Websoft University

www.radiomakalu.com || 021-522512


च्याउको बीउको आयात प्रतिस्थापन





विराटनगर, साउन २९ गते । स्वदेशमा नै च्याउको बीउ उत्पादन गरेर मोरङका एकजना किसानले भारतबाट आयात हुँदै आएको मासिक करिब ९० हजार किलो बीउको आयात प्रतिस्थापन गर्नुभएको छ । मोरङ उर्लाबारीका किसान गोपाल बस्नेतले पाँच वर्षअघि सुरु गरेको च्याउको बीउ उत्पादन गर्ने उद्योगले अहिले दैनिक करिब तीन हजार किलो च्याउको बीउ उत्पादन गरिरहेको छ ।
बस्नेतले १४ वर्षअघि च्याउखेती सुरु गर्नुभएको हो । जीवीकोपार्जनका लागि च्याउखेती आरम्भ गर्नुभएका उहाँ अहिले सफल उद्यमी बन्नुभएको छ । उहाँको दुई हजार सिलिन्डर क्षमताको च्याउ उत्पादन फर्म सञ्चालनमा छ भने पछिल्लो पाँच वर्षदेखि च्याउको बीउ उत्पादन गरेर देशभर बजार विस्तार गर्न सफल हुनुभएको छ ।
बस्नेतको आधुनिक च्याउ उद्योगले दैनिक तीन हजार किलोग्राम च्याउको बीउ उत्पादन गर्दै आएको छ । उहाँले उत्पादन गर्नुभएको बीउ झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीसम्म पुग्ने हुने गरेको छ ।
उहाँले भन्नुभयो ‘मैले माग अनुसारको बीउ उत्पादन गर्नसकेको छैन, किसानको माग पूरा गर्न नसक्दा अहिले पनि भारतबाट बीउ आउने क्रम जारी छ । ’ मासिक ९० हजारदेखि एक लाख किलोसम्म बीउ उत्पादन गर्दा पनि किसानको माग पूरा गर्न नसक्नुले यो व्यवसाय अन्य किसानका लागि पनि लाभदायक रहेको उर्लाबारी नगरपालिकाका कृषि शाखा प्रमुख नेल्सन पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गोपाल बस्नेतले धेरै मिहिनेत गरेर सफलरूपमा व्यवसाय गरिरहनुभएको छ । उहाँले बजारको मागअनुसार उत्पादन गर्नसक्नु भएको छैन र त्यो अरू किसानका लागि राम्रो अवसर पनि हो । ’’
आधुनिक च्याउ उद्योगले उत्पादन गरेको कन्ने च्याउको बीउ प्रतिकिलो दुई सय रुपियाँमा बिक्री गर्दै आएको छ । एक किलो बीउले पाँच ओटा सिलिन्डर तयार पार्न सकिन्छ । उद्योगले मासिक २० देखि २१ लाख रुपियाँको च्याउको बीउ बिक्री गर्ने गरेको बस्नेतले जानकारी दिनुभयो । पूर्वी नेपालमा झापाको विर्तामोडका अर्का एकजना च्याउ उद्योगीबाहेक अरूले बीउ उत्पादन गर्दैनन् । धेरै बीउ बिक्री गर्नेहरूले भारतका सिलिगुढी र कलकत्ताबाट आयात गर्दै आएका छन् । पाँच वर्षअघि दैनिक दुई सय किलो बीउ उत्पादनबाट सुरु भएको उद्योगको क्षमता विस्तार गरी अहिले दैनिक तीन हजार किलो उत्पादन गर्न थालेको उहाँले बताउनुभयो ।
बस्नेतको आधुनिक च्याउ उद्योगले दैनिक पाँच सय किलो च्याउ बजारमा बिक्री गर्ने गरेको छ । आफ्नो फर्ममा उत्पादन भएकोबाहेक अन्य किसानले उत्पादन गरेको च्याउ पनि उद्योगले खरिद गरेर बजारमा पठाउने गरेको छ । बस्नेतले भन्नुभयो ‘‘दिनको पाँच सय किलो च्याउ बजारमा पु¥याउनै पर्ने मेरो ठेक्का छ । धरानमा दिनको तीन सय किलो, इटहरीमा एक सय किलो, इटहरी पूर्व उर्लाबारीसम्म एक सय किलो दैनिक जसरी पनि दिनै पर्छ । ’’
च्याउखेतीबाट किसानले राम्रो आम्दानी गर्नसक्ने र बजारको कुनै पनि अभाव नरहेको उहाँले बताउनुभयो । ‘किसानले जति उत्पादन गर्नसक्छन् गरे हुन्छ अन्यत्र बिक्री भएन भने म किनिदिन्छु । ’ उहाँले च्याउबाट अचार, सुकुटीलगायतका वस्तु पनि उत्पादन गर्ने गर्नुभएको छ ।
च्याउको बीउ उत्पादन गरेर राम्रो आम्दानी गरिरहनुभएका बस्नेतले अहिलेसम्म उद्योगले सरकारबाट कुनै पनि सुविधा नलिएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘‘म आफ्नै मिहिनेतले यो अवस्थामा आएको हुँ, मैले च्याउ उद्योग सुरु गर्दा उर्लाबारीमा दिनको २ किलोग्राम पनि बिक्री हुँदैनथ्यो । मानिसमा च्याउ खाने बानी नै थिएन । त्यतिबेला साइकलमा धरानसम्म डुलाएर आफ्नो उत्पादन बिक्री गर्थें । ’’ बस्नेतले च्याउखेतीमा गर्नुभएको योगदान नगरपालिकाले पहिचान गरेको र त्यसलाई प्रवद्र्धन गर्नकै लागि उहाँको व्यवसायलाई सूचीकृत गरिएको कृषि शाखा प्रमुख पोखरेलले बताउनुभयो ।
गहुँबाट बीउ
च्याउको बीउ गहुँबाट तयार पारिन्छ । गहुँलाई पहिले उसिनिन्छ, उसिनेको गहुँलाई अटो क्लाप मेसिनमा राख्ने, निश्चित तापक्रममा राखिसकेपछि त्यसमा ढुँसी आउँछ र प्याकेजिङ्ग गर्ने प्रक्रियाबाट बीउ उत्पादन हुन्छ ।
आधुनिक च्याउ उद्योगले बीउ तयार भएपछि ल्याव परीक्षण गरेर मात्र बजार पठाउने गरेको छ । भारतबाट खरिद गरेर ल्याएको बीउ ल्याव परीक्षण नभएको र एक दिनमै प्याक गर्ने हुँदा पूर्ण क्षमतामा नउम्रिने र किसानलाई घाटा हुने समस्या देखिने गरेको छ । - शशिधर पराजुली, गोरखापत्र दैनिकबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget