Websoft University

www.radiomakalu.com || 021-522512


युवा पुस्तालाई तीन सल्लाह

युवा पुस्तालाई तीन सल्लाह



पालो पर्खेर नबस्नोस



पहिलो सल्लाह : नेतृत्व लिनुहोस्
अहिले हाम्रो समग्र देश परिवर्तनको प्रक्रियामा छ । सबैतिर उत्साह-उमंग जागिरहेको छ । हाम्रा अगाडि नयाँ-नयाँ अवसर र चुनौती खडा हुँदैछन् । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू आआफ्नो व्यावसायिक जीवनमा प्रवेश गर्न लाग्नुभएको छ । तपाईंहरूका लागि यो ठूलो अवसर हो । यस्तो
बेलामा तपाईंहरू -
 चुप लागेर नबस्‍नुहोस् । नेतृत्व लिन आफैं तयार हुनुहोस् ।
· अरूले पहिलो पाइला चालोस्, त्यसपछि आफू पछि लागौंला भनेर अर्काले पाइला चाल्ने
क्षण पर्खेर नबस्नुहोस् । आफैं अगाडि बढ्नुहोस् ।
· कसैको पनि मूल्यांकन गर्दा पहिलोपटक पाइला चाल्ने, नेतृत्व लिने र छिटै निर्णय गर्ने व्यक्तिको मात्रै उच्‍च मूल्यांकन हुन्छ । इतिहास पनि त्यस्ता व्यक्तिको मात्रै कोरिन्छ । यो तथ्य
बुझेर अघि बढ्नुहोस्
· जहाँ जे काम गर्दा पनि तन-मन लगाएर मिहिनेतपूर्वक गर्नुहोस् । अनि मात्र नेतृत्व लिन सक्नुहुनेछ । त्यसैले मिहिनेत गरेर नेतृत्व लिने साहस गर्नुहोस् । सक्रिय बन्नुहोस् र चुनौतीहरूका बीचमा अवसरहरूको खोजी गर्नुहोस् ।

Ram-Kantha-Makaju-Photograph                        प्रा.डा. रामकण्ठ माकजु
दीक्षान्तपछि तपाईंहरू व्यावहारिक संसारतिर पाइला बढाउँदै हुनुहुन्छ । यो जीवनको नयाँ अध्याय हो । अब तपाईंहरूले आ-आफ्नो व्यावसायिक दक्षता र क्षमताको प्रयोग गर्ने बेला आएको छ । तपाईंहरूका अगाडि दुइटा विकल्पहरू छन् ।
पहिलो विकल्प
अरू धेरै मान्छेहरू जे गर्छन्, तपाईं पनि त्यही गरेर बस्न सक्‍नुहुनेछ । समयले जता डोहोर्‍याउँछ, त्यतै बग्न सक्नुहुनेछ । परम्पराको पछि लाग्न सक्नुहुनेछ । यसो गर्न सजिलो पनि छ । यसो गरे जीवन सजिलै बित्न सक्छ । त्यसैलाई सफलता मान्ने हो भने त्यसमा तपाईंहरू सफल पनि बन्नुहुनेछ । प्रशस्त पैसा अनि केही इज्जत र नाम पनि कमाउनुहुनेछ । यसबाट सुख र सन्तुष्‍टि पनि लिनुहुनेछ ।
दोस्रो विकल्प
तपाईंहरू अरूले छाडेका र गर्न आँट नगरेका समस्याहरू समाधान गर्न तत्पर हुनुहुनेछ । तपाईंहरूका अगाडि नयाँ चुनौती थुप्रै छन् । तिनीहरूलाई बाँकी संसारले देखेकै छैन अथवा देखेर पनि बेवास्ता गरेको छ । तपाईंहरू ती चुनौतीलाई आत्मसात गर्दै अगाडि बढ्न सक्नुहुनेछ ।
मलाई नै सोध्नुहुन्छ भने म तपाईंहरूलाई दोस्रो विकल्प रोजेर अघि बढ्ने सल्लाह दिन चाहन्छु । किनभने स्वास्थ्य क्षेत्रमा तपाईंहरूका लागि थुप्रै चुनौती छन् । जस्तै —
· विकास नपुगेका ठाउँमा र बेवास्ता गरिएका जनतासम्म पुग्ने चुनौती,
· सेवाबाट वञ्‍चित समुदायसम्म स्वास्थ्यसेवा विस्तार गर्ने चुनौती,
· स्वास्थ्य क्षेत्रमा नयाँ विधाहरूको स्थापना गर्ने चुनौती,
· स्वास्थ्यविज्ञानमा नयाँ प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने र तालिमहरू दिने चुनौती,
· अनि सहकार्य गरेर सेवा-सुविधाका लागि नयाँ तरिकाहरूको विकास एवं अनुसन्धान गर्ने
चुनौती
मेरो सल्लाह के छ भने तपाईंहरू यस्ता विषयहरूमध्ये कुनै पनि विषयमा आफ्नो व्यावसायिक जीवनलाई समर्पित गर्नुहोस् र आफ्नो क्षेत्रमा केही न केही अमूल्य योगदान गरेर आफ्नै इतिहास रच्नुहोस् । हामी चाहन्छौं तपाईंहरू पुरानो घरमा थपिएको एउटा इँटा मात्रै नबन्नुहोस्, जमिनमा ठड्याइएको नयाँ स्तम्भ नै बन्नुहोस् ।
· जसले बाँझो छोडिएको जमिनतिर बटुवाहरूको ध्यान खिच्न सक्छ,
· जसले अरू संरचनाहरूका लागि आधारशिलाको काम गर्न सक्छ,
तपाईंहरू त्यस्तो स्तम्भ बनेको हामी हेर्न चाहन्छौं ।तपाईंहरूको यो विश्‍वविद्यालयलाई नै हेर्नोस् न, नेतृत्व लिन साहस गर्नेहरूले बनाएको यो एउटा स्तम्भ हो । आफ्नै इतिहास र पहिचान बोकेको धुलिखेल अस्पताल यस्तै अर्को एउटा सानो स्तम्भ हो । अरूले ध्यान दिन नभ्याएका क्षेत्रमा चुनौती लिएकैले यी कीर्तिहरू खडा भएका हुन् ।
दोस्रो सल्लाह : परम्परालाई चुनौती दिनुहोस् । महान् लक्ष्य बोकेर अगाडि बढ्दा परम्परालाई चुनौती दिनुपर्ने पनि हुन सक्छ । त्यस्तो चुनौतीलाई स्वीकार गर्नुहोस् ।
तेस्रो सल्लाह : कहिल्यै निराश नबन्नुहोस् ।
तपाईंहरूको प्रगतिको बाटोमा थुप्रै अवरोधहरू भेटिन सक्छन् । तर निराश नहुनुहोस्, अनि आफ्नो शक्ति र क्षमतामाथि शंका पनि नगर्नुहोस् । राम्रो काम गर्न खोज्दा सुरुमै विरोध हुन सक्छ र बाटोमा व्यवधान आउन सक्छ । त्यस्ता बाधा-अवरोध आइपर्नु प्रकृतिको नियम नै हो । तर तपाईंहरू आफूले लिएको स्पष्ट लक्ष्यबाट विचलित नहुनुहोस् ।
नयाँ काम सुरु गर्दा मान्छेहरू तपाईंहरूलाई बेवास्ता गर्नेछन् । सफलताका लक्षणहरू देखिन थालेपछि आलोचना गर्नेछन् । तर तपाईंहरू कहिल्यै विचलित नबन्नुहोस्, निराश नहुनुहोस् ।
· तपाईंको कार्यालयमा तालाबन्दी हुन सक्छ र बाटोमा अवरोध खडा गरिन सक्छ, तर तपाईंका सिद्धान्त र मान्यताहरूलाई बाँधेर प्रगतितर्फको तपाईंको कदम कसैले रोक्न सक्तैन,
· तपाईंका अगाडि कालो झन्डा प्रदर्शन गर्नुका साथै हडताल पनि हुन सक्छ, तर कसैले पनि तपाईंको उपलब्धिलाई छायाँमा पार्न सक्दैन, आखिर तपाईं सफल हुनुहुनेछ । तपाईंको सेवा पाएका बिरामीहरूको विश्वास र तपाईंले अँगालेको सत्यको बलले असफल हुन दिँदैन । तपाईंले आँट गरेर चुनौतीसँग जुध्नुपर्छ, निराश बन्नु हुँदैन ।
हामीले बुझेको सफलताको सूत्र पनि यही नै हो ।
सञ्‍चारकर्मी साथीहरू !
तपाईंहरूमा रहेको ऊर्जा र शक्तिलाई समाजमा आशा, उत्साह र दृढताको सन्देश सम्प्रेषण गर्न केन्द्रित गरिदिनुहोस् । तपाईंहरूको रचनात्मक आलोचना हाम्रो विकासका लागि अपरिहार्य छ । अनि तपाईंको क्षमता समाजमा सहकार्य र सहयोगको वातावरण निर्माण गर्न पनि उत्तिकै आवश्यक छ ।
· नेपालमा केही हुँदैन भन्नेहरूलाई,
· सरकार र स्थानीय निकायहरूसँग सहकार्य गर्न असम्भव ठान्नेहरूलाई,
· अनि आफूसँग प्रशस्त स्रोत-साधन नभए कुनै उल्लेख्य काम गर्न सकिँदैन भन्नेहरूलाई
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालमा आउन भनिदिनुहोस् ।
प्यारा स्नातकहरू !
आफ्नो योग्यता र क्षमता प्रस्फुटन गराउन हाम्रा लागि —
· नेपालभन्दा गतिलो ठाउँ अन्त छैन,
· नेपालभन्दा न्यानो र प्रिय ठाउँ अरू छैन,
· नेपालभन्दा सुन्दर देश अर्को छैन ।
-काठमाडौं विश्‍वविद्यालयको सोमबार भएको तेइसौं दीक्षान्त समारोहमा उपकुलपति प्राडा. रामकण्ठ माकजू श्रेष्‍ठको स्वागत मन्तव्यको सम्पादित अंश।-

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget