Websoft University

www.radiomakalu.com || 021-522512


महाभियोग प्रकरण : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ सडकमै

महाभियोग प्रकरण : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ सडकमै

काठमाडौं,   वैशाख २१ गते ।  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विरोधमा सडकमै ओर्लिनुभएको छ । महाभियोग फिर्ता गराउन बुधबार वसन्तपुरमा आयोजित एक भेलामा सहभागी भएर सरकारविरुद्ध उहाँले आक्रामक भाषणसमेत दिनुभयो । ‘भूकम्पले सर्वोच्च अदालतको गजुर भत्काएको छ । प्रधानमन्त्रीले त्यो बनाउने प्रयास गर्नुभएन । तर, भएको न्यायपालिका पनि भत्काउन खोज्नुभएको छ', पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भेलामा प्रधानमन्त्रीलाई चेतावनी दिँदै भन्नुभयो, ‘न्यायपालिका नै भत्किए कसले रक्षा गर्छ ? ख्याल गर्नुहोला ।'
श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएकोसमेत आरोप लगाउनुभयो । उहाँले महाभियोगविरुद्ध उत्रन आह्वानसमेत गर्नुभयो । ‘यदि, तपाईंहरूले विवेक र धर्म छाड्नुभयो भने पाप धुरीबाट कराउँछ । आज हामीलाई खाने बाघले भोलि तपाईंलाई पक्कै खान्छ', श्रेष्ठको चेतावनी थियो । पूर्वप्रधानन्यायाधीशहरू सडकमै उत्रिएर विरोधमा भाषण दिएको घटना विरलै पाइन्छ ।
पूर्वप्रधानन्यायाधीश र न्यायाधीशसहितको मंगलबार सम्पन्न एक भेलाले ‘केही समयदेखि सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पारिँदै आएका कारण फैसला तथा आदेशसमेत प्रभावित हुने गरेको' भन्दै यसतर्फ न्यायिक नेतृत्वसमेत जवाफदेही रहेको बताएका थिए । न्यायपालिकामाथि हुने जुनसुकै हस्तक्षेप र न्यायाधीशबीच गुटबन्दी खडा गर्ने कार्य अस्वीकार्य हुने चेतावनीसमेत उनीहरूले दिएका थिए ।
तपाइहरुले विवेक र धर्म छाड्नुभयो भने पाप धुरीबाट कराउँछ । आज हामलाई खाने बाघले भोलि तपाइलाई पक्कै खान्छ । कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश
वसन्तपुर भेलामा प्राडा गोविन्द केसीले प्रधानन्यायाधीशविरुद्ध ‘ग्रान्ड डिजाइन' मा गलत मार्गबाट महाअभियोग आएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गर्नुभयो । ‘प्रजातन्त्र आएको २७ वर्षसम्म दलमा दलीयतन्त्र मात्र संस्थागत भयो । मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्र र केही हदसम्म ओलीतन्त्र हाबी भयो,' केसीको कथन थियो ।

कार्कीलाई अन्तिम समयमा महाअभियोग लगाएर कलंकको टीका लगाउने प्रयास भएको केसीको भनाइ थियो । ‘तुरुन्त उहाँ (कार्की) को स-सम्मान पुनर्बहाली भएन भने सत्याग्रहसहितको आन्दोलन सुरु गर्छु', केसीको सरकारलाई चेतावनी थियो ।
अधिकारकर्मी कृष्ण पहाडीले दलले महाभियोगको दुरुपयोग गरेको भन्दै फिर्ता नलिए प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा श्रापमा पर्ने बताउनुभयो । पहाडीले भन्नुभयो, ‘महाभियोग फिर्ता लिनुभएन भने भोलि तपाईंहरूले महाभियोग भोग्नुपर्ने छ ।'
नागरिक प्रतिरक्षा अभियान नामक संस्थाले आयोजना गरेको भेलामा साझा पार्टीका अध्यक्ष रवीन्द्र मि श्र, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, नेपाल बारका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, ट्रान्सपरेन्सी नेपालका अध्यक्ष श्रीहरि अर्याल, कानुनव्यवसायी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको ऐक्यबद्धता थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget