Websoft University

www.radiomakalu.com || 021-522512


दसैँअघि मेलम्चीको पानी नआउने सम्भावना



 काठमाडौँ, साउन १३ गते । दसैँ अगावै मेलम्ची खोलाको पानी सुन्दरीजलसम्म ल्याउने घोषणा पनि पूरा नहुने सम्भावना बढेको छ । निर्माण कम्पनी र मेलम्ची खानेपानी विकास समितिबीच भएको पछिल्लो सम्झौता अनुसार अक्टोबर १५ सम्म अर्थात् दसैँ अगावै कम्तीमा सुन्दरीजलसम्म पानी ल्याउने भनिएको छ तर निर्माण कार्यको गति हेर्दा भने सो समयमा पानी आउने सम्भावना कम देखिएको छ ।
मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ ब्रेकथ्रु गरिए पनि त्यसको फिनिसिङको काम बाँकी नै छ । हालसम्म जम्मा ७.३५ किमि सुरुङको मात्र फिनिसिङ भएको छ । निर्माण कम्पनीले कामको गति बढाउँछु भनेर सहमति गरे पनि कामले गति लिएको छैन ।
हाल दैनिक सालाखाला ४५ मिटरका दरले फिनिसिङको काम भएको छ । दैनिक दुई सय मिटरका दरले काम भयो भने पनि महिनामा छ किमि सम्पन्न हुनसक्छ । महिनामा छ किमिका दरले सुरुङ फिनिसिङको काम भयोभने पनि कम्तीमा चार महिना लाग्ने देखिन्छ तर अक्टोबर १५ आउन तीन महिना बाँकी छ । हालको गति दैनिक ४५ मिटरमा सीमित छ ।
सुरुङ फिनिसिङका लागि भुइँ ढलान गर्नुपर्छ भने माथि सटक्रिट र रकबोल्टको काम गर्नुपर्छ । तीन मिटरसम्म लामो रकबोल्ट भित्तामा घुसाएर सिमेन्टको झोल राख्नुपर्छ । जसलाई सुरुङको फाइनल सपोर्ट भनिन्छ ।
सुरुङको भुइँ ढलानको काममा पनि ढिलाइ भएको छ । हालसम्म ७.२५ कि.मी ढलान सम्पन्न भएको छ । मेलम्ची खोलामा बाँध बाँध्ने काम सुरु भएको छैन, बल्ल गेट बनाउने काम सुरु भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसनको काम भएको छैन । पहिला पहाडमाथिबाट प्वाल पारेर भेन्टिलेसन राख्ने भनिए पनि अहिले सुरुङभित्रैबाट गर्न सकिन्छ कि भनेर अध्ययन सुरु भएको छ । महिनामा छ÷सात किमी ढलान गर्ने सहमति भए पनि सोही अनुसार काम भएको छैन । जुलाई महिनामा ८४० मिटर मात्र काम भएको छ तर मेलम्ची खानेपानी विकास समिति भने दसैँ अगावै मेलम्चीको पानी आउनेमा विश्वस्त छ । जुन २२ को सहमति अनुसार निर्माण कम्पनीले विज्ञको सङ्ख्या थप गर्ने, छवटा साइडबाट काम गर्र्ने, श्रमिकको सङ्ख्या थप गर्ने र थप औजारको व्यवस्थापन गर्नुपर्ने थियो । समितिका उपकार्यकारी निर्देशक भोविक्रम थापाले भन्नुभयो, १०÷१२ जना विज्ञ थप भएको छ, सबै साइडका मेटेरियल उपलब्ध गराएको छ, थप इक्युपमेन्ट ल्याएको जानकारी पाएका छौँ, सबै चिजको बन्दोबस्ती भएपछि रिजल्ट आउने हो, भर्खर कामको गति बढाउँदै छ, हालको अवस्था सकारात्मक छ ।
उहाँका अनुसार निर्माण कम्पनीले थप व्यवस्थापन गरी कामको गति बढाउन लागेको छ । थापाले भन्नुभयो, थप व्यवस्थापन भएपछि दुई महिनामा भनेअनुसारको काम हुन्छ, सहमति अनुसारको काम हुन्छ, हामी समयमै काम हुन्छ भन्नेमा विश्वस्त छौँ ।
समितिका अनुसार हाल सुन्दरीजलस्थित सुरुङको अन्तिम विन्दुबाट प्रशोधन केन्द्रसम्म पानी लैजाने २५० मिटर पाइप जडानको काम सुरु भएको छ ।
खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, एसियाली विकास बैङ्क, परामर्शदाता इप्टिसा कम्पनी र निर्माण कम्पनीबीच छलफलपछि गएको जुन २२ मा दसैँ अगावै राजधानीमा पानी उपलब्ध गराउने सहमति भएको थियो । यसअघि परियोजना सम्पन्न गर्नुपर्ने मिति सन् २०१८ मार्च २६ थियो ।
-  लक्ष्मण दर्नाल , गोरखापत्र दैनिकबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget