Websoft University

www.radiomakalu.com || 021-522512


१० मिनेटमै थप सुरक्षाकर्मी

१० मिनेटमै थप सुरक्षाकर्मी

काठमाडौं,  वैशाख २९ गते  ।  मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् । केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा आवश्यक परे तत्काल थप सुरक्षाकर्मी पुग्नेछन् ।गृह मन्त्रालयका प्रवक्ता तथा मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुख बालकृष्ण पन्थीले जस्तोसुकै अवस्था आए पनि हतियार नचलाई व्यवस्थापन गर्न सकिने गरी सुरक्षा योजना बनाइएको बताउनुभयो । 'सामान्य अवस्थामा जति सुरक्षाकर्मी परिचालन गरिनेछन् त्यति नै पर्याप्त हुनेछ । त्यसबाहेक कुनै असामान्य अवस्था आइपरे तत्कालै त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिनेछ', पन्थीले भन्नुभयो ।
मतदान केन्द्रआसपास छरिएका स्ट्राइकिङ फोर्स, मोबाइल टोली र नेपाली सेनाबाट तत्काल आवश्यक थप सुरक्षाकर्मी परिचालन गरिनेछ । सरकारले सेनालाई अन्तिम अवस्थामा मात्र मतदान केन्द्रमा पस्ने गरी सुरक्षा योजना बनाएको छ । 'मतदानस्थलको प्रत्यक्ष सुरक्षामा सेना सहभागी हुनेछैन', पन्थीले भन्नुभयो, 'तर आसपास छरिएर रहनेछ । मतदान केन्द्र सुरक्षाको बाहिरी घेरामा सेना रहने भएकाले अत्यावश्यक परिस्थितिमा मात्र भित्र पस्नेछ।'
पहिलो चरणमा पहाडी र हिमाली क्षेत्रमा स्थानीय निर्वाचन हुन लागेकाले त्यहाँको भौगोलिक विषमता ध्यानमा राखेर सुरक्षा व्यवस्थापनको योजना बनाएको गृहको दाबी छ । सुरक्षा योजनाअनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा बाँडिएको छ ।सामान्य मतदान केन्द्रको सबैभन्दा भित्री सुरक्षा घेरामा कम्तीमा तीनजना प्रहरी र चारजना म्यादी प्रहरी रहनेछन् । दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी रहनेछन् । यसमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि हुनेछन् । त्यसबाहिर पनि प्रहरी र सशस्त्रका विभिन्न टोली रहनेछन् । मतदानस्थलको केही पर सेना बस्नेछ ।

संवेदनशील मतदान केन्द्रको सबैभन्दा भित्री सुरक्षा घेरामा कम्तीमा चारजना प्रहरी र ६ जना म्यादी प्रहरी बस्नेछन् । यसैगरी अति संवेदनशील मतदान केन्द्रको सबैभन्दा भित्री सुरक्षा घेरामा कम्तीमा पाँचजना प्रहरी र ६ जना म्यादी प्रहरी हुनेछन् । 'हामीले न्यूनतम मापदण्ड तोकिदिएका छौं । कति परिचालन गर्ने सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ', पन्थीले भन्नुभयो । थप जनशक्ति परिचालन गर्नेदेखि हतियार चलाउने निर्णय गर्ने सबै अधिकार जिल्ला सुरक्षा समितिसँग हुनेछ ।
पहिलो चरणको स्थानीय निर्वाचनका लागि निर्वाचन हुने क्षेत्रमा प्रहरी, म्यादी प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी ६४ हजार नौ सय ११ सुरक्षाकर्मी परिचालन गरिएको छ । दोस्रो चरणको स्थानीय निर्वाचन ध्यानमा राखी देशभर ६४ हजार सेना परिचालन गरिएको छ ।प्रवक्ता पन्थीले मतदान सकिएपछि मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउन पनि सुदृढ सुरक्षा योजना रहेको बताउनुभयो । मतगणनास्थलसम्म मतपेटिका पुर्‍याउने सवारीसाधनमा प्रहरी रहनेछन् । सवारीसाधनको दायाँबायाँ प्रहरी र सशस्त्र रहेको गाडीले सुरक्षा दिनेछन् । मतपेटिका बोकेको सवारीसाधनको केही पछि रहेर सेनाको गाडीले सुरक्षा दिनेछ । '१० हजारभन्दा बढी मतदान केन्द्रबाट भएको मतको गणना सात सय ४४ स्थानमा हुने हुँदा सुरक्षा व्यवस्थापनमा निकै सहज हुनेछ', पन्थीले भन्नुभयो ।
नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले सुुरक्षाव्यवस्था कडा पारिएको बताउनुभयो । 'सम्बन्धित मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्', उहाँले भन्नुभयो । सर्वसाधारणसँग भएका लाइसेन्ससहितका हतियार निर्वाचन सुरक्षाका लागि बुझाउन गृह मन्त्रालयले निर्देशन दिए पनि न्यून संख्यामा मात्र बुझाइएको छ । लाइसेन्स लिएर करिब ३५ हजार हतियार सर्वसाधारणले राखे पनि करिब एक हजार मात्र प्रशासनलाई बुझाइएको हो ।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget