Websoft University

www.radiomakalu.com || 021-522512


महानगरका मेयर उम्मेदवारसँग प्रश्न : प्रदूषण नियन्त्रणको के छ योजना

महानगरका मेयर उम्मेदवारसँग प्रश्न : प्रदूषण नियन्त्रणको के छ योजना

काठमाडौं , वैशाख २४ गते ।  पछिल्लो समय धुवाँ, धुलो र अव्यवस्था नै चिनारी बनेको काठमाडौं उपत्यका स्थानीय तहको निर्वाचनको वातावरणले तातेको छ । यहाँका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा विभिन्न पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएकाहरूले चुनाव जित्न फोहोरमैला र प्रदूषण नियन्त्रणलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । उपत्यकाको वायु प्रदूषण खराब बिन्दुमा पुगेका कारण जनजीवन प्रभावित छ । सवारीसाधनको चाप बढ्नु, सडक निर्माणका क्रममा निस्कने धुलोका साथै इँटाभट्टाको उचित व्यवस्थापन गर्न नसक्नु उपत्यका प्रदूषित हुने कारणहरू हुन् । ठोस फोहोर जलाउँदा पनि प्रदूषण खतराको स्तरमा पुर्‍याएको छ ।
काठमाडौं महानगरपालिकाबाट मात्रै दैनिक करिब ९ सय मेट्रिक टन फोहोर निस्कन्छ । त्यसको उचित व्यवस्थापन नहुँदा सहर दुर्गन्धित हुने गरेको छ । उपत्यकामा दर्ता भएका करिब २२ लाख सवारीसाधन वायु प्रदूषण बढाउने अर्का कारक हुन् । काठमाडौंको प्रदूषण नियन्त्रणका लागि उम्मेदवारहरू फरकफरक योजनासहित जनताको घरदैलोमा पुगेका छन् । कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीको चुनावी एजेन्डा सडक र ढल सफा गर्नेदेखि हरियालीका लागि रूख रोप्नेसम्म छन् । महानगरबाट निस्कने फोहोरबाट १५ देखि २० मेघावाट बिजुली निकाल्ने उहाँको चुनावी एजेन्डा हो ।

साझा पार्टीबाट मेयरमा उम्मेदवारी दिएका किशोर थापासँग फोहोर छुट्ट्याउने र पुनः प्रयोग गर्ने योजना छ । यसले महानगरपालिकामा फोहोर घट्ने र व्यवस्थापन कम खर्चिलो हुने उहाँको दाबी छ । दुई वर्षअघिदेखि आफंैले सुरु गरेको फोहोरमैला व्यवस्थापन कार्यबाट उहाँले मासिक ६ सय रुपैयाँ कमाइरहनुभएको छ । सहरी विकास मन्त्रालयका पूर्वसचिव थापाले त्यहींबाट यस्तो सीप सिक्नुभएको हो । ‘फोहोर छुट्ट्याउने, पुनः प्रयोग गर्ने र कुहिने फोहोरलाई जमिनमा गलाउने गर्दा घरको फोहोर घरमै तह लाग्छ । फोहोर आम्दानीको स्रोत हो भन्ने नगरवासीलाई बुझाउनु जरुरी छ’, उहाँले अन्नपूर्णसँग भन्नुभयो ।
सवारीसाधनको प्रदूषण जाँच महानगरपालिकाले मात्रै गर्ने व्यवस्था मिलाउने, निर्माणअघि ठेकेदारसँग योजनाको स्वीकृति दिँदा प्रदूषण व्यवस्थापनको प्रतिबद्धता र निगरानी गर्ने थापाको चुनावी एजेन्डामा समावेश छन् ।
विवेकशील नेपाली पार्टीबाट मेयरकी उम्मेदवार रञ्जु दर्शना काठमाडौंको फोहोर व्यवस्थापन गर्न घरमै ठोस, जैविक र प्लास्टिकजन्य फोहोर छुट्ट्याएर राख्ने र त्यसो नगर्र्नेको फोहोर नउठाउने कडा नियम लागू गर्ने योजना अगाडि बढाउने बताउनुहुन्छ ।
भान्साबाट निस्कने फोहोर टोलटोलमा संकलन गर्ने र स्थानीयलाई रोजगारी पनि दिने योजना आफूसँग रहेको उहाँले बताउनुभयो । वायु प्रदूषण नियन्त्रणका लागि सडकमा बिरुवा रोप्ने, प्रदूषण जाँच प्रभावकारी बनाउने, ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाभित्र चर्काे स्पिकर बजाउन निषेध गरिने कार्यक्रमलाई उहाँले जनतामाझ प्रस्तुत गरिरहनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका डा. निर्मलकुमार थापाले फोहोर व्यवस्थापनकार्य दीर्घकालीन योजना बनाएरै आधुनिक र बढी व्यवस्थित बनाउने बताउनुभयो ।
महानगरका लागि थप डम्पिङसाइट निर्माण गर्ने र जथाभाबी फोहोर फाल्नेलाई कडा सजाय गर्ने व्यवस्था गर्ने, महानगरवासीले गौरव गर्न लायक सहरका रूपमा विकास गर्ने उहाँका चुनावी एजेन्डा छन् ।
नयाँ शक्ति र संघीय समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका पवित्र बज्राचार्य ६ महिनाभित्र धुलो नियन्त्रण गर्ने योजना बनाएको बताउनुहुन्छ । फोहोर व्यवस्थापनका लागि ठीक समयमा फोहोर उठाउने र निजी क्षेत्रसँग मिलेर पुनः प्रयोगको योजना अगाडि बढाउने पनि उहाँले बताउनुभयो । गाडीको प्रदूषण जाँच गर्ने कार्यलाई भरपर्दाे र विश्वसनीय बनाउने योजना रहेको उहाँले सुनाउनुभयो ।
ललितपुर महानगरका उम्मेदवारको योजना
उपत्यकाभित्रको अर्को महानगरपालिका ललितपुर पनि अहिले उस्तै प्रदूषित सहर छ । निर्माणाधीन कोटेश्वर-कलंकी सडकका कारण यसवरपरका बस्ती र पैदल यात्रुले सास्ती खेपिरहेका छन् । धुलो र धुवाँका साथै समयमा फोहोर नउठ्दा यो क्षेत्र प्रदूषित भइरहेको हो ।


कृष्ण मन्दिरदेखि मच्छिद्रनाथ जात्रासम्म पाटनका लोभलाग्दा कलाकृति अवलोकन गर्न यहाँ दैनिक सयौं पर्यटक आउँछन् । तर यहाँको अव्यवस्थित फोहोरमैलाका कारण पर्यटक गुनासो गरिरहेका छन् । फोहोरमैला व्यवस्थापन गर्न स्रोत र साधन हुँदाहुँदै त्यसको उचित व्यवस्थापन नभएको कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका चिरीबाबु महर्जन बताउनुहुन्छ । फोहोरमैला र धुलो नियन्त्रणका लागि दीर्घकालीन कार्यक्रम बनाएर काम गर्ने योजना रहेको उहाँले अन्नपूर्णसँग बताउनुभयो ।
२०७२ साल वैशाखको भूकम्पका कारण क्षतिग्रस्त घरहरूको पुनः निर्माण पनि थालिएकाले ललितपुरका मुख्य बजारमा अहिले जताततै धुलो उडिरहेको छ । सडकको धुलो सफा गर्ने योजना रहेको चिरीबाबु महर्जनले बताउनुभयो । २० वर्ष पुराना गाडी नगर क्षेत्रबाट विस्थापित गर्ने योजना पनि उहाँको छ । माओवादी केन्द्रबाट ललितपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका दिनेश महर्जन महानगरलाई धुलो र धुवाँरहित पार्ने योजना रहेको बताउनुहुन्छ ।
फोहोरमैलालाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने साथै फोहोरलाई साँझ र बिहान उठाउने व्यवस्था गर्ने पनि उहाँको योजना छ । धुलो उड्न नदिन दिनमा एकपटक सडक पखाल्ने नियम बनाउने पनि उहाँले सुनाउनुभयो । एमालेबाट ललितपुरका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार महानगरलाई मेसिन लगाएर धुलो टिप्ने, फोहोरमैलाको हकमा घरबाटै फोहोर छुट्ट्याउने र कुहिने फोहोरलाई जमिनमा तह लगाउने योजना आफूले बनाएको उहाँ बताउनुहुन्छ ।- अन्नपूर्ण बाट,  गोविन्द लुइँटेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget