काठमाडौं , असार ७ गते । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमसम्बन्धी निर्देशिका तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।
महासंघले मंगलबार सूचना तथा संचारमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएर निर्देशिकाका कतिपय प्रावधान संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरित रहेको भन्दै निर्देशिका तत्काल सच्याउन माग गरेको हो ।महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले निर्देशिकामा व्यवस्था गरिएको आधिकारिक स्रोत नभएका, भ्रम सिर्जना गर्ने खालका तथा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पर्ने सामाग्री प्रकाशन/प्रसारण गर्ने अनलाइन सञ्चारमाध्यम अवरुद्ध गर्न सकिने बुँदा मिडियाको विकासलाई नै वाधा पार्ने खालको भएको बताए ।
ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारको मनसाय नरहेको भन्दै निर्देशिका सच्याउन मन्त्रालय तयार रहेको बताए । उनले निर्देशिका सच्याउनका लागि महासंघको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गरिने आश्वासन दिए ।
मन्त्रालयले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थित गर्न भन्दै असार ५ गते अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गरेको थियो ।- अनलाइनखबरबाट

Post a Comment