Websoft University

www.radiomakalu.com || 021-522512


मण्डला नाटकघरमा ‘सलेदो'

मण्डला नाटकघरमा ‘सलेदो'

‘मलाई मानिसहरूभन्दा वस्तुहरूसँगको सम्बन्ध मीठो लाग्छ, किनभने वस्तुहरू भागेर कतै जाँदैनन् ।' मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘सलेदो'को एक संवादले सम्बन्धको गहिराइ बताउँछ ।जसरी टुकीमा भएको तेललाई ज्योतिमा छर्ने काम सलेदोले गर्छ त्यसैगरी जीवनज्योति सम्बन्धरूपी सलेदोले छरिरहेको हुन्छ । नाटकले यस्तै भाव बोकेको छ । सम्बन्धहरूको जालोमा अल्झिएको मूल पात्र जीवन अन्त्यमा तिनै सम्बन्धको सम्झनामा एक्लै मृत्यु कुर्न विवश हुन्छ ।
सम्बन्ध रहुञ्जेल बाँच्ने आधार बनेका ती सम्बन्ध छुटेपछि पनि सम्झना बनेर जीवनज्योति छरिरहन्छन् । सम्बन्धको समय सकिएला, सम्बन्धको ज्योति सकिँदैन, नाटक यस्तै भन्छ । सेतो वस्त्रमा सेतै फूलेको वृद्धको भूमिकामा देखिएका सुलक्षण भारतीको संवादले नाटकलाई ओझिलो बनाएको छ ।
अघिल्लो नाटक ‘मिल्क टी' मा महिलालाई बलियो रूपमा उभ्याएकी निर्देशक सृर्जना अधिकारीले यस नाटकमा पनि सोही क्रमलाई निरन्तरता दिएकी छन् । ‘सलेदो'मा पनि महिला पात्रलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । बोल्ड केटीलाई कलेजमा धेरैले मन पराए पनि जिस्क्याउन र सिधै बोल्नसमेत नसकेको देखाइएको छ । आत्मविश्वास नै महिलाको ठूलो हतियार हो भन्ने दर्शाइएको छ । नाटकमा सिर्जना मंगोलियन महिलाको रूपमा देखिएकी छन् । उनी बोल्ड छिन् ।
जातीय विविधता नाटकले समेटेको अर्को सुन्दर पाटो हो । श्रीमान् ब्राह्मण, श्रीमती मंगोलियन र बुहारी नेवार समुदायको देखाएर एकै परिवारमा जातीय विविधता समेटिएको छ । जातीय विविधता र महिला बलियो भएको घरमा परिवारका सबै सदस्यले स्वतन्त्रता पाएका छन् । शिक्षित र सुन्दर परिवारको चित्रणले विविधताले सौन्दर्य सिर्जना गर्ने बताउँछ ।
सिर्जनाको निर्देशनको अर्को सुन्दर पक्ष हो सेट सजावट । सम्बन्धहरू र भोगाइसँगै जीवनलाई हेर्ने दृष्टिकोण उघ्रँदै जान्छ, त्योसँगै नाटकमा एकपछि अर्को गर्दै भित्ताका पर्दाहरू खुल्दै जान्छन् । एउटा मानिसको जीवनमा अनेक सम्बन्ध सुरु हुन्छन्, ती स्थापित हुन्छन् र समयक्रममा छुटेर जान्छन् । चाहे रगतको होस् वा भावनाको, सम्बन्धको गहिराइ मनले निर्धारण गर्छ ।
घरमा पानी ल्याइदिने केटो र वृद्धको सम्बन्धको गहिराइ उनीहरू छुट्ने बेलामा खसेको आँसुले देखाउँछ । नाटकमा हास्यरसका रमाइला दृश्य प्रशस्त छन् । हँसाइ-हँसाइ गम्भीर विषय प्रस्तुत गरिएको छ । वियोगका कुनै कुनै दृश्यले मन भारी बनाइदिन्छ, दर्शकको आँसु नथामिन सक्छ । नाटकमा सिर्जना, सुलक्षणलगायत अंकित खड्का, केनिपा सिंह, इँगिहापो कोइँच सुनुवार, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल र आयान खड्काको अभिनय रहेको छ ।- अन्नपूर्ण बाट ,विनीता मरहट्टा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget