Websoft University

www.radiomakalu.com || 021-522512


लसुनेमा पर्यटक लोभ्याउन ‘लसुन स्तम्भ’



तेह्रथुम, फागुन २७ गते। तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् ।

पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले रु नौ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन् ।


स्थानीयवासीका अनुसार बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्याति प्राप्त ठाउँमा बस्ती विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको थियो ।

सडकलगायत अन्य पूर्वाधारको विकास भएसँगै लसुने बजारको रुप फेरिँदो छ । पर्यटकको आवागमन पनि बर्षेनि बढिरहेको छ । बजार नजिकको पात्लेपोखरी र चिया बगानका कारण लसुने बजारमा पर्यटकीय आवागमन हुने गरेको स्थानीयवासी पुण्यप्रसाद तिम्सिनाले बताए । यहाँ आउने आन्तरिक पर्यटकले लसुने बजारका बारेमा सोधपुछ गर्ने र अचम्मित हुने गरेकाले पनि उनीहरुलाई प्रस्ट पार्नसमेत लसुन स्तम्भ आवश्यक ठानेर निर्माण गरिएको उहाँले जानकारी दिए ।

“लसुन स्तम्भ हाम्रो पहिचान हो”, तिम्सिनाले भने–“यहाँ आउने पर्यटकलाई पनि स्तम्भले थप मनोरञ्जन दिएर अल्मल्याउने छ भन्ने हाम्रो विश्वास छ ।”

स्तम्भ निर्माण भएपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएर गएको स्थानीयवासी पदमबहादुर नेपालीले बताए । यो बजार भएर पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले, रातपोखरी, पात्लेपोखरी तथा आकर्षक चिया बगान जाने आउनेको सङ्ख्या बर्षेनि बढिरहेको छ ।

लसुने बजारको मुख्य चोकमै लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न प्रयास गरिएको निर्माण समितिका संयोजक धर्मराज खड्काले बताए । स्तम्भ स्थानीयवासी, गाविस र अन्य दाताको सहयोगबाट गरी कुल रु नौलाख सातहजार एकसय ५५ लागतमा निर्माण गरिएको उनले जानकारी दिए।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget