Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचनप्रति तीनवटै प्रदेशमा देखियो उत्साह


election_1
काठमाडौँ, असार ५ गते ।   दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार १, ५ र ७ नम्बर प्रदेशमा उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
हाम्रा बैतडी समाचारदाताका अनुसार असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा उम्मेदवारी दर्ता उत्साहजनक देखिएको छ ।  जिल्लाका चारवटा गाउँपालिकामा डिभाइसले काम नगर्दा त्यहाँको जानकारी सोमबार मात्रै आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ  ।
आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिए पनि साँझसम्म पनि उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले बताएको छ ।  मनोनयन गर्न जाँदा दलका उम्मेदवारहरूले समर्थक, प्रस्तावकको हस्ताक्षर छुटाएको, मतदाता परिचयपत्र नम्बर राख्नुपर्ने ठाउँमा क्रम सङ्ख्या राखेकाले ढिलो भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
नेकपा (एमाले)ले दशरथचन्द नगरपालिकामा सबैभन्दा पहिले मनोनयन दर्ता गरेको छ ।  त्यसपछि राप्रपा, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र र अन्य साना दलले साँझसम्म मनोनयन दर्ता गराएका छन् ।  “ जिल्ला सदरमुकाम रहेको दशरथ चन्द नगरपालिकाको मनोनयन दर्ता राती ८ बजे सकिएकाले दुर्गमको जानकारी  सोमबारसम्म आउला”, जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख राजेन्द्र फुयाँलले भन्नुभयो ।
त्यसैगरी धनगढी समाचारदाताका अनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन कैलालीमा राजनीतिक दलहरूले शान्तिपूर्ण वातावरणमा हर्षोल्लासपूर्वक उम्मेदवारी दर्ता गराएका छन् ।  नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलले नाचगान, बाजागाजासहित उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश नम्बर ७ को एकमात्र धनगढी उपमहानगरपालिकामा दलहरूले दलबलसहित शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराए ।  नाचगान गर्दै दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका प्रमुख÷उपप्रमुखसहित १९ वटै वडाका उम्मेदवारले सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गराए ।
यसैगरी गाईघाट समाचारदाताका अनुसार उदयपुरका राजनीतिक दलहरूले ठूलो उत्साहका साथ आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।  गाउँगाउँबाट बाजागाजासहित आएका राजनीतिक दलहरूले उदयपुरका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कपिलवस्तु समाचारदाताका अनुसार स्थानीय तह निर्वाचन बिथोल्ने घोषणासहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा)ले अन्ततः मनोनयन पत्र दर्ता गरेको छ ।  विभिन्न १० वटा स्थानीय तहमा राजपाका नेता, कार्यकर्ताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सबै निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  कपिलवस्तु नगरपालिकाबाट राजपाका नेता वृजेश गुप्ताका काका तथा तमलोपा कपिलवस्तु अध्यक्ष रामदास गुप्ताले मेयरमा, अर्का नेता वासुदेव कसौधनले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।  
यसैगरी मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिकामा पनि राजपाका नेता कार्यकर्ताले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।  शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिकामा पनि मेयरबाहेक वडा अध्यक्ष तथा सदस्यहरूमा राजपाका कार्यकर्ताले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।      
नवलपरासी समाचारदाताका अनुसार नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिकामा बाजागाजासहित उल्लासपूर्ण ढङ्गले आइतबार उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ ।
नवलपरासीलाई दुईवटा प्रदेशमा विभाजित गरिएको छ भने आठ स्थानीय तहमा गत वैशाख ३१ गते नै निर्वाचन भइसकेको छ ।  राष्ट्रिय जनता पार्टीबाहेक सबै दलले उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ
दमक समाचारदाताका अनुसार झापामा प्रमुख राजनीतिक दलहरूले शक्ति प्रदर्शनसहित उम्मेदवारी मनोनयन गरेका छन् ।  झापाका सबै स्थानीय तहमा शान्तिपूर्ण र निर्बाध रूपमा उम्मेदवारी मनोनयन सम्पन्न भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।  बिहानैदेखि झापामा सुरक्षाव्यवस्था कडा पारिएको थियो ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले नगर कार्यपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा ¥याली गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए ।
भोजपुर समाचारदाताका अनुसार भोजपुरमा उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको  छ ।  भोजपुरका दुई नगर र सात गाउँपालिकामा मनोनयन दर्ता सम्पन्न भएको हो ।  भोजपुरमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)ले नौवटै स्थानीय तहमा उम्मेदवारी दिएका छन् भने सङ्घीय समाजवादी फोरम नेपालले गठबन्धनसहित आठवटा तहमा उम्मेदवारी दर्ता गराएको छ ।
बुटवल समाचारदाताका अनुसार रूपन्देहीका १६ वटै स्थानीय निकायमा शान्तिपूर्ण रूपमा उम्मेदवार मनोनयन भएको छ ।  रूपन्देही जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन् ।  नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन ।
बाँके समाचारदाताका अनुसार बाँकेमा आठवटै स्थानीय तहमा उत्साहपूर्वक आइतबार उम्मेदवारी दर्ता भएको छ ।  मधेसी, मुस्लिम र थारू समुदायको बस्ती रहेका क्षेत्रमा आमनागरिक झनै उत्साहित देखिएका छन् ।  नेपालगन्ज उपमहानगरपालिकामा बिहानैदेखि भएको उम्मेदवारी दर्ता बेलुकासम्म चलेको थियो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरू पालैपालो उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।  
टङ्कीसिनवारी समाचारदाताका अनुसार राजपाको चुनाव बिथोल्ने कार्यक्रम भए पनि  विराटनगरमा उत्साहका साथ दलहरूले दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।  
स्थानीय तहका उम्मेदवारहरूले  विराटनगर महानगरमा बिहानैदेखि मनोनयन दर्ता गराएका थिए ।  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget