बर्दिवास, साउन २ गते । महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा विभिन्न समुदायले मनाउने धार्मिक र सांस्कृतिक पर्व अब साझा बनेका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीमै मधेसी र पहाडी मूलका बासिन्दाले मनाउँदै आएका चाडपर्व सबैले मनाउन थालेपछि धार्मिक र ठाउँ विशेषका सांस्कृतिक पर्व साझा बन्दै गएका हुन् ।
एकदशक अघिसम्म साउने सङ्क्रान्तिबारे थाहै नपाएका जिल्लाका रैथाने मधेसी मूलका पछिल्लो पुस्ताका युवाले शनिबार पहाडी मूलका साथीसँगै लुतो फाल्ने पर्व मनाएका छन् ।
जिल्लामा पहाडी र मधेसी मूलको छ्यासमिस बसोबास रहेका बर्दिवास नगरपालिका क्षेत्र हात्तीलेट, खयरमारा, बिजलपुरा, बेलगाछी, औरही, भरतपुर, लक्ष्मीनिंयाँ, भङ्गाहा र पशुपतिनगर गाविस एवम् गौशाला नगरपालिका क्षेत्रमा लुतो फाल्ने पर्व दुवै समुदायले रमाइलो गरेर मनाएका थिए ।
विगतमा पहाडी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्वमा आफ्ना छोराछोरी र आफन्तजनको सक्रिय सहभागिताले विगतमा पहाडी र मधेसी भनेर फाटेको मन मेटिएको बताउँदै पशुपतिनगर गाविसका निवर्तमान अध्यक्ष रामधनी महतोले खुसी व्यक्त गर्नुभयो ।
पर्वमा लुतो फाल्ने विधिका लागि शनिबार बिहानैदेखि लुतेसरो, भलायो, कुरिलो र कुकुरडाइनोसहितका जङ्गली वनस्पतिका हाँगाको जोहो गर्न बस्तीका सबै युवा रमाइलो गर्दै एकसाथ वन गएका र साँझ एकसाथ लुतो फाल्ने चलनमा सरिक भएका दृश्यले सांस्कृतिक सद्भावको उच्च नमुना देखाएको वुद्धिजीवीको धारणा छ । पछिल्लो पुस्तामा पलाएको यो आपसी मेलमिलाप, सहकार्य र सद्भावले प्रेम र आपसी प्रगाढताको सन्देश दिएको बर्दिवासस्थित जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले बताउनुभयो ।
पछिल्ला केही वर्षदेखि पहाडी मूलकाले मनाउँदै आएका पर्वमा मधेसी मूलका युवाको सक्रिय सहभागिता र मधेसी मूलकाले मनाउँदै आएका चौरचन, स्थानीय परम्पराको घडिपर्व, जुडशितल र मिथिलाकै महान सांस्कृतिक र धार्मिक पर्व छठ पहाडी समुदायले बाक्लै मनाउन थालेपछि धार्मिक रीतिथिति, सांस्कृतिक पर्व तिहार र सामाजिक घुलमिलमा निक्कै सहजता आएको जिल्लाका सर्वसाधारणको धारणा छ ।
माघेसङ्क्रान्ति, दसैँ, तिहार, कृष्णअष्टमी, फागु, वसन्तपञ्चमी र बुद्धजयन्तीजस्ता धार्मिक पर्व दुवै समुदायले मनाउँदै आए पनि ती पर्व मनाउने फरकफरक चालचलनमा पनि एकरुपता देखिन थालेको जिल्लावासीले बताएका छन् । विगतमा दसैँ तिहारमा पिङ खेल्ने चलन मधेसी समुदायमा नरहे पनि पछिल्ला केही वर्षदेखि मधेसी बसोबास बाहुल्यका बस्तीमा बाक्लै पिङ बनाउने र खेल्ने चलन बढ्दै गएको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका पूर्वअध्यक्ष हरिप्रसाद मण्डलको भनाइ छ ।
हिन्दू धर्मावलम्बी रहेका मधेसी र पहाडी समुदायबीच मात्र नभई अब इस्लाम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीबीच पनि सांस्कृतिक आदानप्रदान र हेलमेल बढेको छ । हिन्दूले मनाउने फागु (होली), दसैँ, तिहार र छठ पर्वमा इस्लाम धर्मावलम्बी सरिक हुने र इस्लाम धर्मावलम्बीले मनाउने इद, बकरिद, मुहर्रम र सवेबरातजस्ता पर्वमा हिन्दू युवाको हेलमेल र जमघटले पुराना मनोमालिन्य मेटाएको मात्र नभई आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाएको शिक्षण पेसामा रहनुभएका जिल्लाकै धर्मपुरको पडरिया बस्तीका हबिब राइनले बताउनुभयो । हिन्दूको पर्व साउने सङ्क्रान्ति र एकसाता पहिलेमात्र आफूहरुले मनाएका महानपर्व इद उल फित्रमा हिन्दू र इस्लाम धर्मावलम्बी युवा सँगसँगै एकअर्काका पर्वमा सरिक भएको दृश्यले अत्यन्त भावुक बनाएको भङ्गाहा–३ का इस्लाम धर्मावलम्बी ९० वर्षीय अलिमन राइन कवारीले बताउनुभयो ।
जिल्लामा बढेको सांस्कृतिक सद्भाव र आपसी हेलमेलले विकास निर्माणका काममा देखिने किचलो र राजनीतिक कारणले बढाएको दूरीसमेत घटाउन मद्दत पुग्ने जिल्लाका पाका वुद्धिजीवी बताउँछन् ।
पछिल्लो पुस्ताले देखाएका आपसी सदासयता, हेलमेल, सांस्कृतिक घुलमिल र प्रेमपूर्ण समर्पणको नयाँ संस्कृतिले अब मुलुकले सबै प्रकारका जटिलता पार गर्ने विश्वास जागेकोमा जलेश्वर–१५ सुगाका बासिन्दा वरिष्ठ पत्रकार ७५ वर्षीय कृष्णचन्द्र झाले खुसी व्यक्त गर्नुभयो । - गोपालप्रसाद वराल , रासस
Post a Comment