Websoft University

www.radiomakalu.com || 021-522512


सप्तरीका बाढीपीडितः मान्छेलाई छैन, गाईलाई के खुवाउनु ?


Saptari Flood (7)
सप्तरी,साउन १० गते । तिलाठी गाविस-६ का सन्तोष झाको परिवारलाई कहिल्यै नसोचेको विपत आइलाग्यो । १० दिन अगाडि मात्रै उनका पिता इन्द्रदेव झाको देहावसान भएको थियो । अहिले सन्तोषको परिवारले क्रियाकर्मसमेत सिध्याउन नपाई अर्को विपतिले छोप्यो ।

झाको परिवारलाई आर्थिकरुपले यस्तो समस्या आएको होइन । लगातारको वर्षाले उनको घर नै जलमग्न भएपछि कहाँ बसेर क्रियाकर्म गर्ने ? तीन दिनदेखि परिरहेको लगातारको वर्षाले झाका चारवटा मध्ये सबै घरमा २ देखि ३ फिटसम्म पानी पसेको छ ।

त्यस्तै सकरपुरा गाविस-७ की राजोकुमारी मुखिया तीन दिनदेखि पानीमै बस्न बाध्य छिन् । तीन बर्षे बच्चालाई काखमा लिएर भोकभोकै बस्नुपर्ने बाध्यता छ उनको । घरभित्र ३ फिटसम्म पानी जम्दा त्यही पानीभित्रै गुजारा चलाउनुपरिरहेको उनले ।







तिलाठी-७ का बद्री मुखियाको अवस्था पनि उस्तै छ । साना नानीहरुलाई काखमा च्यापेर भोकभोकै पानीमा बस्नुपरेको बाध्यता छ उनीसँग ।
झा र मुखिया मात्र होइन अहिले सप्तरीका एक हजारभन्दा बढी परिवारका करिब ४ हजार व्यक्ति विभिन्न खोलामा आएको बाढीबाट पीडित बनेका छन् । वर्षा अझैसम्म जारी रहेका कारण डुबानमा परेका तीन हजारभन्दा बढी घर जोखिममा छन् । पानी पर्न नरोकिए डुबानमा पर्ने घरहरु भत्कने वा बग्ने अवस्था देखिएको बाढीपीडितले बताएका छन् ।

गाईलाई के खुवाउनु ?

लगातारको वर्षाले आएको बाढी व्यक्तिको घर-घरमा पुगेपछि व्यक्तिका साथै चौपायाहरु समस्यामा परेका छन् । पानीमा डुबेका चौपाया भोकभोकै छन् । ‘आफूलाई त समस्या छ गाईभैंसीलाई कहाँबाट घाँस ल्याएर दिनू,’ सकरपुरा-७ का अयोधी मुखियाले भने, ‘शुक्रबारदेखि चौपायाहरु पानीमै भिजेर भोकै बसेका छन् ।’



सकरपुरासहित बाढी प्रभावित गाउँहरुका लगभग ५ हजारभन्दा बढी गाईंभैंसी र त्यत्तिकै संख्यामा बाख्राहरु डुबानमा परेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रका गाविस सकरपुरा, लौनिया, तिलाठी, बभनगामाकट्टीसहित खाँडो खोलाको छेउमा रहेका गाविसका घरहरु जोखिममा परेका छन् ।

तीन हजार घर डुबानमा

अविरल वर्षाका कारण खाँडो नदीको बाँध भत्केर आएको बाढीको पानी सकरपुरा गाविसका सबै वडाका बासिन्दाको घरमा पुगेको छ । सकरपुराका सबै तथा लौनिया र तिलाठीका केही घरमा दुईदेखि तीन फिटसम्म पानी जमेको छ ।



शनिबारदेखि जमेको पानी लगातारको वर्षाले अझै बढ्दै गएको सशस्त्र प्रहरी बल आउट पोष्ट कार्यालय तिलाठीका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘घरभित्रै पानी जमेका कारण यी गाविसका घरहरु जोखिममा छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले भने, ‘अन्य ठाउँका घरहरु त्यति जोखिममा छैनन् ।’

पानी निरन्तर परिरहे डुबानमा परेका धेरै घरहरु भत्कन सक्ने आशंका गरिएको छ । अहिले जोखिममा रहेका घरका बासिन्दाहरु सुरक्षित स्थानमा गएको र केही आफन्तका घरमा शरण लिएका छन् ।



शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण जिल्लाका करिब तीन हजारभन्दा बढी घर डुबानमा परेका छन् । बाढीका कारण सदरमुकाम राजविराजसहित सकरपुरा, लौनिया, तिलाठी, कोइलाडी, दिघवा, महदेवा, मधवापुर, भगवतपुर, बथनाहा, भारदह, पोर्ताहा, मैनाकडेरी, विषहरिया, कोइलाडी बर्साइन, को मधेपुरा, बभनगामाकट्टी गाविसका साथै कञ्चनरुप तथा सप्तकोशी नगरपालिकाका धेरै घर डुबानमा परेका छन् ।

खाँडो खोलाको बाँध भत्केर आएको बाढीले सकरपुरा, तिलाठी, लौनिया, बभनगामाकट्टी, विषहरियासहितका गाविसका घरहरु डुबानमा परेका छन् ।

यस्तै महुली खोलाको बाँध भत्केर आएको बाढीले भारदह, पोर्ताहा गाविसका घरहरु डुबानमा परेका छन् । सबैभन्दा बढी सकरपुराका घर डुबानमा परेका छन् । यहाँका ५ सयभन्दा बढी घर डुबानमा परेको प्रहरीको भनाइ छ ।



राजविराज वडानम्बर १० का एक सयभन्दा बढी घर डुबेका छन् । त्रियुगा खोलामा आएको बाढीले सप्तकोशी नगरपालिकाका सयभन्दा बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

महुली खोलामा आएको बाढीले भारदह र पोर्ताहाका २ सय ५० भन्दा बढी घर डुबानमा परेका छन् ।

यस्तै विषहरियाका २ सय, लौनियाका २ सय, तिलाठीका २ सय, रम्पुरा मल्हनियाका ७ सय परिवारका घरमा पानी पसेको छ ।

बभनगामाकट्टीका एक सय, कोईलाडी बर्साइनका २ सयभन्दा बढी, कोइलाडीका एक सय, भगवतपुर र बथनाहाका एक-एक सय, भारदहका १ सय ५० घर डुबानमा परेका छन् ।



दिघवाका १ सय २५ र देउरी भरुवाका ५० घर डुबानमा परेको प्रहरीले जनाएको छ । त्यस्तै बाढीले पकरी ९ बलथी गाउँमा रहेको १२ फिट लामो १० फिट चौडा पक्की पुल भत्काएको प्रहरीले जनाएको छ ।

सुख्खा खानेकुरा बाँडियो

घरमा पानी पसेर भोकभोकै रहेका सप्तरीको तीन गाविसका बाढीपीडितहरुलाई आइतबार राहतस्वरुप खानेकुरा वितरण गरिएको छ । यसबाहेक अन्य कुनै किसिमको राहत तथा पुनःस्थापना नगर्दा बाढीपीडितहरुको समस्या यथावतै छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले सकरपुरा, रम्पुरा मल्हनियाँ र बिषहरिया गाविसका बाढीपीडितलाई खानेकुरा बितरण गरेको हो । बाढीपीडित परिवारलाई तत्कालका लागि मुरही, चिउरा र नुन वितरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।



उनका अनुसार बाढीपीडितलाई के गर्ने भन्ने सन्दर्भमा छलफल भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीहरुले सोमबार बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।

विपद व्यवस्थापन समितिको बैठक बस्दै

यसैबीच लगातारको वर्षाले हजारौं घर जलमग्न भएपछि जिल्ला विपद व्यवस्थापन समितिको बैठक बोलाइएको छ । सोमबार दिउँसो बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए ।

उनका अनुसार बाढीपीडित क्षेत्रमा के गर्ने, बाढीपीडितलाई कसरी सहयोग गर्ने भन्ने सन्दर्भमा बैठक बस्न लागेको हो ।-एस के शान, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget