Websoft University

www.radiomakalu.com || 021-522512


" उम्मेदवारी दर्ता सहजताका लागि संसद बैठक तीन दिनपछि "



काठमाडौँ, वैशाख १७ गते । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । संसद्को आजको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वैशाख १९ गते उत्सवका रुपमा उम्मेदवारी दर्ता गर्न बैठक सारिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैशाख ३१ गते हुने निर्वाचनको तयारी गर्न सबै सांसदलाई जिल्ला पुग्ने वातावरण बनाउन बैठक सारिएको हो । त्यो सकेर मात्र संशोधन प्रस्तावका बारेमा वैशाख २१ गते छलफल हुन्छ ।”

वैशाख ३१ गतेको निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै उहाँले भन्नुभयो – “अब कसैमा पनि कुनै खालको द्विविधा पर्न र पार्न आवश्यक छैन ।” निर्वाचनमा मधेस केन्द्रित दलको सहभागिताका सम्बन्धमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री दाहालले उनीहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवारी दर्ता गरेर निर्वाचन सम्पन्न गर्ने विषयलाई सबैले प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको पनि उहाँले स्मरण गराउनुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै ‘वैशाख ३१ गतेको निर्वाचन भयो’ भन्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने बताउनुभयो र दलहरुबीच संविधान संशोधन प्रस्तावमाथि सहमति कायम गर्न संसद बैठक सारिएको खुलासा गर्नुभयो ।

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिँदै संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो । बजेट ल्याउनुपर्ने स्थिति पनि रहेकाले त्यस अघि नै निर्वाचन हुनुपर्ने उहाँको तर्क थियो ।

संसद् बैठकबाट बाहिरिने क्रममा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमाथि छलफल नगरी संसद् बैठक सारिएको विषयमा सङ्घीय गठबन्धनको बैठक बसेर निर्णय लिइने बताउनुभयो ।

सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा गर्ने तयारी गरेको छ । संसद्को अर्काे बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget