Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीलाई निर्वाचन आयोगको 'अल्टिमेटम'


प्रधानमन्त्रीलाई निर्वाचन आयोगको 'अल्टिमेटम'

                       २ नम्बर प्रदेशमा केन्द्र नतोकिँदा कार्यतालिका न प्रभावित


काठमाडौं चैत २५ गते ।   निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई 'अल्टिमेटम' दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् । मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो । तर चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले 'अल्टिमेटम' दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीवार टेलिफोन गरी शुक्रवारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइदिन आग्रह गरेको आयोग स्रोतले बतायो । बिहीवार नै निर्वाचन अधिकृतहरूका लागि आयोजित तालिममा प्रमुख आयुक्त यादवले सरकारलाई शुक्रवारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइसक्न आग्रह गर्नुभएको थियो ।
'कार्यतालिका नै प्रभावित हुनेगरी आयोग पर्खिन सक्दैन । प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, आजै साँझसम्म, नभए भोलिभित्र मतदान केन्द्रको टुंगो लगाउनुहोस्', कार्यक्रममा प्रमुख आयुक्त यादवले भन्नुभएको थियो ।
आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् ।
२ नम्बर प्रदेशमा सहमतिका आधारमा मतदान केन्द्र नतोकिए आफैं अघि बढेर काम गर्ने तयारीमा आयोग पुगेको खबर पनि प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीसम्म पुर्याइसकेको आयोग स्रोतले बतायो । 'हाम्रो आन्तरिक कार्यतालिका प्रभावित भएको छ । सहमतिका लागि आयोग अब कुर्दैन, सरकारले नगरे आयोग आफ्नो काम गर्छ', प्रमुख आयुक्त यादवले तालिममा भन्नुभएको थियो । २ नम्बर प्रदेशमा मतदान केन्द्र नतोकिँदा मतदाता नामावली र मतदाता परिचयपत्र छाप्नेलगायत निर्वाचनसम्बन्धी काम प्रभावित भइरहेको आयोगको भनाइ छ ।
'मतदाता नामावली र मतदाता परिचयपत्रमा मतदाताको ठेगाना र मतदान केन्द्र पनि उल्लेख गरेर छाप्नुपर्छ । केन्द्र नै नतोकिएपछि २ नम्बर प्रदेशका लागि काम अघि बढ्न सकेको छैन', आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले अन्नपूर्णसँग भन्नुभयो । राजनीतिक सहमति जुट्न नसक्दा दुई नम्बर प्रदेशका जिल्लामा मतदान केन्द्र तोक्न नसकिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
चैत २० सम्म थपिएको १० दिनमा २ नम्बर प्रदेशका बारा र पर्सा जिल्लाको मतदाता विवरण आयोगलाई प्राप्त भएको थियो । त्यसबाहेकका ६ वटा जिल्लाको विवरण र मतदान केन्द्रसम्बन्धी कुनै जानकारी आयोगलाई प्राप्त नभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
संविधान संशोधनको माग गर्दै दुई नम्बर प्रदेशमा मधेसी मोर्चाले निर्वाचनको विरोध गरिरहेकाले मतदान केन्द्रको टुंगो लाग्न नसकेको हो । मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने र त्यहाँ दोस्रो चरणमा निर्वाचन गराउने छलफल सरकारले अघि बढाए पनि राजनीतिक सहमति जुट्न सकेको छैन ।
प्रवक्ता शर्माले ६९ जिल्लाको मतदाता नामावली र मतदाता परिचयपत्रको डाटा संकलन गरी छाप्ने काम धमाधम भइरहेको जानकारी दिनुभयो । आयोगले स्थानीय तहमा २१ हजार मतदान केन्द्र हुने अनुमान गरेको छ ।-नरेन्द्र साउद , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget