काठमाडौं , असार १३ गते । न्यूरोड, ठमेल र दरवारमार्गजस्ता व्यस्त स्थानमा सवारी पार्किङ गर्न घण्टौं पालो कुर्नुपर्ने बाध्यता अब हट्ने भएको छ ।
यी व्यस्त स्थानको पार्किङ व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले खुलामञ्च र लैनचौरमुनि भूमिगत बहुतले पार्किङ स्थल निर्माण गर्ने भएको छ । यी दुबै ठाउँमा बजार, कफीसप र पसलसहितको बेसमेन्ट पार्किङ बनाउन सकिने प्रतिवेदन परामर्शदातृ संस्थाले दिएको छ ।
दुबै ठाउँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्राप्त भएको र छिटै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्नेगरी प्रकृया अगाडि बढाइने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए ।

‘सवारी पार्किङको व्यवस्थापनका लागि खुलामञ्च र लैनचौरमा अण्डरग्राउण्ड संरचना विकास गर्ने परिकल्पना पुरा गर्न सकिन्छ भन्ने अध्ययनले देखायो’ तामाङलेे भने ‘अब निर्माणका लागि सरकारसमक्ष औपचारिक प्रस्ताव पेश गरिनेछ । जग्गाका लागि अनुमति र लगानीको मोडेलमा निर्णय भएपछि काम सुरु हुन्छ ।’
निजी कम्पनीलाई निर्माणको जिम्मा दिएर २५ वर्षसम्म सञ्चालन गरी महानगरलाई नै हस्ता
न्तरण गर्ने गरी यी परियोजनाहरु प्रस्ताव गरिएको छ । ३ देखि ५ वर्ष निर्माणका लागि समय दिइनेछ । पार्किङ र व्यापारिक स्टलहरुबाट उठेको रकम २५ वर्षसम्म निर्माता कम्पनी आफैंले राख्ने महानगरका सार्वजनिक-निजी साझेदारी महाशाखाका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।

खुलामञ्चको पार्किङ
खुलामञ्चको ४८ रोपनी जग्गामा बन्ने भूमीगत पार्किङमा विभिन्न किसिमका सवारी पार्किङको सुविधा दिने योजना छ । अब खुलामञ्चमा ३ तल्लाको भूमिगत संरचना निर्माण हुनेछ । पहिलो तलामा मोटरसाइकल पार्किङ स्थलसहित विभिन्न व्यापारिक स्टलहरु रहनेछन् । कफीसपसहित विभिन्न व्यापारिक स्टलसहितको कम्प्लेक्स रहनेछ । पार्किङबाट मात्रै लगानी नउठ्ने देखिएपछि एक तलामा व्यवसायिक स्टल राख्न प्रस्ताव गरिएको छ ।

पार्किङको भित्रसम्म घामको प्रकाश छिर्ने बनाउन र हावाको प्रवाह कायम राख्न बीचमा केही संरचनाहरु रहनेछन् । पार्किङको भूमिगत खुलामञ्चको मञ्चलाई आधुनिक र थप व्यवस्थित बनाइनेछ । खुलामञ्चमा पार्किङ निर्माण गर्न ३ अर्ब रुपैयाँ रकम लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख तामाङले बताए । यसमा एकपटकमा १ हजार भन्दा बढी सवारी पार्किङ गर्न सकिने छ ।
लैनचौरको पार्किङ
लैनचौरमा पनि तीनतले पार्किङ प्रस्ताव गरिएको छ । तीनै तला अण्डरग्राउण्ड हुनेछन् । लैनचौरमा यो संरचना बनेपछि चौरको उचाइ सडकबाट करिब पाँच फिट अग्लो हुनेछ ।


तर, जमलतर्फबाट जानेहरुका लागि समाज कल्याण परिषदको जग्गा भाडामा लिएर छुट्टै बाटो राख्ने प्रस्ताव छ । पैदलयात्रुलाई हिँड्न र निस्कन अमृत साइन्स क्याम्पसतर्फ २ सय २५ मिटरको अण्डरग्राउण्ड सब-वे राख्ने योजना छ । माथिको भागलाई भने अहिलेकै स्वरुपमा राखिनेछ ।

लैनचौरमा भूमिगत पार्किङका लागि ७५ करोड रुपैयाँ लाग्ने अनुमान छ । यसमा एकपटकमा झण्डै ३ सय कार अटाउनेछन् ।
सब-वेबारे अन्योल
दुबै पार्किङस्थलमा सर्वसाधरण आवत-जावत गर्न लिफ्टसहितको अत्याधुनिक अण्डरग्राउण्ड सब-वे प्रस्ताव गरिएको छ । तर, सब-वेको संरचना राख्दा परियोजनाहरुको कुल लागतमा ठूलो वृद्धि हुनेछ ।

‘नागरिकको सहजताका लागि सब-वे अत्यावश्यक छ’ पीपीपी महाशाखा प्रमुख अधिकारीले भने- ‘तर, त्यसैका कारण परियोजनको लागत निकै बढ्ने देखिएको छ । यसमा सरकारले लगानी गर्नुपर्ने प्रस्ताव अघि बढाउन खोजिएको छ ।’
निर्माता कम्पनीले सब-वेमा रकम लगाउँदा लगानी उठाउन नसक्ने भएकाले त्यसका लागि सरकारले नै रकम खर्चिनुपर्ने प्रस्ताव गर्न लागिएको हो ।
बलियो संरचना
खुलामञ्च र लैनचौरको खाली जग्गाभित्रै पार्किङस्थल बन्ने भएकाले यो निकै बलियो हुनुपर्ने देखिएको छ । खुलामञ्च र लैनचौरमा विभिन्न समयमा सभा तथा समारोह हुन्छ, जसमा हजारौंको भीड लाग्ने गरेको छ ।


ट्राफिक समस्या हल हुने
लैनचौर र खुलामञ्चमा बनाइने यी संरचनाहरुले काठमाडौंको पार्किङको समस्या धेरै घट्ने महानगरको विश्वास छ । ठमेल र लाजिम्पाट क्षेत्रको पार्किङ व्यवस्थापनमा लैनचौरको बेसमेन्ट निकै प्रभावकारी हुने देखिएको छ । हाल त्यो क्षेत्रमा पर्याप्त पार्किङ नहुँदा सडक छेउमै सवारी पार्किङ गर्नुपर्ने वाध्यता छ । भूमिगत पार्किङ सञ्चालनपछि समग्र काठमाडौंको ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

फोटोः महानगरपालिका

-रवीन्द्र घिमिरे अनलाइनखबरबाट
Post a Comment