Websoft University

www.radiomakalu.com || 021-522512


मधुमेहका बिरामी र दसैंको खानपान



खानपान र अव्यवस्थित जीवनशैलीका कारण सुगर (मधुमेह) का रोगीको संख्या बढ्दै गएको छ। हामीकहाँ मधुमेहलाई चिनी रोग भनेर बुझ्ने गरिन्छ। तर, हामीले एउटा कुरा के ख्याल गर्नुपर्छ भने, मधुमेह भन्नेबित्तिकै चिनीरोग मात्र होइन। त्यसमा ध्यान दिनुपर्ने कुरा धेरै छन्। मधुमेह भएका बिरामीले खाना बार्ने भन्दैमा कुनै चिज खानै नहुने भन्ने पनि होइन। मिलाएर, ब्यालेन्स गरेर खान मिल्छ।

मुख्य कुरा सुगर टाइप १, टाइप २, सेकेन्डरी डाइबिटिज र गर्भवतीलाई हुने डाइबिटिज हो। जस्तो टाइप १ डाइबिटिजका बच्चाहरुले खान खोजे भने अन्न मात्र होइन, चिल्लोको मात्रा पनि मिलाउनुपर्छ। उनीहरुले इन्सुलिन लिइरहेको हुनाले त्यसको मात्रा हेरेर खाना दिनुपर्छ।

दसैं नजिकिँदै छ। दसैंमा मांशाहारीको लागि खसीको मासु र शाकाहारीको लागि चिल्लो पनिर खाने चलन छ, जुन सुगरका बिरामीको लागि अति हानिकारक हो।

दसैं त आउनै बाँकी छ। तर, अहिले नै सुगर बिगारेर बिरामीहरु अस्पताल आउन थालेका छन्। त्यसको कारण सोह्र श्राद्ध हो। सोह्र श्राद्धमा सुगर फ्री तर बाक्लो दुधमा धेरै समयसम्म पकाएरको खिर, पुरी, सेलरोटी, अचार खाँदा सुगर बढेका बिरामीहरु धेरै छन्।

चिल्लोले सुगर ढिलो बढाउँछ। दुई घन्टामा नबढाए पनि ४ घण्टामा, ६ घन्टामा बढाउँछ। मैदा, पुलाव वा भात खाएर मात्र होइन, चिल्लो पदार्थले समेत सुगर बढाउने हुनाले मैदायुक्त खाना, चिनी, भात वा आलु मात्र बारेर हुँदैन।

धेरै चिल्लो, पिरो, गुलियो र मसालेदार भोजन स्वस्थ मानिसका लागि त हानिकारक हुन्छ भने दीर्घ रोगीका लागि यस्तो भोजन शत्रु नै हो। मधुमेह (सुगर) का बिरामीले यस्तो चाडबाडका समयमा आफ्नो सन्तुलित भोजनमा सर्तकता अपनाउनै पर्छ। चिल्लो पच्दै जाँदा त्यसको असर पनि देखिँदै जान्छ।

चिल्लोपनले रातो मासु खाएकोजस्तै नै असर गर्छ। चिल्लो अन्य रोगीले समेत सकेसम्म कम खानुपर्छ। सुगरफ्री मिठाइमा पनि अत्याधिक चिल्लो हुन्छ। खानै मन लाग्यो भने खाना खाएको केही घन्टापछि थोरै मात्रामा खान सकिन्छ। खाना खानेबित्तिकै मिठाई नखानु सुगरका बिरामीको लागि राम्रो हो। धेरैले खानामा ध्यान दिए पनि खाजामा ध्यान दिएका हुँदैनन्।

के खान हुन्छ
अहिले स्वस्थ फलफूलको सिजन हो। आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै ताजा तथा सफा तरकारी र फलफूल प्रशस्त खाने गर्नुपर्छ। नेपालमा बाह्रै महिना हरियो तरकारी उपलब्ध हुन्छ। यो समयमा नासपाती, स्याउ, हलुवावेद खान सकिन्छ।

मिठाई खानै परेमा खाना खाएको ४/५ घन्टापछि सुगर फ्री मिठाई एक टुक्रा मात्र खान सकिन्छ। त्यस्तै तिहारमा बदाम, ओखर खान सकिन्छ। खसी, राँगा वा बँदेलको रातो मासु खानै हुँदैन। केही मात्रामा माछा वा खुकुराको मासु खान सकिन्छ।

खाली समयको उपयोग गरौँ
दसैंका बेला खाली समयमा घुम्न गएर, प्रशस्त शारीरिक व्यायाम गरेर एक वर्षसम्म नगरेको मेडिटेसन गर्ने संस्कार बसाल्न सकिन्छ। धेरै खाएर, तास खेलेर र सुतेर समय नबिताउँ।

चाडबाडका बेला सुगरका बिरामीले ब्रत बस्दा औषधि नखाने र खाली पेट बस्ने गर्छन्। नवरात्रि, छठ पर्वमा सुगरका बिरामीले ब्रत बस्दा ध्यान दिनुपर्छ। सकेसम्म बिरामीले ब्रत नबसेकै राम्रो। ब्रतले बिरामीलाई थप कष्टकर बनाउँछ। बस्नै परेमा सलाद, भुटेको मकै फलफूल खाएर बस्न सकिन्छ। ब्रतपछि बिरामी भएर आउने महिलाको संख्या धेरै हुन्छ।

नेपालमा बाहिर जस्तो कम उमेरमा देखिने सुगर कम छ। कम उमेरमा सुगर हुने भनेको लगभग ३० वर्षदेखि हो।

बदलिँदो संस्कृतिको प्रभमावले हामीकहाँ दिनहँु विभिन्न पार्टीका नाममा रेस्टुरेन्टमा गई खानासँगै अत्याधिक मदिरा सेवन गर्ने चलन बढाएको छ। पुरुषलाई भन्दा महिलालाई अल्कोहलले छिटो असर गर्छ। अल्कोहल पिउने महिलामा स्तन क्यान्सर, कलेजोमा समस्या बढाउँछ।

घरमा पनि सकेसम्म मनोरञ्जनको नाममा मदिरापान गर्ने, तास खेल्नेजस्ता संस्कार नबसाल्नु राम्रो हुन्छ। यो समयमा घुम्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउने, परिवारसँगै खेलेर समय बिताउने गर्दा राम्रो हुन्छ। गलत संस्कारले बच्चाहरुमा पनि मनोरञ्जन भनेको मदिरा र तास हो भन्ने पर्न सक्छ। जसले संस्कारसँगै स्वास्थ्यमा समेत गम्भीर असर पु¥याइरहेको हुन्छ। - डा दीना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल , स्वास्थ्य पत्रिका खबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget