Websoft University

www.radiomakalu.com || 021-522512


‘विद्यार्थी चढेको देखी-देखी आगो झोसे’

 




काठमाडौं , साउन ७ गते । रातिदेखि परेको पानी रोकिएको थिएन। बिहीबार बिहानै ललितपुर धोवीघाटस्थित आइडिएल मोडल सेकेन्डरी स्कुलका चालक विनोद कटुवाल सधैंझैं बा.२क.४६९ नम्बरको गाडी लिएर विद्यार्थी लिन निस्के।

बाटो पनि खुलै नै थियो, जाम खासै व्यहोर्नुपरेको थिएन।

गाडीमा त्यस्तै २५ जना जति विद्यार्थी थिए। नेशनल ट्रेडिङ, कालो पुल र सानेपा गरी तीन ठाउँमा थप विद्यार्थी गाडीमा चढाउनुपर्ने थियो।

बस शोभा भगवती चोकबाट डल्लुहुँदै परोपकार जाँदै थियो, जिल्ला शिक्षा कार्यालयको अगाडि एउटा ट्रनिङ क्रस गर्न लागिरहेको थियो।

त्यस्तै ६ बजेर २० मिनेट हुँदो हो। अन्दाजी १८-२० वर्ष उमेरका तीन युवकले बीच बाटोमा उभिएर झ्याप्प गाडी रोके।

विनोद छक्क परे। को के केही नखुलाइकन एउटाले भन्यो, ‘आज बन्द भन्ने थाहा भएन?’

‘खै स्कुलबाट मलाई केही पनि भनिएको थिएन,’ विनोदले निर्दोषितापूर्वक भने।

अर्का युवक जंगिँदै आए र निर्देशनात्मक तवरले भने, ‘गाडीबाट सबै जना उत्रिने।’

‘पानी परिरहेको छ,’ विनोदले अनुरोधपूर्वक भने, ‘म गाडी चलाउँदिनँ, यतिकै बसौं न।’

बाँकी रहेका अर्का युवक रन्थनिएर अगाडि सरे। चाबी खोसे।

एक जना गाडीभित्र चढे। र धम्कीपूर्वक सबैलाई भने, ‘उत्रिने है।’

विनोद आफ्नो झ्यालबाट उत्रिए। विद्यार्थीहरू फुत्त-फुत्त उत्रिएर साइड लाग्न थाले। कोही नजिक कतै ओत लाग्ने ठाउँ खोज्दै थिए।

कोही भर्खर गाडीबाट उत्रिएर भुइँ टेक्दै थिए।

‘एक छिनमा छोडिदेलान् भन्ने लागेको थियो,’ विनोद भन्छन्।

कसलाई भन्ने? बाटोमा यस्तो भइरहेको छ भनेर? पानी ओइरिरहेको थियो। उनी बाटोमा गाडी रोकियो भन्नका लागि फोन गर्दै थिए।

त्यहीबेला गाडीमा ह्वार्रर आगो दन्कियो। क्षणभरमै गाडी दनदनी बल्न थाल्यो।

‘उनीहरूले के बोकेर आएका थिए मैले खासै वास्ता गरेको थिइनँ,’ विनोद भन्छन्, ‘एकैचोटी गाडीमा आगो दन्कियो, विद्यार्थी चढेको देखी-देखी आगो झोसे।’

उनका अनुसार तीनमध्ये एक जनाले पेट्रोल बोकेर आएको हुनुपर्छ। तर, विनोदले राम्रोसँग नियाल्न पाएका थिएनन्।

मौसमी प्रतिकूलताबीच विद्यार्थी ओसार्न हिँडेका विनोदजस्तै धेरैलाई थाहा पनि थिएन, कसले किन बन्द गरेको हो, वा हैन। र, बन्दै भए पनि विद्यार्थी बोकेको गाडीमाथि कसैले आगो लगाइहाल्ला भन्ने भेउ विनोदले पाएनन्।

किनभने विनोदले दस वर्ष त झेलिसकेका थिए। यसअघिका बन्द, हड्ताल देखे, भोगेथे। यसरी नै आइडिएल स्कुलको गाडी लिएर हिँड्न थालेको दस वर्ष पूरा भइसकेको थियो।

‘आजसम्म कतै पनि यस्तो भएको थिएन, रोक्ने छेक्ने त कहिलेकाहीँ भोगेको हो,’ उनी भन्छन्, छिनको छिनमै आगो लगाइदिए।’

मुटु थर्रर काँप्यो, विद्यार्थी सबै डराए। वरिपरिका मान्छे ट्वाल्ल परे।

‘यतिछिटो ह्वारह्वारी बल्यो कि हेरेको हेरै भएँ,’ विनोद भन्छन्, ‘गाडीमा आगो बलेपछि ती युवक कता भागे कता पत्तै पाइएन।’

विनोद धोवीघाटबाट निस्केपछि सरासर कीर्तिपुर गएका थिए। त्यसपछिबाट ट्याङलाफाँट।

कीर्तिपुर गेट, कुलेश्वर, सोल्टीमोड, भोटेबहाल, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, ठमेल, नयाँ बजार, शोभा भगवती चोक नियमित रूट थियो।

बिहान प्लस टुको पढाइ हुन्थ्यो। उनी विद्यार्थी लिन यो गाडी लिएर काठमाडौं र ललितपुरका विभिन्न ठाउँ पुग्थे। विद्यार्थी बोकेर साढे ६ बजेसम्ममा स्कुल आइपुग्थे।

जिल्ला शिक्षा कार्यालयनजिकै ‘आतंकवादी’ शैलीमा स्कुलको बसमा आगो दन्काउने को थिए चिनिएन। तर आगो लगाइसकेपछि उनीहरूले छोडेको पर्चा भेटिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपाल लेखिएको पर्चा भेटिएको हो।

पर्चामा ‘शैक्षिक माफिया र दलालको विरूद्धमा निर्यायक लडाइँ लडौं, यही साउन ६ गतेदेखि अनिश्चितकालीन निजी स्कुल बन्द गरौं’ लेखिएको छ।

स्कुलका प्रशासन विभाग प्रमुख कृष्ण श्रेष्ठ गाडी रोकिएको खबर पाएपछि त्यस ठाउँतर्फ दौडिएका थिए। उनी पुग्दा दमकलले आगो निभिइसकेको थियो, प्रहरीको टोली आइपुगेको थियो।

‘गाडी त स्केलेटनजस्तो भइसकेको थियो म पुग्दा,’ श्रेष्ठले भने।

श्रेष्ठका अनुसार बन्द भएको थाहा हुँदाहुँदै स्कुल खोल्ने योजना थिएन। बन्दको जानकारी नै थिएन। ‘बरू जानकारी पाएको भए हामीले त पटक-पटक स्कुल बन्द गरेकै थियौं,’ श्रेष्ठ भन्छन्।

विद्यार्थी बोकेको गाडीमा आगो लगाउने कामले भय सिर्जना गरेको श्रेष्ठले बताएका छन्। ‘विद्यार्थी बोकेको गाडी, त्यसमाथि राम्रोसँग उत्रिन नपाउँदै आगो लगाएपछि आतंकित हुनुपरेको छ,’ श्रेष्ठले भने, ‘यस्तो कार्य गर्नेमाथि कडाभन्दा कडा कारबाही होस्।’

काठमाडौं प्रहरीका अनुसार केन्द्र कुन पार्टी सम्बद्ध हो खुल्न सकेको छैन। यही समूहमा आवद्ध रहेको शंकामा हातमा पेट्रोल बोकेर हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

‘गाडी जलाउनेहरू कुन पार्टीसँग सम्बद्ध हुन् खुलेको छैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले भने, ‘ती को थिए, हामी उनीहरूलाई खोजिरहेका छौं।’

यसैबीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले विद्यार्थी सवार बसमा पेट्रोल खन्याएर आगजानी गरेको घटनाका दोषी पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले कारबाही र क्षतिपूर्ति भराउन माग गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना राजनीतिक अभिष्ट पूरा गर्न जबरजस्ती विद्यालय बन्दको घोषणा गर्ने अनि विद्यार्थी सवार बसमाथि आगजनी गर्ने घटनाको जति बिरोध गरे पनि कम हुने बताए।

प्याब्सनका महासचिव डिके ढुंगानाले यस्ता खाले ‘अनैतिक’ र ‘आपराधिक’ कृयाकलापले बालबालिकामा मनोवैज्ञानिक असर पर्ने भएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। भयरहित वातावरणमा पढ्न पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्ने पनि उनले बताए।

-  खिलानाथ ढकाल , सेतोपाटीबाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget