Websoft University

www.radiomakalu.com || 021-522512


एमाले नेताहरुले यो वर्षको होली मधेसमै मनाउने



तराईका ३३ शहरमा सभाः ६ भाषामा अपिल

काठमाडौं,माघ १९ गते । प्रमुख विपक्षी नेकपा एमालेले पार्टीको सम्पूर्ण शक्ति तराई मधेसमा केन्द्रित गर्ने कार्य योजना सार्वजनिक गरेको छ । यसक्रममा तराई मधेसको प्रमुख पर्व होली समेत एमालेले मधेसी जनतासँगै मनाउने भएको छ । त्यसबीचमा पर्ने अन्तर्राष्ट्रिय नारी दिवस लगायतका पर्वहरु समेत एमालेले मधेसमै मनाउने भएको हो ।

एमालेले फागुन १४ देखि शुरु गर्न लागेको तराई मधेस केन्दि्रत मेची महाकाली राष्ट्रिय अभियानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि तराई मधेशका २० जिल्लाका सबै सदस्य परिचालन हुनेछन् । दुई साताको अभियानमा २५ लाख जनता परिचालन गर्ने महत्वाकांक्षी लक्ष्य समेत एमालेले सार्वजनिक गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव प्रदिप ज्ञवालीले भने, ‘यो अभियानमा कुनै एकजना पार्टी सदस्य पनि निष्त्रिmय बस्ने छैनन् । जो यो अभियानमा सक्रिय हुदैन,ऊ एमालेमा बस्न सक्दैन ।’

पार्टी अध्यक्ष ओलीको उपस्थितिमा अभियानको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्का सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले दुई साताको अभियानमा एमालेका सबै कमिटी र सबै कार्यकर्ता परिचालन हुने बताए । उनले मधेसी जनताका घर-घरमै एमालेका नेता कार्यकर्ता यसबीचमा पुगेर एमाले बिरुद्ध चलाइएका भ्रम निवारण गर्ने बताए ।

अध्यक्ष ओलीले अरु कुनै निहुँ नपाएपछि एमालेलाई मधेस विरोधी भनेर जबर्जस्ती स्थापित गर्न खोजिए पनि यो अभियानले सत्य के हो भन्ने जनतालाई जानकारी गराउने बताए । यो अभियानले सामाजिक सद्भाव,संविधान कार्यन्वयन, राष्ट्रिय स्वाधीनता र सम्बृद्धिको पक्षमा मधेशी जनतालाई परिचालन गर्ने दावी गरे ।

मधेसी जनताको घरमा ‘होम स्टे’

मधेसमा पार्टी रक्षात्मक अवस्थामा पुगेको बेला एमालेले गर्न लागेको दुई हप्ते अभियान राजमार्ग र राजमार्ग दक्षिण मधेसका जिल्ला सदरमुकाम तथा शहरहरुमा केन्दि्रत हुनेछ । अभियानमा मधेसी मूलका नेताहरु, सांसद, पूर्व सांसद र पूर्व मन्त्रीहरुलाई अनिवार्य सहभागिता गराइने एमालेले जनाएको छ ।

फागुन २१ गते मेचीको काँकडभिट्टाबाट शुरु हुने अभियान चलन्जेल अर्थात दुई सातासम्म ओलीसहित शीर्ष नेताहरु मधेसमै मुकाम बनाएर बस्नेछन् । होम स्टेको शैलीमा नेताहरु मधेसी जनताको घरमा बस्ने एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले बताए ।

को हुने छन् स्थायी टोलीमा ?

मेचीदेखि महाकालीसम्मको दुई हप्ते अभियानमा स्थायी टोली बनेको छ । सो टोलीमा अध्यक्ष अेाली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल रहनेछन् ।

त्यस्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, छबिलाल विश्वकर्मा र सत्यनारायण मण्डल पनि स्थायी टोलीमा हुनेछन् । साथै सो टोलीमा मधेशका केन्द्रीय कमिटी सदस्य, पूर्व केन्द्रीय सदस्यहरु, सांसदहरु, पूर्व सांसद तथा पूर्व मन्त्रीहरु हुनेछन् । यो स्थायी टोली एक हजार जनाको हुने र त्यसमा मेडिकल टिम, सांस्कृतिक टिम र स्वयंसेवक पनि हुनेछन् ।

६ भाषामा अपिल बाँडिने

अभियानका क्रममा एमालेले नेपाली, मैथिली, भोजपुरी, अवधि, थारु र डोट्याल भाषामा अपिल प्रकाशित गरी वितरण गर्ने योजना समेत बनाएको छ । ‘सम्बन्धित भाषा भाषीको बाहुल्य रहेको बस्तीमा सोही भाषाको अपिल बोकेर हाम्रा कार्यकर्ता घर घरमा जानेछन्’ एमाले सचिव ज्ञवालीले भने ।

अभियानको अवधिभर सबै तहका पार्टी कमिटी तथा जनसंगठनहरुले जनताको घर दैलोमा अनिवार्य रुपमा पुगेर उनीहरुले बुझ्ने मातृभाषामा प्रकाशित अपिल बाँड्नेछन् । यस क्रममा पार्टी प्रवेश र रचनात्क क्रियाकलाप हुनेछन् ।

सामाजिक कामका साथै विकास निर्माणका काममा समेत एमाले नेता कार्यकर्ताले अभियानका क्रममा श्रमदान गर्ने एमाले सचिव भट्टराईले बताए । मधेसमा एमालेको सरकारले विनियोजन गरेको बजेट कार्यन्वयनको लागि यहि अभियानमा दबाव दिने र कतिपय आयोजना शिलान्यास तथा उद्घाटन हुनेछन् ।

अभियानका क्रममा राष्ट्रिय झण्डासहित सामाजिक सद्भाव झल्किने विभिन्न सामाग्रीको प्रयोग गरिनेछ । ज्ञवालीले भने, यो एक प्रकारले राजनीतिक भन्दा पनि सामाजिक सांस्कृतिक अभियान हुनेछ । हामीले बिभिन्न संघ संस्थालाई पनि सहभागिताको लागि आग्रह गर्नेछौं ।’

कुन-कुन शहरमा हुँदैछन् ठूला सभा ?

एमालेको मेची महाकाली मधेस अभियानका क्रममा ठूला आमसभा हुने स्थानहरु तय भएका छन् । जस अनुसार प्रदेश नम्बर १ अन्तर्गत काँकडभिट्टा, विर्तामोड, दमक, विराटचोक, इटहरी र इनरुवामा आमसभा हुनेछन् ।

त्यस्तै प्रदेश नम्बर २ को राजविराज, लाहान, सिराहाको गोलबजार, सप्तरीको कञ्चनपुर, धनुषाको जनकपुर, महोत्तरीको बर्दिवास, सर्लाहीको हरिपुर, रौतहटको गरुडा, चन्द्रनिगाहपुर, बाराको जितपुरमा जनसभा हुने एमालेले जनाएको छ ।

प्रदेश नम्बर ३ को हेटौंडा, भण्डारा, भरतपुरमा सभा गरेपछि एमालेका एक हजार स्थायी टोली कावासोती हुँदै प्रदेस नम्बर ५ मा पुग्नेछ । ५ नम्बर प्रदेशका भुमही, भैरहवा, बुटवल, चन्द्रौटा, लमही, घोराही, नेपालगञ्ज, गुलरिया र राजापुरमा ठूला सभा हुनेछन् । यी क्षेत्रमा विशेषतःथारु नेताहरु परिचालित हुनेछन् ।

प्ा्रदेश नम्बर ७ को टिकापुर, लम्की, धनगढी र महेन्द्रनगरमा जनसभा गरेर एमालेको टोली प्रदेश नम्बर ६ को सुर्खेत पुग्नेछ । सुर्खेतमा ठूलो सभा गरेर अभियानको समापन हुने र यस क्रममा तराई मधेसका २५ लाख जनता र ५ लाख कार्यकर्ता परिचालन हुने एमालेको दाबी छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget