Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तहको निर्वाचन आज

election

काठमाडौंँ, वैशाख ३१ गते ।  निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी पूरा भएको र भरपर्दो सुरक्षा व्यवस्था गरिएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आह्वान गरेको छ ।
आयोगले शनिबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी यस्तो आह्वान गरेको हो ।  मतदानमा भाग लिनु भनेको संविधानको कार्यान्वयन गर्नु हो भन्दै आयोगले लामो समयपछि आएको मताधिकारलाई वहन गर्न एक दिन राष्ट्रका लागि योगदान दिन सबैमा अपिल गरेको छ ।
आयोगबाट वितरण गरिएको परिचयपत्रका आधारमा तोकिएकै मतदान केन्द्रमा मतदान गर्न पाइने प्रस्ट पार्दै आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले परिचयपत्र हराएमा वा प्राप्त हुन नसकेमा परिचय खुल्ने आधिकारिक सरकारी कागजातका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरिएको बताउनुभयो ।  त्यस व्यवस्थाका लागि मतदाता नामावलीमा नाम भने हुनैपर्छ ।
“नागरिकताको प्रमाणपत्र, २०७० सालको निर्वाचनमा आयोगबाट जारी भएको मतदान परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य आधिकारिक परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ”, प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी गराउनुभयो ।  
मतदाता परिचयपत्रमा सामान्य भूलचुक भएमा नागरिकताको फोटोकपीलाई मुख्य आधार मानी निर्वाचन प्रक्रियामा भाग लिनदिन सबै निर्वाचन अधिकृतलाई आयोगको तर्फबाट सूचित गराइएको पनि निर्वाचन आयोगले जानकारी गराएको छ ।  मतदाताको नाम सूची भएको मतदानकेन्द्रमा गएर मतदानमा भाग लिन पाइने बताउँदै डा. यादवले नाम सूची नरहेको अन्यत्र मतदान केन्द्रबाट कसैलाई पनि मतदान गर्न छुट नरहेको प्रस्ट पार्नुभयो ।
निर्वाचनलाई निष्पक्ष, भयरहित, स्वतन्त्र र मर्यादित बनाउन निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्न सबैलाई आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही हुने बताउनुभयो ।  अपाङ्गता भएका, सुत्केरी, गर्भवती, अशक्त, ज्येष्ठ नागरिक तथा बिरामीका लागि अलग मतदान दिने लाइनको छुट्टै विशेष व्यवस्था गरिएको आयोगले बताएको छ ।  त्यस्तै महिला र पुरुषका लागि पनि अलगअलग लाइनको व्यवस्था गरिएको बताइएको छ ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास आयोगको छ ।  मतदान प्रक्रिया सम्पन्न भएपछि नियमानुसार मतगणना कार्यक्रम पनि तत्काल सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
आयोगका अनुसार आइतबार ३४ जिल्लाको छ हजार छ सय ४२ मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।  त्यसका लागि कुल ४९ हजार ३३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।  तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन् ।  चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा आइतबार निर्वाचन हुँदैछ ।
आइतबारको निर्वाचनबाट अध्यक्ष वा नगरप्रमुख २८३ जना, त्यत्तिकै सङ्ख्यामा उपाध्यक्ष वा उपप्रमुख निर्वाचित हुनेछन् ।  त्यस्तै पहिलो चरणको निर्वाचनबाट दुई हजार ५९८ जना वडाअध्यक्ष पनि निर्वाचित हुँदैछन् ।  आयोगका अनुसार प्रमुख वा वडाअध्यक्षमा कुल एक हजार ७२३ पुरुष र १५७ महिला गरी एक हजार ८८० प्रतिस्पर्धामा छन् भने उपाध्यक्ष वा उपप्रमुखमा २५७ पुरुष र एक हजार १२७ महिला गरी कुल एक हजार ३४८ जना प्रतिस्पर्धामा छन् ।
त्यस्तै वडा सदस्य दुई पद खुलाका लागि १७ हजार ७२९ पुरुष र ९५१ महिला, अन्य वडा सदस्य पदमा नौ हजार ८३ जना र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जानकारी गराएको छ ।  आयोगका अनुसार अहिलेसम्म ३२९ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।  तीमध्ये १६९ जना पुरुष र १६० महिला छन् ।
पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भइरहेको आयोगले जनाएको छ ।  निर्वाचनमा ४९ संस्थाका पर्यवेक्षकले निर्वाचनको अनुगमन गर्ने आयोगले जनाएको छ ।  यस निर्वाचनबाट महिला, दलित, सीमान्तकृत वर्ग, मधेशी र पछाडि परेका वर्गको अधिकार सुनिश्चित हुन गइरहेको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था अपनाइएकाले कसैको डर, त्रास, धम्की, लोभलालचमा नआउन मतदातासमक्ष आग्रह गर्नुभयो ।  निष्पक्ष र स्वतन्त्रपूर्वक मताधिकारको सदुपयोग गर्न उहाँले पत्रकार सम्मेलनमार्फत सबै मतदातामा अपिल गर्नुभयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, आमसञ्चार माध्यमलगायत सबै क्षेत्रलाई भूमिका खेल्न निर्वाचन आयोगले आग्रह गरेको छ ।  निर्वाचनका लागि मित्रराष्ट्र देशको समेत सहयोग र सद्भाव रहेको भन्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले धन्यवाद ज्ञापन गर्नुभयो ।
मतपत्र झन्झटिलो र अपर्याप्त मतदाता शिक्षाका कारण मत बदर सङ्ख्या बढ्नसक्ने पत्रकारको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त डा. यादवले छोटो समयावधिमा सकेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको तर सोचेजस्तो प्रभावारी हुन नसकेको स्वीकार गर्नुभयो ।  तर, सबैको सहयोगमा मत बदर सङ्ख्या घटाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  आचारसंहिताको व्यापक उल्लङ्घन भएको पत्रकारको अर्को जिज्ञासाको जवाफमा डा. यादवले भन्नुभयो, “शतप्रतिशत कार्यान्वयन त कहीँ कतै हुँदैन, हुन सक्दैन ।  पत्रकारिताले पनि कहाँ सम्पूर्ण रूपमा आचारसंहिता पालना गरेको छ र ?”
निर्वाचनलाई सफल पार्न मिडियाको भूमिका महŒवपूर्ण रहने हुनाले अतिरञ्जित ढङ्गले समाचार प्रकाशन प्रसारण नगर्न उहाँले मिडियाकर्मीसँग आग्रह गर्नुभयो ।  पहिलो चरणको निर्वाचन वैशाख ३१ गते आइतबार सम्पन्न हुँदैछ भने दोस्रो चरणको निर्वाचन जेठ ३१ गते बाँकी ४१ जिल्लामा हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget