Websoft University

www.radiomakalu.com || 021-522512


लोकमार्गमा वर्षाले सास्ती



बागलुङ, साउन २९ गते । मध्यपहाडी पुष्पलाल लोकमार्गमा कष्टपूर्ण यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता यो वर्षायाममा पनि हटेन । कुन बेला पहिरोले सडक अवरुद्ध हुन्छ भन्ने भय पालेर यात्रामा निस्कनुपर्ने अवस्था छ । चालकहरू जोखिम मोलेर सवारीसाधन चलाउन विवश छन् ।



सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किमी सडक सबैभन्दा नाजुक अवस्थामा रहेको छ । निर्माण शुरु भएको २० वर्ष बित्दासमेत उक्त खण्ड ‘ग्राबेल’ सम्म हुनसकेको छैन । लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किमीमध्ये घोडाबाँधेदेखि बुर्तिबाङसम्मको ६४ किमी सडक कालोपत्रे भइसकेको छ ।



सदरमुकामतर्फको सडक निर्माणमा भएको ढिलाइप्रति जनगुनासो पनि बढेको छ । बुर्तिबाङबाट डेढ घण्टामै घोडाबाँधे आउने सवारीलाई त्यहाँबाट २५ किमीमा रहेको सदरमुकाम आइपुग्न दुई घण्टा लाग्छ । जीर्ण र हिलाम्मे सडक त्यहीँमाथि पहिरोको अवरोध छिचोल्दै हिँड्नुपर्ने अवस्था रहेको जीप चालक राजेन्द्र विकले बताउनुभयो ।



“सडक व्यवस्थित छैन, जोखिम उठाएर गाडी चलाउनु पर्छ” उहाँले भन्नुभयो । यही वर्षायाममा मात्र लोकमार्गको दर्जनाँै ठाउँमा पहिरो गएका छन् । तत्काल पहिरो पन्छाएर सवारी चलाउने गरिए पनि सडकको स्तरोन्नति नहुँदा समस्या दोहोरिने गरेको छ । नयाँ मात्र नभएर पुराना पहिरोलाई उचित ढङ्गले व्यवस्थित नगर्दा सडकको स्वरुप बिग्रेको छ ।



नाली नबन्दा सडकबाटै बग्ने भेलले सडक क्षतविक्षत बनेको छ । वर्षामा हिलो र हिउँदमा धुलोको समस्या झैल्दै आएका स्थानीवासीले लोकमार्ग छिटो कालोपत्रे गर्न माग गरेका छन् । जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा र स्थानीय प्रशासनले समेत लोकमार्ग निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् ।



ग्रामीण क्षेत्रमा कालोपत्रे भइसक्दा सदरमुकामतर्फकै सडकको दुर्दशा हुनु अशोभनीय विषय बनेको छ । कुनै पनि कारणले लोकमार्ग नरोकियोस् भन्नेमा स्थानीय प्रशासन, प्रहरी भने सचेत छ । पहिरोको अवरोध हटाउन प्रहरी, आयोजनाकै जनशक्ति र स्थानीयवासी समेत परिचालित हुन्छन् ।



यो वर्ष धेरै ठाउँमा पहिरो गएकाले समस्या निम्तिएको लोकमार्गको बागलुङ खण्डका इन्जिनियर सुरज महर्जनले बताउनुभयो । “वर्षा लागेपछि पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममै बढी समय खर्च भएको छ,” उहाँले भन्नुभयो । दैनिकजसोको झरीले सडक ‘ग्राबेल’ गर्ने काम रोकिएको र वर्षालगत्तै काम शुरु हुने जनाइएको छ ।



आउँदो हिउँदसम्म पूर्वाधार तयारीको काम सक्ने र विसं ०७६ भित्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । सदरमुकाम बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमीको ‘सिद्वीटाई कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ । - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget