनि छु ।

पशुपति शम्शेर जस्तो परिपक्व नेताले त्यतिकै यस्तो निर्णय त गरेका होइनन् होला ?

खै के भन्ने, वास्तवमा यो त मूसा प्रवृतिको बाहक नै भए । हामी केपी ओलीको सरकारमा थियौं । जुन उद्देश्य र काम गर्ने भनेर साथ दिएको हो, बीचमै धोका दिनु हुँदैन भन्ने हाम्रो मत थियो । तर, पशुपतिले संसदीय समितिको निर्णय भनेर हामीलाई फिर्ता बोलाए । एउटा जहाजमा प्वाल परेपछि अर्को जहाजमा हामफाल्ने मूसा प्रवृति नेपाली राजनीतिमा झाँगियो । पशुपतिले हामीलाई पनि मुसा बनाए र यसपटक मुसा प्रवृतिको नमूना उनी बने । यसले हामी जस्ता निष्ठाको राजनीति गर्नेहरुलाई लज्जाबोध भएको छ ।

अब पार्टी एकता त नहुनेनै भयो, यसमा अर्घेल्याइँ कसको त ?
पार्टी एकीकरण अनिश्चित भयो । अब एकीकरण हुने अवस्था म देख्दिन । यसमा अर्घेल्याईँ पशुपति शम्शेरकै हो । पार्टी त एकीकरणको पक्षमै छ । अब हामीले दबाव दिएर पनि केही होला जस्तो छैन । नेपाली राजनीतिमा यस्तो जालझेल चलेसम्म केही हुन्न । किन एकीकरण नगर्ने भन्ने कुनै कारण पनि उनले दिन सकेका छैनन् । अन्तरिम विधानमा कुरा मिलेन भनेका छन् । कुरा नमिलेको भए किन २२ गते हस्ताक्षर गरेको ? यसको जवाफ उनीसँग छैन ।

अब पशुपतिले जे गरे चुपचाप माने र बस्ने कि के गर्ने ?

अहिले छलफल भइरहेको छ । केही साथीहरुले एकताका लागि हस्ताक्षर अभियान पनि चलाइरहनुभएको छ । यस्तो देशमा भद्र मान्छेले राजनीति गर्न नसक्ने रहेछन् भन्ने पशुपति शम्शेरले हामीलाई सिकाए । राजनीतिक कुनै संस्कार र नैतिक सोच देखिएन । अब एकता नहुने भयो । पशुपति शम्शेरलाई अब कसले पत्याउँछ ?

पशुपति शम्शेरलाई छाडेर पनि तपाईँहरु एकतामा जान सक्नुहुन्छ ?

विचार विमर्श भइरहेको छ । अहिले नै केही भन्न सकिन्न तर, केही त गर्नुपर्ला । अब पशुपतिको कुनै क्रेडिबिलिटी नै रहेन । हामी के गर्ने भनेर परिस्थिति हेर्दैछौं ।

पार्टी एकता रोक्न बाहृय चलखेल पनि भयो भन्छन् नि ?

चलखेल भयो कि के भयो पशुपतिले नै जानुन् । पर्दा पछाडि देखिएको छैन, त्यसैले म केही भन्न सक्दिन ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget