
फाइल तस्बिर
काठमाडौं, वैशाख २२ गते । प्रमुख विपक्षी दल एमालेसहितका दलहरुको अबरोधपछि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरु नाराबाजीमा उत्रिएपछि सभामुख ओनसरी घर्ती मगरले संसद बैठक वैशाख २४ गते १ बजेसम्मका लागि स्थगित गर्नु भएको हो।
संसद बैठकको सुरुमै सभामुख घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मालाई बोल्न समय दिनु भएको थियो।
तर, एमालेसहितका विपक्षी दलहरुले सांसद विश्वकर्मालाई रोष्टममै जान अबरोध गरेपछि सभामुखले आइतबारसम्मका लागि संसद बैठक स्थगित गर्नु भएको हो। सभामुख घर्तीले विश्वकर्मालाई बोल्न समय दिने वित्तिकै एमालेसहित विपक्षी दलका सांसदहरु सभामुखको रोष्टम अगाडि उभिएर नारावाजी गर्दै विरोध जनाएका थिए।
यसअघि बिहान बसेको संसद बैठकमा एमालेलगायत दलहरुको अबरोधकाबीच सभामुख घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफलका लागि आजै दिउँसो १ बजेका लागि समय तोक्नु भएको थियो।-नरेन्द्र साउद, अन्नपूर्ण बाट
Post a Comment