भीमदत्तनगर माघ २१ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार कञ्चनपुरको वाणीस्थित दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले शान्तिसुरक्षा प्रहरीको एक्लो प्रयासले असम्भव रहेको औँल्याए । “अपराधीसित समाजले कहिल्यै पनि सम्झौता गर्न सक्दैन”, प्रहरी महानिरीक्षक अर्यालले भने–“अपराध नियन्त्रणमा बढ्दै गएका चुनौती सामना गर्न नागरिकबाट पनि प्रहरीलाई सहयोग आवश्यक पर्छ ।”

प्रहरीलाई राम्रो बनाउने दायित्व नागरिक समाजको पनि भएको बताउँदै अर्यालले स्थापनाकालदेखि अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी ऐनले तोकेको जिम्मेवारी प्रहरी सङ्गठनले बहन गर्दै आइरहेको बताए । दङ्गा नियन्त्रण गणमा दुई चरणमा निर्माण भएका ब्यारेक, कार्यालय भवन, क्वार्टर गार्ड लगायतका भवन उद्घाटन गरिएका हुन् ।
त्यसैगरी, केही भवन अझै निर्माणाधीन अवस्थामा रहेको दङ्गा प्रहरी नियन्त्रण गणका गणपति प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।-रासस
Post a Comment