Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्तिको विधान : योग, ध्यान र प्राणायामदेखि सदाचार आयोग र पार्टी विघटनसम्मको परिकल्पना




काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालको संगठनात्मक सिद्धान्त र अन्तरिम विधान–२०७३ सार्वजनिक गरेको छ । सर्वसाधरणलाई समेत छलफलका लागि सार्वजनिक गरिएको संगठनात्मक सिद्धान्त र अन्तरिम विधानमा केही रोचक पक्ष छन् । प्रत्यक्ष निर्वाचित नेतासहित पार्टी विवघनसम्मको विषय विधानमा समेटिएको छ ।

संगठनात्मक सिद्धान्त र अन्तरिम विधानमा स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायामसम्मका विषय पनि यसमा छन् । naya shakti (10)


यस्ता छन् विधानका विषेशता र रोचकपक्ष


–संगठनात्मक सिद्धान्त पार्टीले अवलम्बन गर्ने राजनीतिक मार्गदर्शन भन्दा अलग हुँदैन । पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत समाजवाद उन्मुख वाम¬–लोकतन्त्र हुनेछ । यहाँ ‘वाम’ शब्दले पार्टीको प्रगतिशील, अग्रगमनकारी र अविचलित जनपक्षीय भावनाको अभिव्यक्ति गर्दछ । ‘लोकतन्त्र’लाई हामीले उदार वा प्रतिनिधिमूलक लोकतन्त्रको अर्थमा नभई सहभागितामूलक लोकतन्त्रको रुपमा प्रयोग गरेका हौं । यसैगरी ‘समाजवाद’को पनि नयाँ शक्ति पार्टी, नेपालले नयाँ र समयसापेक्ष परिभाषा गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले विश्वास गरेको समाजवाद राज्य नियन्त्रित समाजवाद नभई समुदाय वा समाज केन्द्रित समुन्नत समाजवाद हो । यसकालागि हामीले समानुपातिक, समावेशी र सहभागितामूलक पार्टी संगठन निर्माणको अभ्यास गर्ने लक्ष्य लिएका छौं । हाम्रो पार्टीमा सदस्यहरु सार्वभौम हुनेछन् । तिनै सदस्यको सार्वभौम निर्णय नै पार्टी सञ्चालनको मुख्य आधार हुनेछ ।


–नयाँ शक्ति पार्टी, नेपाल वैकल्पिक राजनीतिक शक्ति हो । नयाँ शक्ति पार्टी, नेपालमा स्वयंसेवी सदस्य र भविष्य–उन्मुख युवाहरुको संलग्नता रहनेछ । पार्टीमा आवद्ध सदस्यहरुले पार्टी संगठनलाई सदैव चलायमान, रचनात्मक र जीवन्त बनाउने छन् । हामी समानुपातिक, समावेशी, सहभागितामूलक र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्छाैं । समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्रमा सदस्यहरु सार्वभौम हुनेछन् । सदस्यहरुको सार्वभौमसत्ता नै पार्टी शक्तिको स्रोत हुनेछ । पार्टीमा समभाव विकास गरिनेछ ।


–सबै सदस्यहरु जनतासँग जोडिएर काम गर्नेछन् । नयाँ शक्ति पार्टी, नेपालको विचार, संगठन, समाजिक कार्य, रचनात्मक आचरण र व्यवहारको अन्वेषण र प्रयोग स्थानीय तहमा जनतासँगै बसेर गरिनेछ । सदस्यहरुले प्राप्त सीप र अनुभवहरुका आधारमा कुनै न कुनै आर्थिक उपार्जन र सामाजिक परिवर्तनको कार्य गर्नेछन् । सिर्जनशीलता, उत्पादनमुखी सोंच, विनम्र व्यवहार र जनतासँग एकाकार हुने संस्कृति नयाँ शक्ति पार्टी, नेपालका सदस्यहरुको मूल चरित्र हुनेछ ।


–सबै तहका कार्यकारी पदहरु सदस्यहरुको प्रत्यक्ष मताधिकारद्वारा निर्वाचित हुनेछन् । केन्द्रीय कमिटी देशविदेशमा रहेका सम्पूर्ण सदस्यहरुको मतद्वारा निर्वाचित हुनेछ । प्रादेशिक कमिटी प्रदेशभरिका सदस्यहरुको मतद्वारा बन्नेछ । स्थानीय कमिटीहरु स्थानीयस्तरमा बसोबास गर्ने सदस्यको मतद्वारा निर्वाचित हुनु पर्नेछ ।


–नयाँ शक्ति पार्टी, नेपालले शक्तिको निक्षेपीकरणलाई प्रोत्साहित गर्नेछ । नयाँ शक्ति पार्टी, नेपाल सामूहिक नेतृत्व, जिम्मेवारी बाँडफाँटको मान्यतामा आधारित हुनेछ ।

–पार्टी सदस्यहरुमा उम्मेद्वारहरुलाई अस्विकार गर्ने अधिकार र निर्वाचित कुनैपनि पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा विधानको पालना नगरेमा वा पार्टी हित विपरित काम गरेमा तोकिएबमोजिम सदस्यहरुले फिर्ता बोलाउने अधिकार सुनिश्चित गरिनेछ ।


–पार्टीको सम्पूर्ण सांगठनिक संरचनाहरु अनिवार्यरुपमा समानुपातिक, समावेशी र सहभागितामूलक हुने गरी निर्माण गरिनेछ । पार्टीमा मुख्य जातीय समुदाय (मधेसी–थारु, आदिवासी जनजाति, खस–आर्य) र दलित, मुस्लिम लगायतका अल्पसंख्यक, फरक क्षमता भएका समूह, यौनिक तथा लैंगिक अल्पसंख्यक समूहकोे समानुपातिक र समावेशी संलग्नतामा पार्टीका कार्यकारी कमिटीहरु निर्माण हुनेछन् । यसरी बनाइने सांगठनिक संरचनामा महिला, युवा, प्रौढ, श्रमजिवी तथा आर्थिक रुपले विपन्नको अनुपात सम्बन्धित समुदायको जातीय क्लस्टर भित्रबाटै मिलाइनेछ ।


–पार्टीभित्र कुनै पनि कमिटीको निर्वाचन हुँदा सदस्यहरुले प्रयोग गर्ने मतदान गोप्य हुनेछ । सैद्धान्तिक, वैचारिक, नीतिगत विषयहरुमा हुने मतदान खुल्ला हुनेछन् । कसले कुन विचार वा प्रस्तावका पक्षमा मतदान गरेको हो प्रष्ट खुल्नेगरी अभिलेखन गरिनेछ । फरक विचारको सम्मान र यसको रचनात्मक स्वतन्त्रतालाई कुण्ठित गरिने छैन ।


–पार्टीले लोकतान्त्रिक प्रतिष्पर्धा, सदाचार, सुशासन र पारदर्शितालाई संगठनको अभिन्न अंगको रुपमा अवलम्बन गर्नेछ । पार्टीका सबै तहका जिम्मेवारी, अपेक्षित नतिजा र जवाफदेहिताका मापदण्डहरु तय गरिनेछ । सबै नीतिगत र आर्थिक मामिला पारदर्शी हुनेछन् ।


–पार्टीभित्र अल्पमतका विचारहरु राख्ने, फरक मत दर्ता गर्ने र कमिटीको निर्णयानुसार बहस चलाउने अधिकार हुनेछ । बहुमत विचारलाई कार्यान्वयन गर्न सहयोग गर्नु अल्पमत पक्षको कर्तव्य हुनेछ । त्यसैगरी कार्यान्वयन गर्दा अल्पमत विचारको सम्मान गर्नु बहुमत पक्षको कर्तव्य हुनेछ । विचार अभिव्यक्तिमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता पार्टीको आधारभूत संगठनात्मक सिद्धान्त हुनेछ ।


–पार्टीभित्र शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता अवलम्बन गरिनेछ । कार्यकारी कमिटीहरुले संघ, प्रदेश, स्थानीय तहगत कार्यकारीको काम गर्नेछन् । महाधिवेशनले विधायिकी अधिकार प्रयोग गर्नेछ । यसको निरन्तरताकालागि तहगत परिषद्को व्यवस्था हुनेछ । शक्तिपृथकीकरणको मान्यताअनुसार संघ, प्रदेश र स्थानीय तहमा न्यायिक छानविन र कारवाहीका लागि अनुशासन आयोग, सार्वजनिक चासोको विषयमा छानविनका लागि लोकपाल, आर्थिक अनुशासन र लेखा परीक्षणका लागि लेखापरीक्षण आयोग र आन्तरिक निर्वाचन सम्पादनका लागि निर्वाचन आयोग, सदाचार प्रवद्र्धनको लागि सदाचार आयोग हुनेछन् ।


–पार्टीमा शक्तिपृथकीकरणको प्रयोग गर्न तथा नियन्त्रण र सन्तुलनको व्यवस्था मिलाउन आवश्यक नियम बनाइनेछ । एक अर्कोलाई सहयोग, सहजीकरण गर्ने हरेक निकायको कर्तव्य हुनेछ ।


–राज्यको कुनै पनि पद तथा जिम्मेवारीमा उम्मेद्वार छनौट गर्दा समानुपातिक समावेशी मान्यताका आधारमा सदस्यहरुबीचको सहमतिमा वा आवश्यक परे आन्तरिक निर्वाचन गरिनेछ । यस अनुच्छेदको प्रयोजनका लागि राजकीय मनोनयन भन्नाले राज्यका निर्वाचित हुने वा नियुक्ति हुने पदहरु बुझ्नु पर्दछ ।


–पार्टीका विभिन्न तहका विभाग र संयन्त्रहरु मनोनित हुनेछन् । यस्ता पार्टी अंगहरुमा मनोनित गर्दा सम्बन्धित व्यक्तिको रुची, क्षमता र बिषय विज्ञतालाई विचार गरिनेछ ।


–सबै पार्टी कार्यालयमा आ–आफ्ना विषयमा विज्ञ र व्यावसायिक कर्मचारीहरु हुनेछन् । उनीहरुको सेवा, सुविधाको शर्तसहितको नियमावली हुनेछ ।


–पार्टी संगठनभित्र कुनै पनि सदस्य व्यक्तिका हैसियतले पूर्णकालीन हुनेछैन । खासखास पदहरु पूर्णकालीन हुनेछन् । सम्बन्धित कमिटीले निर्णय गरेका सहित पूर्णकालीन सदस्यहरुले नियमानुसार सञ्चार, यातायात, सामान्य पारितोषिक आदि जस्ता खर्चहरु पार्टी कोषबाट लिन पाउनेछन् ।


–पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ ।


–पार्टीमा ७० बर्ष उमेर पूरा भएपछि कार्यकारी पदहरुबाट निवृत्त हुने व्यवस्था हुनेछ र पार्टीको निर्णयानुसार सम्मानजनक स्थानमा भूमिका निर्वाह गर्नेछ ।


–आवश्यकतानुसार आंगिक संगठनहरु बनाइनेछ । युवा, विद्यार्थी, महिला, किसान, मजदुर, पूर्व सुरक्षाकर्मी लगायतका आंगिक संगठनहरु हुनेछन् । शिक्षक, प्राध्यापक, कर्मचारी लगायत पेशागत क्षेत्रमा दलगत संगठन निर्माण नगरी पेशागत क्षमता विकास र समृद्धि तथा सुशासनको कार्यसूचीमा सहकार्य गर्न निरन्तर संवादको उपयुक्त विधि अवलम्वन गरिनेछ ।


–सबै कमिटी आफ्नो बैठक राख्न, योजना बनाउन, अधिवेशन बोलाउन, बजेट बनाउन, आफ्नो कार्यक्षेत्रको राजकीय तथा सार्वजनिक क्षेत्रको विषयमा छलफल गर्न र निर्णय लिन विधानको अधीनमा रही स्वायत्त हुनेछन् । आवश्यकतानुसार उत्प्रेरकहरुको व्यवस्था गर्न सकिनेछ ।


–पार्टीले आफ्नो सम्पूर्ण जीवनलाई सदाचार, सुशासन, जवाफदेहिता र पारदर्शिताका आधारभूत मान्यताकारुपमा ग्रहण गर्नेछ । भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्वन गर्नेछ ।


–आर्थिक पारदर्शिताका लागि पार्टीको आर्थिक कारोवारहरुलाई बैंकमार्फत सञ्चालन गरिनेछ । व्यक्ति, संगठित संस्था र व्यवसायिक समूहबाट लिने आर्थिक सहयोगको सीमा तोकिनेछ । सबै सहयोगहरुलाई सार्वजनिक गरिनेछ । लेखापरीक्षण र त्यसको सार्वजनिकीकरण हुनेछ ।


–पार्टीका सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण तहगत रुपमा सार्वजनिक र बार्षिक अद्यावधिक गरिनेछ ।


–पार्टी जीवनमा सामाजिक विभेद र अपराधजन्य क्रियाकलापहरु जस्तैः लैंगिक विभेद र हिंसा, बालश्रमको प्रयोग, जातीय विभेद तथा छुवाछुत, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमाथिको विभेद, फरक क्षमता भएका व्यक्तिहरुमाथिको विभेद, रोग, रंग, वर्ण, भाषाको आधारमा हुने विभेद आदि प्रति शून्य सहनशीलता हुनेछ ।


–पार्टीले सदैव अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता दिनेछ । कुनैपनि बिषयमा धारणा बनाउँदा वा नीतिगत निर्णय गर्दा अध्ययन, अनुसन्धान, तथ्यांक, सूचना र जनमतमा आधारित हुने संस्कृतिको विकास गरिनेछ ।


–स्वस्थ शरीर र मन निर्माणकालागि पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्राणायाम जस्ता विधिहरु उपयोग गर्न प्रेरित गरिनेछ । आवश्यकता अनुरुप तालिम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ ।


–कुनै पार्टीसँग एकता गरिएको अवस्थामा बाहेक अन्य कारणले पार्टी विघटन भएमा पार्टीको चल अचल सम्पत्ति नेपाल सरकारको हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget