Websoft University

www.radiomakalu.com || 021-522512


तमोर जलविद्युत्किफायती परियोजना



काठमाडौँ, पुस ११ गते । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालको पाँचथर र तेह्रथुमबीच बग्ने तमोर नदीमा ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्न थालेको छ । एसियाली विकास बैङ्कको प्राविधिक सहायता तथा ऋणमा आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन पनि बन्ने भएको छ ।
वातावरणीय क्षति र लागतको दृष्टिले निकै किफायती देखिएको यो आयोजनाको सम्भाव्यता अध्ययनका अधिकांश काम सकिएको नेपाल विद्युत् प्राधिकरण, इन्जिनियरिङ सेवा विभागका प्रमुख मोहनरत्न शाक्यले जानकारी दिनुभयो ।
जलाशययुक्त आयोजनाका रूपमा विकास गर्न खोजिएको यो आयोजनालाई पूर्ण क्षमतामा चलाउन सक्ने सम्भावना भएकाले प्राधिकरणले यसको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । प्रमुख शाक्यले गोरखापत्रसँग भन्नुभयो, यो आयोजना वातावरणीय प्रभाव र प्राविधिक दृष्टिले निकै सहज र लोभलाग्दो आयोजना देखिएको छ । त्यसैले प्राधिकरणले यसको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनको कामलाई निर्धारित समयमा सक्ने गरी काम भइरहेको छ ।
सन् १९८५ मा गरिएको कोसी रिभर बेसिनको गुरुयोजनामा यसलाई जलाशययुक्त आयोजनाका रूपमा निर्माण गर्न सकिने गरी पहिचान गरिएको थियो । एक सय मिटर अग्लो बाँध निर्माण गरेर बन्ने जलाशयबाट ३०० मेगावाट बिजुलीमात्र उत्पादन गर्न यस अघिको प्रारम्भिक अध्ययनले देखाए पनि पछिल्लो पटकको अध्ययनमा बाँधको उचाइ बढाएर २०० मिटर बनाउँदा ७६२ मेगावाट उत्पादन गर्न सकिने देखिएको छ ।
प्रमुख शाक्यले भन्नुभयो, यति ठूलो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा १२५ घरधुरीमात्र प्रभावित हुने भएकाले पुर्नस्थापना र वातावरणीय प्रभावका दृष्टिले निकै सजिलो आयोजना देखिएको छ ।
नेपालका जलविद्युत् आयोजना निर्माणका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा जग्गा अधिग्रहण र मुआब्जामा ठूलो धनराशी खर्च गर्नुपर्ने भएकाले यो आयोजना आकर्षक आयोजनाका रूपमा लिइएको हो । यो आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन अध्ययनका लागि एसियाली विकास बैङ्कले आर्थिक सहयोग गर्ने भएको छ । बैङ्कले प्राविधिक ऋण सहयोगमा ६५ लाख रुपियाँ सहयोग गर्ने विषयमा छलफल चलिरहेको विभागका प्रमुख शाक्यले बताउनुभयो ।
उता विद्युत् विभागबाट प्राधिकरणले ३०० मेगावाटको सर्भे अनुमति लिएको भए पनि ७६२ मेगावाटको अनुमतिका लागि प्रक्रिया थालनी गरिसकिएको बताइएको छ । आयोजनाको क्षमता वृद्धि गर्दा एक खर्ब ६० अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । आउँदो डेढ वर्षभित्र विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सकेर पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ ।
यो आयोजना निर्माण गर्दा हाल निजी क्षेत्रबाट तमोर नदीमा निर्माण भइरहेका ३७ मेगावाटको कावेली र २२ मेगावाटको हेवा जलविद्युत् आयोजना डुबानमा पर्ने भएका छन् । हेवा जलविद्युत् आयोजनाको निर्माण कार्य त अन्तिम चरणमा पुगिसकेको छ । निर्माणाधीन दुई जलविद्युत् आयोजनाको अवस्था के हुन्छ त ? भन्ने जिज्ञासामा विभागका प्रमुख शाक्यले भन्नुभयो, ती साना आयोजनाको पनि आफ्नै महत्व छ र ती आयोजनामा लगानी भइसकेको छ । ती आयोजनालाई क्षतिपूर्ति दिएर देशकै ठूलो आयोजनाको कामलाई प्राथमिकतामा दिएर काम गरिने छ ।
काबेली जलविद्युत् आयोजनामा विश्व बैङ्कले लगानी गरिरहेको छ । लगानीकर्ता विश्व बैङ्कसँग पनि हालसम्मको लगानी र क्षतिपूर्तिका बारेमा कुरा चलिरहेको प्राधिकरणले जनाएको छ । - लक्ष्मीप्रसाद उपाध्याय , गोरखापत्र दैनिकबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget