Websoft University

www.radiomakalu.com || 021-522512


‘भुटानलाई अघि सारेर सीमा विवाद चर्काउँदैछ भारत'


‘भुटानलाई अघि सारेर सीमा विवाद चर्काउँदैछ भारत'
बेइजिङ : भारतको उत्तर पूर्वी राज्य सिक्किम नजिकको डोक्लाम क्षेत्रमा भारत र चीनबीच तनाव कायम छ । करिब डेढ महिनादेखि दुवै देशबीच सीमा विवाद उत्पन्न भएपछि दुवैले सिमानामा थप सैनिक तैनाथ गरेका छन् । डोक्लाम क्षेत्रमा भारत-चीनबीच तनाव जारी रहेका बेला चीनको सरकारी अखबार ग्लोबल टाइम्सले विश्लेषकहरूलाई उद्धृत गर्दै भुटानलाई अघि सारेर भारतले चीनसँग सीमा विवाद चर्काइरहेको आरोप लगाएको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार भारतले डोक्लामको चिनियाँ भूभागबाट आफ्ना सेना फिर्ता नगरुन्जेल दुवै देशबीच वार्ता वा सम्झौताको कुनै सम्भावना नरहेको जनाएको छ । डोक्लाममा भारतको चीनसँग भन्दा पनि खासगरी चीन र भुटानबीच सीमा विवाद रहेको छ ।
‘डोक्लाम भूभागसम्बन्धी भुटानसँग पहिले भएको सम्झौता कानुनी रुपमा उल्लंघन गर्न मिल्दैन', चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका शोधकर्ता झाङ योङपानले ग्लोबल टाइम्ससँग भनेका छन्, ‘तपाईं चाहे ऐतिहासिक दस्तावेजको कुरा गर्नुहोस् वा यथार्थको, डोक्लाम चीनको भूभाग भएकोमा कुनै अर्को तर्क छैन ।' झाङका अनुसार भारत भुटानलाई अघि सार्ने प्रयास गरिरहेको भए पनि वास्तवमा चीन र भुटानबीच सुमधुर सम्बन्ध छ ।
झाङ भन्छन्, ‘भुटानसँग सीमाबारे चीनले सन् १९८४ देखि नै छलफल गर्दै आएको छ । खासमा डोक्लामनजिक चीनले तीव्र गतिमा निर्माण गरिरहेको आधारभूत भौतिक संरचनाबाट भारत तर्सिएको छ ।' भारतका लागि भुटानका राजदूत वेत्सोप नामग्यालले भने डोक्लाम क्षेत्रमा चीनको सडक परियोजना दुवै देशबीच भएको सम्झौताको उल्लंघन भएको बताए । भुटान र चीनबीच औपचारिक सम्बन्ध छैन तर भारतको राजधानी नयाँ दिल्लीस्थित मिसनमार्फत दुवैले आपसमा सम्बन्ध राख्ने गरेका छन् ।
भारतीय सुरक्षा विशेषज्ञ जयदिप सैकियाका अनुसार केही वर्षयता चीन भुटानसँग प्रत्यक्ष सम्बन्ध कायम गर्ने प्रयासमा छ । दक्षिण एसियामा भुटानको सबैभन्दा निकट सहयोगी देश भारत हो । भारतले अनौपचारिक रुपमा भुटानको सुरक्षा र विदेश मामिलासमेत हेर्ने गरेको छ । उनले भने, ‘चीनको चाहना भुटानको सार्वभौमसत्ताको मामिला चर्काएर नेपाललाई जस्तै भुटानलाई पनि चीनतिर ढल्कियोस् भन्ने छ ।'
भारतीय सेनाका जानकारहरूका अनुसार सिक्किम नै त्यस्तो ठाउँ हो जहाँबाट भारत चीनमाथि आक्रमण गर्न सक्छ । चीनसँगको हिमाली सीमामा यही नै एकमात्र भूभाग हो जसको भौगोलिक स्थितिबारे भारतीय सेनालाई राम्रो जानकारी छ र यसको सामरिक फाइदा उठाउन सक्छ । डोक्लाम क्षेत्रमा भारतीय सेना चिनियाँ सेनाभन्दा अग्लो ठाउँमा हुने भएकाले उचाइको फाइदा उठाउन सक्ने र चिनियाँ सेना भने भारतीय र भुटानी सेनाबीच ‘स्यान्डविच' हुन्छ ।
तिब्बतमा चीनको युद्ध अभ्यास
यसबीच चीनले तिब्बतमा ११ घन्टा युद्ध अभ्यास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले अरुणाचल प्रदेशसँग जोडिएको सीमानजिक तिब्बतमा तीव्र गतिमा आक्रमण र दुश्मनका लडाकु जहाज ध्वस्त पार्ने अभ्यास गरेको चीनका सरकारी सञ्चारमाध्यमलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर कहिले र किन सैन्य अभ्यास गरियो यसको विस्तृत विवरण भने नदिएको पनि भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
चिनियाँ जनमुक्ति सेनालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पहाडी भूभाग र पठारी क्षेत्रमा आक्रमण र क्षमता विस्तार गर्न तिब्बत सैन्याभ्यास गरेको उल्लेख गरेका छन् । सैन्य विश्लेषकहरूले चीनको यो युद्धाभ्यास चिनियाँ जनतालाई सेना जस्तोसुकै अवस्थामा पनि देशको रक्षा गर्न हमेशा तम्तयार रहेको विश्वस्त पार्नका लागि गरेको बताएका छन् ।
चिनियाँ सेनाको तिब्बत सैन्य कमान्ड र दुई पर्वतीय ब्रिगेडले युद्ध अभ्यास गरेको भारतीय सञ्चारमाध्यमले चीनको सरकारी टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)लाई उद्धृत गर्दै जनाएका छन् । युद्ध अभ्यासलाई चीनले भारतीय पूर्वी राज्य अरुणाचलको ठूलो भूभागलाई दक्षिणी तिब्बतका रुपमा दाबी गर्नसक्ने सन्देश भारतलाई दिएको ठानिएको छ । चीनले अरुणाचलको ठूलो भूभागलाई दक्षिणी तिब्बत भन्दै आफ्नो भएको दाबी गर्दै आएको छ ।
अभ्यास तिब्बत स्वायत्त क्षेत्रको मध्यभागको तल्लो भूभागस्थित यार्लुङ जाङबो (भारतमा ब्रह्मपुत्र) छेउछाउ गरिएको थियो । चीनमा सुरु हुने यार्लुङ जाङबो अरुणाचल प्रदेश हुँदै भारतमा प्रवेश गर्छ, जहाँ यसलाई सियाङ भनिन्छ र आसाममा प्रवेश गरेपछि ब्रह्मपुत्र । पर्वतीय ब्रिगेड यार्लुङ जाङबोको तल्लो तटीय क्षेत्रमा लामो समयदेखि तैनाथ छ । यो ब्रिगेड मोर्चामा सबैभन्दा अगाडि रहेर युद्ध गर्न तयार पारिएको ग्लोबल टाइम्सले जनाएको छ ।
ब्रिगेडले तीव्र गतिमा सेना उतार्ने र सेनाका विभिन्न एकाइले संयुुक्त आक्रमणको अभ्यास गरेका थिए । अभ्यासमा एन्टि ट्यांक ग्रिनेड र मिसाइलको पनि प्रयोग गरिएको थियो । राडारले शत्रुका लडाकु जहाज पत्ता लगाउने र सेनाले लडाकु जहाजभेदी मिसाइलले जहाज ध्वस्त पार्ने अभ्यास पनि गरेको थियो । अभ्यासमा चिनियाँ सेनाले ट्यांकलगायत नयाँ सामरिक उपकरण पनि परीक्षण गरेको थियो । यसअघि चिनियाँ सेनाले भारतीय सीमानजिकै तिब्बतमा नयाँ हलुका ट्यांकको परीक्षण गरेको जनाएको थियो ।- एजेन्सी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget