Websoft University

www.radiomakalu.com || 021-522512


सुन्धारास्थित धरहराको नवनिर्माण सुरु





काठमाडौँ, कात्तिक १३ गते । भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु भएको छ । तीन वर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा बनाउने अठोट गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको औपचारिक सुरुवात भने केही दिनपछि हुनेछ । तीन वर्षअघि २०७२ बैशाख १२ गते आएको भूकम्पमा धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको नवनिर्माण सुरु भइसकेको जानकारी दिनुभयो । धरहरा निर्माणको क्रममा अहिले स्थलगत सरसफाइ तथा ‘साइट क्लियरेन्स’ को काम भइरहेको जानकारी उहाँले दिनुभयो । धरहराको नवनिर्माण रमण र जेडआईईसीले संयुक्त रूपमा गरिरहेको छ ।



प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले बहुप्रतीक्षित धरहरा नवनिर्माण प्रक्रियालाई तीव्रता प्रदान गर्दै त्यसको औपचारिक शिलान्यासको तयारी भइरहेको जानकारी दिनुभयो ।
तिहारअघि नै शिलान्यास गर्ने तयारी भइरहेको बताउँदै उहाँले त्यसका लागि प्रधानमन्त्री ओलीको समयका लागि प्राधिकरणले प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार कुल ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा अबको दुई वर्षभित्र निर्माण भइसक्ने छ । नयाँ डिजाइनअनुसार धरहराको लागत तीन अर्ब ४८ करोड रुपियाँ हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव समेत रहनुभएका मानन्धरले भन्नुभयो, “धरहरा रहेको काठमाडौँ वडा नं. २२ का स्थानीयबासीको अवरोधका कारण केही समय धरहरा नवनिर्माण ढिलाइ भएकोमा अहिले स्थानीयबासीसँग सहमति भइ निर्माण कार्य अगाडि बढिसकेको छ ।”
सुन्धारालाई पुनः सञ्चालनमा ल्याउनुपर्ने, वडाबासीलाई सहज र सुलभ रुपमा नवनिर्मित धरहरा परिसरमा प्रवेश हुनुपर्ने, सांस्कृतिक धरोहरको रुपमा ‘टक्सार’ भित्र रहेका सांस्कृतिक र पुरातात्विक महत्वका सामग्रीहरुलाई सङ्ग्रहालयको रुपमा व्यवस्थित गर्नुपर्ने, अहिले बन्द गरिएको टक्सारको बाटो खुलाउनुपर्ने लगायतको विषयमा वडाबासीसँग सहमति भइसकेपछि निर्माण कार्य अगाडि बढेको उहाँले बताउनुभयो ।
सुन्धारा परिसरमा रहेका टक्सार पनि हस्ताणतरण गरिने बताउँदै उहाँले इतिहासलाई जीवन्त राख्ने उद्देश्यसहित अहिले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रा लगायतका ऐतिहासिक वस्तुहरुको सङग्रहालय समेत निर्माण गरिने प्राधिकरणले जनाएको छ । टक्सारलाई बबरमहलमा स्थान्तरण गरिने प्राधिकरणले जनाएको छ ।
सहमतिबारे वडाबासीलाई लिखित जानकारी गराइसकिएको छ । टक्सारभित्र मानन्धर समुदायको कुलदेवता रहेको स्थानीयको विश्वास छ । धरहराको निर्माण भइसकेपछि यसको सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
निर्माणाधिन धरहरा परिसरभित्र जमिनमूनि टेलिफोन, विद्युत, खानेपानीको पाइप तथा तारहरू रहेकाले निर्माण कार्यलाई अति सावधानीका साथ अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै उहाँले ती तार र पाइपलाई सार्ने बन्दोबस्त भइरहेको जानकारी दिनुभयो । पाइप र तारकै कारण अहिले विस्तारै काम भइरहेको उहाँले बताउनुभयो । धरहरा परिसरभित्र जमिनमूनि टेलिफोनका २२ हजार तार विछ्याइएको छ ।

सुन्धारालाई पुनः सञ्चालनमा आउने
सहसचिव मानन्धरका अनुसार धरहरा निर्माणको क्रममा केही वर्षदेखि बन्द रहेको सुन्धारालाई सञ्चालनमा ल्याइने छ । सुन्धारामा पानीको बहावलाई सञ्चालनमा ल्याउनुका साथै अहिले बन्द रहेको सुन्धाराको पानीको निकासलाई समेत सुचारु गरिनेछ । सुन्धाराको पानीलाई ताहागली–भोटेबहाल हुँदै टुँडिखेलमा खसाल्ने योजना रहेको छ । अहिलेको सुन्धारामा केही पनि परिवर्तन नगरिने तथा पुरातात्विक महत्वलाई ध्यान दिंदै त्यसको मर्मत सम्भार मात्र गरिने उहाँले बताउनुभयो ।
धरहाराको ठूटो संरक्षण
इतिहासलाई जोगाउने उद्देश्यसहित धरहराको नवनिर्माणसँगै भूकम्पबाट क्षतिग्रस्त अहिलेको धरहराको ठूटोलाई संरक्षण गरिने जानकारी सहसचिव मानन्धरले दिनुभयो । धरहराको अहिलेको टुक्रालाई शिशाले छोपेर जस्ताको त्यस्तै राखिने उहाँले बताउनुभयो । नयाँ धरहारा हेर्नले पुरानो धरहराको समेत अवलोकन गर्ने छन् ।

हुलाक कार्यालय पनि सारिने
धरहरा निर्माणका लागि गोश्वरा हुलाकको भवन भत्काइने छ । हुलाक भवन भत्काउनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको बताउँदै प्राधिकरणका सहसचिव मानन्धरले हुलाक कार्यालयलाई तत्कालका लागि बबरमहलस्थित अस्थायी घरमा सारिने जानकारी दिनुभयो ।
अबको दुई महिनाभित्र बबरमहलमा हुलाक कार्यालयका लागि अस्थायी भवन निर्माण हुनेछ । त्यसपछि डिल्लीबजारमा निर्माणाधिन आफ्नै भवनमा स्थान्तरण गरिनेछ । सरकारले हुलाक कार्यालय निर्माणका लागि डिल्लीबजार चारखालमा १५ रोपनी जग्गा उपलब्ध गराइसकेको छ ।

धरहरा निर्माण कोषमा नौ करोड
प्राधिकरणका अनुसार अहिले धरहरा निर्माण कोषमा नौ करोड रुपियाँ जम्मा भएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणासँगै खडा गरिएको कोषमा आफ्नो एक महिनाको तलब राखेर खाता खोल्नुभएको थियो ।
नयाँ धरहरा निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा ‘डिजाइन’ को काम सम्पन्न भइसकेको जानकारी दिंदै महाशाखा प्रमुख मानन्धरले नवनिर्मित धरहरा जमीनमूनि दुई र जमिनमाथि २२ तल्ला गरी जम्मा २४ तल्लाको हुने बताउनुभयो । धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो ।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्री समेत हुनेछ । धरहराको १८औंं तलामा १७ जना क्षमताको मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो डिस्पले गरिने छ । कुल २४५ फिट अग्लो धरहराको टुप्पोमा शिशाले घेरेको ‘भ्यू डेक’ निर्माण गरिने छ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गरिएको धरहरा १९९० सालको भूकम्पमा केही भाग ध्वस्त भएता पनि २०७२ साल बैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो ।
नब्बे सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । भिमसेन थापाले निर्माण गरेको धरहरा ६१.८८ मिटर अर्थात् २०३ फिट अग्लो थियो भने धरहरामा २१३ वटा सिढीं थिए । - भउचप्रसाद यादव , गोरखापत्र दैनिकबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget