नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औं महाधिवेशनमा अध्यक्षको दाबी गरिरहेका नैनसिंह महर प्रखर वक्ता र नैतिकताको राजनीति गर्ने विद्यार्थी नेतामा पर्छन् । महर नेविसंघमा प्रदीप पौडेल अध्यक्ष हुँदा उपाध्यक्ष थिए । सुदूरपश्चिमको डडेल्धुरामा जन्मिएर क्षेत्र, जिल्ला हँुदै नेविसंघ केन्द्रमा पुगेका महर पत्रकार र लेखक पनि हुन् । उनले नेविसंघको इतिहाससम्बन्धी पुस्तक लेखेका छन् । उनले लेखेको ‘शिक्षाको चुनौती’ नामक पुस्तकले अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको छ । माउपार्टी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि रहेका महरसँग नेविसंघको आगामी महाधिवेशन र अहिलेको विद्यार्थी आन्दोलनका विषयमा रमन पौडेलले गरेको कुराकानी :

नेविसंघको विरासत
२०२७ तिर नेपाल विद्यार्थी संघ स्थापनाका बेला देशमा पञ्चायती निरंकुश शासन व्यवस्था थियो । सबै नेता जेलभित्र थिए । बाहिर पञ्चायती व्यवस्थालाई दबाब दिन आन्दोलनको वेग ल्याउन अन्य संगठन थिएनन् ।
त्यतिबेला तत्कालीन नेताहरूको सोचअनुसार नेविसंघलाई स्थापना गरेर विद्यार्थीले आन्दोलनको वेगलाई अघि बढाउने भन्ने कुरा भयो । र, विशेषगरी विद्यार्थीका समस्या, शैक्षिक समस्यालाई केन्द्रमा राखेर उद्देश्य भने पञ्चायती व्यवस्था ढाल्नु थियो ।
विद्यार्थीका वर्गीय कुरा, पढाइका कुरा, तत्कालीन प्रविधिको पहुँचमा विद्यार्थीलाई कसरी पुर्याउने भनेर उठाउने तर त्यसको अन्तिम गन्तव्य भनेको पञ्चायती व्यवस्था अन्त्य र बहुदलीय व्यवस्था स्थापना गर्नु नै थियो ।
राजनीतिक रूपले पनि हाम्रा अग्रजले स्थापना गरिरहँदा हाम्रो माग संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र थियो । तर, अहिले हामी संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं ।
त्यतिबेलाको र अहिलेको परिस्थिति फरक भएको छ । एउटै विश्वविद्यालय थियो त्यतिबेला, त्रिभुवन विश्वविद्यालय । त्यसभित्र मात्रै केही निश्चित ठाउँमा नेविसंघको संगठन विस्तार गर्नुपर्ने थियो । आज १० विश्वविद्यालय भएका छन् । हाम्रो सांगठनिक संरचना फेरिएका छन् । राजनीतिक पृष्ठभूमि पनि फेरियो ।
सँगसँगै हाम्रा विषयवस्तु र मुद्दा पनि फेरिएका छन् । गुरुकुल पद्धतिबाट आएको शिक्षा नेपालको हुनेखाने इलिटले मात्रै प्राप्त गर्ने शिक्षा । जब कि राणा शासनमा २ प्रतिशतमात्रै भएको शिक्षा स्थिति पञ्चायतमा पनि धेरै फड्को मार्न सकेन ।
तल्लो, जो गाउँस्तरका किसानका छोराछोरीले शिक्षामा पहुँच पाएनन् । सामान्य किसानका छोराछोरीले पनि समान रूपमा व्यावहारिक शिक्षा पाऊन् भनेर हाम्रा अग्रजले शिक्षाको अधिकारका लागि संगठन खडा गरेका थिए ।
र, यिनै परिवेशबीचमा हाम्रा अग्रजले क्याम्पसमा पढ्ने विद्यार्थीबीच ०२७ मा सुरु गरेको संगठनको यात्रामा आजसम्म गौरवशाली अनुभव छन् ।
प्रजातान्त्रिक आन्दोलनको लडाइँमा थुप्रै अग्रजले सहादत प्राप्त गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनलाई क्याम्पसमा संस्थागत रूपमा स्थापना गर्ने नेविसंघको कार्यनीति थियो ।
हाम्रै आन्दोलनले ०३६/३७ तिर जनमतसंग्रह घोषणा गर्न बाध्य पारेको थियो । पछिल्लोपटक लीला, ठगी, कामेश्वर, कुशेश्वर, राम, लक्ष्मणलगायत थुप्रै सहिद हुनुभयो ।
विशेषगरी त्यतिबेला प्रजातान्त्रिक आन्दोलन भनिन्थ्यो । जसले पञ्चायती व्यवस्था अन्त्य गर्न चाहन्थ्यो । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनक्रममा कैयौं अग्रजले सहादत प्राप्त गरे भने कैयौंको अंगभंग पनि भयो ।
नौ वर्षदेखि जसरी नेविसंघको संगठन खिइएको छ, अबको नयाँ नेतृत्वले यसलाई नयाँ ऊर्जा दिनुपर्नेछ । यो त कांग्रेसको ट्रेनिङ इन्स्टिच्युट हो । तर, यही ठाउँमा खिया लागिरहेको छ ।

बदलिँदो परिस्थितिमा नेविसंघको संरचना
भर्खरै नेपाल विद्यार्थी संगठनले संरचनागत किसिमले आफ्नो विधान पनि पार्टीसमक्ष पेस गरेको छ । नेविसंघको अध्यक्ष, दुई निर्वाचित र दुई मनोनीत महामन्त्री, समावेशी तर्फबाट पनि निर्वाचित हुनुपर्छ भनेर मेरै पहलमा दलित, महिला, जनजातिलगायत समुदायको प्रतिनिधित्व हुनेगरी, उपाध्यक्ष, सहमहामन्त्रीलगायत पदमा निर्वाचित गरिने वैधानिक आधार खडा भएको छ ।
अन्य प्रान्तीय तहबाट केन्द्रीय उपाध्यक्षमा आउने व्यवस्था गरिएको छ । संचरनागत रूपले १ सय ६१ सदस्यीय केन्द्रीय समितिको रूपले अघि बढेका छौं ।
हामी आफैंलाई यो कमिटी अलि लामो भएकोजस्तो लागेको छ । तर, एउटा कमिटी नौ वर्षसम्म महाधिवेशन भएको छैन । यी त लामो समयसम्म संगठनमा महाधिवशेन नहुँदा थुप्रै साथीलाई अन्याय भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेविसंघको उपस्थिति राम्रो भएन भने त्यो आन्दोलन नै खतरामा पर्छ । त्यसैले पनि हाम्रा धेरै साथीलाई समस्या हुँदाहुँदै पनि संगठनात्मक हिसाबले लामो संगठन बनाउन बाध्य भएका छौँ ।
अरू हाम्रा राजनीतिक, शैक्षिक एजेन्डा फेरिएका छन् । १० विश्वविद्यालय भइसके । अध्ययन संस्थान धेरै भइसके ती संस्थानभित्र नेविसंघको संगठन विस्तार गर्नुपर्नेछ । हाम्रो सांगठनिक स्वरूपलाई आकर्षित गरेर ती संस्थानभित्र विस्तार गर्नुपर्नेछ ।
संगठनलाई बलियो बनाउँदै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई पनि बलियो बनाउनुपर्नेछ ।
विषय र प्रविधि फेरिएका छन् । प्रविधि दिनको दिन नयाँ–नयाँ आएका छन् । ती विषयलाई नेपालमा पनि स्थापित गरी विश्व बजारको शिक्षा स्तरमा प्रवेश गराउनुपर्नेछ ।
नैतिकता ह्रास भएकोजस्तो नेपाली समाज बन्दै छ । राजनीतिभित्र मात्रै होइन, हरेक क्षेत्रमा ह्रास भएको छ नैतिकता । त्यसैले नैतिकतामा आधारित मानवतावादी शिक्षाको आवश्यकता छ अहिले ।
डाक्टर, इन्जिनियरमात्रै पढाउनुपर्छ भन्ने जो लालसा छ । यसका विकल्प पनि स्थापना गर्नुपर्नेछ । राम्रो सचिव पनि चाहिएको छ । राम्रो पत्रकार चाहिएको छ । राम्रो शिक्षक चाहिएको छ । यसैले पनि नैतिकतामा आधारित शिक्षा हुनु जरुरी छ ।
हिजो हामीले नेविसंघको कलम र मशालअंकित झन्डामुनि बसेर प्रमाणपत्र धितोपत्र राखेर ऋण लिने व्यवस्था, हरेक वर्ष एसएलसीमा अनुत्तीर्ण भएबापत आत्महत्याजस्तो अवस्था नआओस् भनेर विकसित मुलुकमा झैं ग्रेडिङ व्यवस्था, खुला विश्वविद्यालयलगायत मुद्दा उठाएका थियौं । विशेषगरी मैले नै ती सवालको नेतृत्व गरिरहेको थिएँ ।
ती मुद्दाहरू आज सरकारको तर्फबाट सम्बोधन भएका छन् । त्यस्तै हरेक निर्वाचन क्षेत्रमा एउटा भोकेसनल इन्स्टिच्युट स्थापना गर्ने, प्रविधियुक्त क्याम्पस स्थापना गर्ने माग । शिक्षण अस्पतालजस्तै सरकारीस्तरको हरेक प्रान्तमा मेडिकल कलेज, कृषि कलेज, इन्जिनियरिङ कलेज स्थापनाजस्ता माग अझै साकार भइसकेका छैनन् ।
पछिल्लोपटक मैले साहससाथ एउटा मुद्दा उठाएको छु । भर्खरै नयाँ शिक्षा ऐनअनुसार १ देखि ८, ९ देखि १२ माध्यमिक तहको शिक्षा भएको छ । र, मैले सबै विद्यार्थी संघ तर्फबाट माग राख्नेछु– अब माविसम्म कम्तीमा विद्यार्थी राजनीति अन्त्य गर्ने ।
०३६/३७ तिर पञ्चायती व्यवस्थाले बन्द गरेको राष्ट्रिय स्वयंसेवी शिक्षा जो थियो, अहिले आएर त्यसको कार्यान्वयन गराउनुपर्छ भन्ने गाइडलाइनमा हामी अघि बढेका छौं ।जबसम्म शिक्षण अस्पतालबाट एमबीबीएस गरेका विद्यार्थीले पासआउट हुँदै गर्दा संखुवासभा वा बैतडीजस्ता ग्रामीण अस्पतालमा काम गर्दैन, त्यतिन्जेलसम्म न त उसले भूगोल चिन्छ न त नेपालको लगानी नै सदुपयोग हुन्छ ।
यसैगरी, कृषि, इन्जिनियरिङ क्षेत्रमा पनि यस्तो आवश्यकता छ । अर्कोतिर ग्रामीण क्षेत्रका जनताले त्यसबाट पाउने सेवा ।
पछिल्लोपटक मैले साहससाथ एउटा मुद्दा उठाएको छु । भर्खरै नयाँ शिक्षा ऐनअनुसार १ देखि ८, ९ देखि १२ माध्यमिक तहको शिक्षा भएको छ । र, मैले सबै विद्यार्थी संघ तर्फबाट माग राख्नेछु– अब माविसम्म कम्तीमा विद्यार्थी राजनीति अन्त्य गर्ने ।
हाम्रा सदस्यता वितरण अन्त्य गर्ने । त्यति भइसकेपछि विद्यार्थी राजनीतिमा नआएपछि जो पार्टीको झन्डा समातेर हिँड्ने शिक्षक थियो, ऊ बाध्य भएर कक्षाकोठामा पढाउन थाल्छ । कहीं न कहीं केही न केही नयाँ गर्नुपर्छ । देखासिकीबाट मात्रै हुँदैन । विषयवस्तु थुप्रै छन् ।
महाधिवेशनमा अबको नेतृत्व, मेरो दाबी
नेविसंघको ११औं महाधिवेशन पार्टी एकतापछिको पहिलो महाधिवेशन हो । यसलाई हाम्रा प्रतिस्पर्धी संगठन र हामी सोसलिस्ट इन्टरनेसनल सदस्यको हैसियतले पनि विदेशमा बसेका थुप्रै साथीले महत्वसाथ हेरिरहेका छन् । साथै हाम्रो प्रजातान्त्रिक अभ्यास र राजनीतिक निर्णयलाई पनि नियालिरहेका छन् ।
लामो समयको अनुभव संगठनलाई दिन चाहन्छु । यसैले पनि नेविसंघको नेतृत्व सम्हाल्न सक्छु भन्ने मेरो एउटा आधार हो । अर्को आधार, सांगठनिक स्वरूपमा फरक बनेका छन् । शिक्षाको अवस्था, विषयगत कुरा फेरिएका छन् । प्रविधिका कुरा आएका छन् । यो बदलिँदो समय र अवस्थालाई आत्मसात् गर्दै संगठन चलाउन पनि म सक्षम छु ।
यो संगठनलाई चलाउन एउटा छाता लिडरसिप चाहिएको छ । हिजो दुई पार्टी भएकै आधारमा वा समूहगत विभाजन भएकै आधारमा पक्षपातपूर्ण व्यवहार हटाएर समन्वय नगर्ने हो भने यो संगठन चल्न सक्दैन ।
संगठनमा सबैको अपनत्व देखिनेगरी नेविसंघभित्र सबैलाई मिलाएर लैजाने क्षमता मसँग छ । किनकि हिजो पार्टी एक हुने बेला पनि म संगठनमा थिएँ । योबीचमा पनि सक्रिय रहें ।
लामो समयको अनुभव संगठनलाई दिन चाहन्छु । यसैले पनि नेविसंघको नेतृत्व सम्हाल्न सक्छु भन्ने मेरो एउटा आधार हो । अर्को आधार, सांगठनिक स्वरूपमा फरक बनेका छन् । शिक्षाको अवस्था, विषयगत कुरा फेरिएका छन् । प्रविधिका कुरा आएका छन् । यो बदलिँदो समय र अवस्थालाई आत्मसात् गर्दै संगठन चलाउन पनि म सक्षम छु ।
तेस्रो आधार, राजनीतिक मिसन फेरिएको छ । स्थापनाको बेला जुन राजनीतिक पृष्ठभूमि थियो । त्यो फेरिएर आज संघीय गणतन्त्रमा पुगेका छौं । यो कार्यान्वयन गराउने सन्दर्भमा पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनेको संविधान कार्यान्वयन भएको छैन ।
विभिन्न बाधा अड्काउ आएका छन् । सबै क्षेत्र, वर्ग, समुदायका व्यक्तिले संविधानमा अपनत्व देखेका छैनन् । यसलाई सबै क्षेत्रमा कार्यान्वयन गराउन नेविसंघको भूमिका आवश्यक छ । नयाँ नेतृत्वले त्यो जिम्मेवारी वहन गर्नुपर्नेछ । म यो नेतृत्व ग्रहण गर्न तयार छु । र, आत्मविश्वास पनि छ कि राज्य र पार्टीको सहयोगी बनेर संविधान कार्यान्वयन यात्रामा योगदान दिन सकिन्छ ।
नौ वर्षदेखि जसरी नेविसंघको संगठन खिइएको छ । अबको नयाँ नेतृत्वले यसलाई नयाँ ऊर्जा दिनुपर्नेछ । यो त नेपाली कांग्रेसको ट्रेनिङ इन्स्टिच्युट हो । यहाँ काम गरिसकेपछि अनुभव प्राप्त गरी पार्टीमा काम गर्न जाने हो । सधैंभरि बसिरहने ठाउँ होइन यो । तर, यही ठाउँमा खिया लागिरहेको छ । नर्सरी बिरुवाविहीन भएको छ । खाली जमिन छ । यो नर्सरीलाई पहिलेजसरी ब्लक गर्ने काम नेतृत्व तहबाट भयो । त्यो आज हुनुहुँदैन । फरक किसिमले जानुपर्छ ।
सशक्त नेविसंघका माध्यमले प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने जनता उत्पादन गर्ने जिम्मेवारी पनि नेतृत्वको हो । देशभित्र यदि प्रजातन्त्रवादी जनताको उपस्थिति उल्लेख्य रूपमा भएन भने अहिलेजस्तै चरित्र नै नमिल्ने वामपन्थीसँग काँध मिलाउने बाध्यता आइरहन्छ ।

कर्तव्यनिष्ठ र संगठित नेविसंघको जगमा गतिशील, निष्ठावान् र बलियो कांग्रेस निर्माण गरेर नेपाललाई समृद्ध बनाउने हाम्रो साझा सपना साकार पार्ने ऐतिहासिक जिम्मेवारी हामीले पूरा गर्न सक्छौं । यसकानिम्ति :
– नैतिकतामा आधारिक मानवतावादी शिक्षा
– प्राविधिकयुक्त व्यावहारिक र गुणस्तरीय शिक्षामा सबैको समान पहुँच
– दुव्र्यसनमुक्त स्कुल÷कलेज
– भ्रष्टाचारमुक्त शैक्षिक प्रशासन
– हरेक दुई वर्षमा अनिवार्य नेविसंघको महाधिवेशन सम्पन्न हुने वैधानिक व्यवस्था
– नियमित स्ववियु निर्वाचन
– नेविसंघको केन्द्रदेखि जिल्लासम्म समाज रूपान्तरण कार्यदलको गठन तथा आउँदै गरेको स्थानीय प्रदेश र संघीय चुनावमा नेविसंघको तर्फबाट १५ प्रतिशत उम्मेदवारीका लागि पार्टीमा दबाब सिर्जना गर्ने ।
लामो समयदेखि नेविसंघको मोर्चाबाट लोकतान्त्रिक आन्दोलनमा संलग्न भई प्राज्ञिक मर्यादा र शैक्षिक उन्नयनमा योगदान दिँदै आएकाले देशभरिका महाधिवेशन प्रतिनिधि, अन्य साथी र पार्टी नेतृत्व दुवै तहको साथ र विश्वास मलाई भएकाले साथीहरूले मलाई विजयपथमा लैजाने कुरामा ढुक्क छु ।- रातोपाटीबाट

Post a Comment