Websoft University

www.radiomakalu.com || 021-522512


उम्मेदवारका साझा एजेन्डा : ‘विराटनगर प्रदेश राजधानी'

उम्मेदवारका साझा एजेन्डा : ‘विराटनगर प्रदेश राजधानी'

विराटनगर, असार ६ गते ।  दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा विराटनगर महानगरपालिकाका लागि मेयरका उम्मेदवारहरूले ‘प्रदेश राजधानी' को साझा एजेन्डा अघि सारेका छन् ।सबै दलका उम्मेदवारको साझा एजेन्डा नै प्रदेश राजधानी बनेको छ । उनीहरूले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाउँदै मतदातालाई आश्वासन दिइरहेका छन् । मतदातासँगको भेटघाट, चुवाव प्रचार, घरदैलो तथा सभामा उनीहरूले जुनसुकै हालतमा औद्योगिक नगरी विराटनगरलाई प्रदेश राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाउने गरेका छन् ।
विराटनगरमा मेयरको उम्मेदवारी दर्ता गराएर कांग्रेस एक्लै अगाडि बढिरहेको छ । एमाले र नेपाल लोकतान्त्रिक फोरम एवं माओवादी केन्द्र र संघीय समाजवादी फोरमका साझा उम्मेदवार छन् । कांग्रेसले मेयरमा विराटनगर नगर सभापति भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) लाई उठाएको छ । एमाले र लोकतान्त्रिक फोरमले तालमेल गरेर एमाले मोरङ अध्यक्ष विनोद ढकाललाई मेयर र लोकतान्त्रिककी सूची चौधरीलाई उपमेयरमा उठाएका छन् । माओवादी केन्द्र र समाजवादी फोरमले फोरमका पूर्वजिल्ला अध्यक्ष उमेश यादवलाई मेयर र माओवादी नेत्रृ नमिता न्यौपानेलाई उपमेयरमा उठाएका छन् । विराटनगरको मेयरमा पराजुली, ढकाल र यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
‘म एउटा यज्ञमा होमिएका कारण तपार्इंहरूले साथ दिनुहुन्छ भन्ने विश्वास छ', विराटनगर महानगरपालिकाका लागि मेयरका एमाले र लोकतान्त्रिक फोरमका साझा उम्मेदवार विनोद ढकालले पुष्पलाल चोकमा सोमबार बिहान यही बाक्य पटकपटक दोहोर्‍याउँदै भन्नुभयो, ‘तपाईंहरूको मतको कदर गर्दै म विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्छु ।' ढकालले निर्वाचनको माहोल सुरु भएर आफू मेयरको उम्मेदवार बन्ने निश्चित भएदेखि नै मतदातासमक्ष विराटनगर प्रदेश नम्बर १ को राजधानी बनाउने मुख्य एजेन्डा प्रस्तुत गरिरहनुभएको छ ।
‘१ नम्बर प्रदेशको सीमांकन हेरफेर हुन हुँदैन र राजधानी विराटनगर नै बनाइनुपर्छ भन्ने कुरा मेरो मुख्य मुद्दा हो', उहाँले भन्नुभयो, ‘१ नम्बर अखण्ड प्रदेश हुनुपर्छ भन्ने कुरा पनि सँगै लिएर हिँडिरहेका छौं ।' चुनाव प्रचारका लागि पुगेका सबै स्थानमा ढकालले विराटनगरबाट प्रदेश राजधानी उम्कने कुरामा दोधारमा नपर्न मतदातालाई आग्रह पनि गरिरहनुभएको छ । ‘विराटनगरलाई कसरी समुन्नत र समृद्ध बनाउन सकिन्छ भन्ने भिजन हामीसँग छ', उहाँले भन्नुभयो, ‘प्रदेश राजधानी बनेपछि अन्य विकास निर्माणले पनि गति लिन्छ ।'
लगभग डेढ महिनादेखि चुनाव प्रचारमा सक्रिय रहनुभएका उहाँ विराटनगरलाई राजधानी बनाएर आधुनिक र स्मार्ट सिटी बनाउने योजना एमालेसँग रहेको भन्दै मतदाता फकाइरहनु भएको छ । ढकालले विकासलाई तीव्रताका साथ अगाडि बढाएर विराटनगरलाई विशेष आर्थिक तथा औद्योगिक क्षेत्र घोषणासँगै शैक्षिक र मेडिकल हव बनाउने योजना रहेको पनि सुनाउनु भयो ।
मतदातासँगको भेटघाट, चुवाव प्रचार, घरदैलो तथा सभामा उम्मेदवारहरूले जुनसुकै हालतमा औद्योगिक नगरी विराटनगरलाई प्रदेश राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाउने गरेका छन् ।
कांग्रेसबाट मेयरका उम्मेदवार बन्नुभएका भीम पराजुलीले विराटनगरलाई महानगर बनाउन कांग्रेसको ठूलो योगदान रहेको उल्लेख गर्दै विराटनगरलाई जसरी भए पनि प्रदेश राजधानी बनाएरै छाड्ने बताउनुभयो । चुनाव प्रचारका लागि पुगेका सबै ठाउँमा पराजुलीले आफूले साथ पाए मात्र विराटनगरलाई राजधानी बनाउने यहाँका जनताको आशा पूरा हुने बताइरहनुभएको छ । स्थानीयदेखि केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेसले चुनाव जिते मात्र विराटनगर महानगरपालिकालाई राजधानी बनाउने मुद्दा स्थापित गर्न सजिलो हुन्छ ।'
‘चुनाव जिताउने नजिताउने तपाईंहरूको हातमा छ', मतदातासँग उहाँ भन्नुहुन्छ, ‘संविधान कार्यान्वयनदेखि लिएर विराटनगरको विकास द्रूत गतिमा अघि बढाउने जिम्मा कांग्रेसले लिन्छ ।' विराटनगरलाई प्रदेश राजधानी बनाउनेबाहेक उहाँले सडक, बिजुली, खानेपानी, एक परिवार एक रोजगार, ग्रामीण महिलालाई रोजगारी र शैक्षिक उन्नयनको पाटोलाई पनि चुनावी मुद्दा बनाउने गर्नुभएको छ । धरासायी बन्दै गएको औद्योगिक क्षेत्रलाई माथि उकास्न पनि आफ्नो योगदान रहने पराजुलीले बताउनुभयो ।
माओवादी केन्द्र र संघीय समाजवादी फोरमबाट मेयरका साझा उम्मेदवार उमेश यादवले विराटनगरलाई जुनसुकै हालतमा प्रदेश राजधानी बनाएरै छाडिने बताउनुभयो । ‘राजधानी बनाउन कस्तो त्याग र बलिदान गर्नुपर्ने हो त्यो सबै गर्न हामी तयार छौं', विराटनगरको चाँदनीचोकमा सोमबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रदेश राजधानी विराटनगरबाट उम्कन दिइने छैन । त्यसमा सम्पूर्ण विराटनगरवासीको साथ चाहियो ।' आफ्नो जितसँग विराटनगरको विकास र प्रदेश राजधानी जोडिएको उहाँले बताउनुभयो ।
विराटनगरलाई संघीय राजधानी बनाउनुपर्छ भनेर जनता आन्दोलनमा होमिँदा आफ्नो पार्टीले साथ दिएको बताउँदै उहाँले भन्नुभयो, ‘महानगरपालिका बनाउने विषयमा पनि समाजवादी फोरमले सँघै आन्दोलन गर्नु परेको थियो । प्रदेश राजधानीसँगै विराटनगरको समग्र विकास गर्ने हाम्रो पार्टीको मुख्य योजना छ ।' यादवले यसअघि जितेका नेताहरूले विराटनगरलाई बेवास्ता गर्ने गरेको, मतदाताले दिएको मतको संरक्षण र सम्मान गर्न नसकेको, यसअघि जितेर गएका नेताहरूले विवादस्पद छवि देखाएको आरोप पनि लगाउनुभयो ।
राप्रपाबाट मेयरको उम्मेदवार बन्नुभएका प्रल्हाद साहले पनि विराटनगरलाई प्रदेश राजधानीसँगै स्वच्छ, सुन्दर, समृद्ध र शक्तिशाली नगर बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । विराटनगरमा विभिन्न ठूला तथा साना दलबाट तथा स्वतन्त्र गरेर १४ जनाले मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरमा ११ जनाको उम्मेदवारी छ ।-अन्नपूर्ण बाट , किशोर बुढाथोकी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget