Websoft University

www.radiomakalu.com || 021-522512


भलिबल अब ‘राष्ट्रिय खेल’ ः समग्र खेल क्षेत्र उत्साहित



काठमाडौँ, जेठ ११ गते । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ ।

करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो ।

लामो समयको अध्ययन एवम् विश्लेषणपछि युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको हो । विश्व खेल मञ्चमा फुटबल र क्रिकेटको ‘क्रेज’ अत्यधिक रहेका बेला सरकारले भलिबल खेललाई राष्ट्रिय खेल बनाएपछि कतिपय खेल सङ्घका पदाधिकारीले सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

खेलकुद मन्त्रालयका उपसचिव रत्नबहादुर कटुवालले मुलुकको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी, पहुँचलगायतलाई आधार मानी भलिबललाई राष्ट्रिय खेल बनाएको जानकारी दिनुभयो ।

मन्त्रालय स्रोतका अनुसार भलिबल खेलको लोकप्रियता र सर्वसुलभतालाई पनि छनोटमा आधार मानिएको छ । देशको पहिचान, एकता, राष्ट्रियताको संरक्षणमा योगदान हुने मात्र हैन मुलुकको राष्ट्रिय खेल निर्धारण नभएर उत्पन्न रिक्तताको अन्त्य गर्न र जनमानसमा एकताको सङ्केत दिन जरुरी पनि भएकाले तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मन्त्रालयअन्तर्गतको खेलकुद महाशाखाका सहसचिव संयोजक, राष्ट्रिय खेलकुद परिषद्, प्रतियोगिता तथा योजना शाखाका प्रमुख सदस्य र खेलकुद विकास शाखाका प्रमुख सदस्य रहने गरी तीन सदस्यीय राष्ट्रिय खेल छनोट तथा सिफारिस समिति २०७१ पुस ४ गते गठन गर्नुभएको थियो ।

उहाँका अनुसार उक्त समितिले तोकिएको समयसीमा २५ दिनभित्र पहुँच, शारीरिक बनावट र अवस्था, आत्मरक्षा, आत्मसम्मान र राष्ट्रिय गौरब, क्षमता, अनुशासन र सम्भाव्यता, सहयोग र सहकार्य, पदक प्राप्ति, अवस्था विश्लेषण तथा कला र रणनीतिका आधारमा विभिन्न १३ वटा खेल राष्ट्रिय खेल बनाउन सकिने गरी सिफारिस गरेको थियो ।

प्राथमिकताका आधारमा ती खेलमा एकदेखि १३ सम्म क्रमशः भलिबल, तेक्वान्दो, कबड्डी, क्रिकेट, एथलेटिक्स, बाघचाल, फुटबल, कराँते, डण्डीबियो, उसु, बक्सिङ, जुडो र बास्केटबललाई सिफारिस गरिएको थियो । समितिले सिफारिस गर्ने क्रममा हुलाक, राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन, अन्तरक्रिया, संस्थागत रायसुझाव माग्नुका साथै जनमतलाई समेत आधार मानेर उक्त सिफारिस गरेको थियो ।

सिफारिस भएका खेलमध्ये मन्त्रालयले विभिन्न चरणमा छलफलपछि भलिबल, कबड्डी र उसुमध्ये एक खेललाई राष्ट्रिय खेल बनाउन सकिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएपनि त्यतिबेला निर्णय हुन सकेको थिएन । तर तीन वर्षपछि खेलकुदमन्त्री दलजित श्रीपाइलीको पहलमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको हो ।

मन्त्रालय स्रोतका अनुसार यसअघि लिखित रुपमा कुनै पनि खेललाई सरकारले आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता दिएको थिएन । अन्तर्राष्ट्रिय प्रचलनअनुसार एउटा राष्ट्रिय खेल अपरिहार्य भएकाले पनि अहिलेको निर्णय गरिएको मन्त्रालयको भनाइ छ ।
मन्त्री श्रीपाइलीले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिलाउन आफूले सक्दो प्रयास गर्ने यसअघि पटक पटक बताउँदै आउनुभएको थियो । डण्डीबियो र कतिपयले कबड्डीलाई नेपालको राष्ट्रिय खेलका रुपमा बुझ्दै आएका भए पनि यो सबैलाई स्वीकार्य थिएन ।

अन्तर्र्राष्ट्रिय भलिबलमा सहभागिता जनाएको चार दशकपछि केही महिनाअघि पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्न सफल भलिबल आन्तरिक रुपमा सबैभन्दा बलियो सङ्गठन भएको खेल हो । भलिबलको सबै जिल्लामा सङ्घ छ । यसले पनि भलिबललाई राष्ट्रिय खेलको मान्यता पाउन मद्दत पुगेको देखिन्छ ।

नेपालको राष्ट्रिय खेल कुन हो ? सामान्य ज्ञानका पुस्तकमा राष्ट्रिय खेल कबड्डी र डण्डीबियोलाई उल्लेख गर्ने गरिए पनि यो आधिकारिक थिएन । सोमबारको निर्णयसँगै अब राष्ट्रिय खेल भलिबल बनेको छ ।

नेपालमा फुटबल, क्रिकेट र भलिबल सबैभन्दा लोकप्रिय खेल मानिन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव युवराज लामाको समयमा कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने बहस सुरु भएको थियो ।

त्यतिबेलाको बहसबारे लामाले भन्नुभयो, “बहस भए पनि त्यतिबेला निर्णयमा पुग्न सकिएन । अहिले सरकारले गरेको निर्णय स्वागतयोग्य छ ।”

नेपाल भलिबल सङ्घका तत्कालीन अध्यक्ष दानबहादुर तामाङको नेतृत्वमा रहेको कार्यसमितिले भलिबललाई राष्ट्रिय खेल बनाइनुपर्ने मागसहित हस्ताक्षर सङ्कलन गरी सुझाव दिएको थियो ।

मन्त्रालयका एक उपसचिव भन्नुहुन्छ, “अरु खेलकुदका सङ्घहरुले खासै चासो देखाएनन्, तर भलिबल सङ्घले निरन्तर प्रयास गरिरह्यो जसले गर्दा यो निर्णयमा पुग्न केही दबाब सिर्जना ग¥यो ।”

अमूल्य रत्न पायौं ः अध्यक्ष शर्मा

यसैबीच, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले सरकारको निर्णयको स्वागत गर्दै यसबाट भलिबल खेलको विकासमा थप ऊर्जा मिलेको बताउनुभयो ।

रासससँग संक्षिप्त कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारले हामीलाई अमूल्य रत्न सुम्पेको छ । त्यसलाई हिलोमा फाल्ने या कोहिनुर डाइमन्ड बनाउने जिम्मेवारी हाम्रै काँधमा आएको छ ।” उहाँले भन्नुभयो, “पूर्वाधार विकास र व्यावसायिक खेलाडीको उत्पादन गर्नु अहिलेको मुख्य चुनौती हो । त्यसका लागि आवश्यक सहयोग राखेप र मन्त्रालयबाट उपलब्ध हुनेमा आशावादी छौँ ।”

अध्यक्ष शर्माले सङ्घ स्थापना भएको करिब ४४ वर्षपछि राष्ट्रिय खेलको मान्यता पाउनु सबै नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

भलिबलले राष्ट्रिय खेलको मान्यता पाएसँगै सङ्घमा चुनौती थपिएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्द बताउनुहुन्छ । “राष्ट्रिय खेलको दर्जा दिइएपछि त्यसअनुरुप खेलको गौरव राख्न सरकारबाट आवश्यक सहयोग हुने आशा हामीले राखेका छौंँ,” महासचिव चन्दले भन्नुभयो ।

सङ्घले राष्ट्रिय खेलको मान्यता पाएसँगै यसको थप विकास र व्यावसायिक बनाउन सरकारले वार्षिक रुपमा उपलब्ध गराउँदै आएको रु ११ लाख अनुदान समेत वृद्धि गर्नुपर्ने चन्दको माग छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खेलको सम्मान बढाउन अब योजनासँगै लगानी भित्र्याउनु जरुरी छ ।” रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget