
काठमाडौं , माघ २० गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा संलग्न विभिन्न गैरसरकारी संस्थाको कामप्रति तीव्र असन्तुष्टि जनाएको छ ।
प्राधिकरणले निजी आवास निर्माणमा संलग्न विभिन्न गैरसरकारी संस्थाको काम अपारदर्शी र कार्यादेशविपरित भएपछि प्राधिकरणले ती संस्थाका प्रतिनिधिलाई बोलाएर पारदर्शी र जवाफदेहितासहित पुनर्निर्माणको काम अघि बढाउन निर्देशन दिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्दराज पोखरेलले गैरसरकारी संस्थाले गरेको पुनर्निर्माणको काम चित्तबुझ्दो नभएको बताएका थिए ।
प्रभावकारी रुपमा काम नगरेको र कामै नसकी करोडौं रुपैयाँ सकेको जस्ता जनगुनासा आएपछि कार्यालयमा बोलाएर पारदर्शी रुपमा काम अघि बढाउन उनले निर्देशन दिएका हुन् ।
सीइओ पोखरेलले सरकारी निकायसँग समन्वय गरेर मात्र निजी आवास निर्माणको काम थाल्न पनि निर्देशन दिएको प्राधिकरणका सहप्रवक्ता भिष्मराज भुसालले बताए ।
आफुखुसी जथाभावी खर्च नगरी सरकारको कार्यादेश बमोजिम काम गर्न निर्देशन दिएको जानकारी दिए ।
सीइओ पोखरेलले नीतिगत समस्या भए प्राधिकरणले फुकाईदिने प्रतिवद्धता व्यक्त गर्दै आ–आफनो जिम्मेवारीअनुसार निजि आवास निर्माणको काम अघि बढाउन निर्देशन दिएका थिए ।
सो अवसरमा गैरसरकारी संस्थाले हालसम्म गरेको कामको प्रगति समीक्षा भएको थियो ।
प्रगति नभएका र कम प्राथमिकताका क्षेत्रमा छुट्टाइएका रकम समेत निर्माणकर्मी उत्पादन, तालिममा केन्द्रित र नयाँ स्रोत व्यवस्थापन गरी दक्ष जनशक्तिमा ध्यान दिन प्राधिकरणले उनीहरुलाई भनेको छ । पुनर्निर्माणमा १ सय भन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संलग्न छन् । अधिकांश संस्थाको काम प्रभावकारी नदेखिएको जनगुनासो बढेको छ ।
यस्ता गैरसरकारी संस्थाले अपारदर्शी ढंगले जथाभावी खर्च गरेको र सरकारको कार्यादेशलाई उल्लंघन गरेको उजुरी प्राधिकरणमा परेका छन् ।
उनीहरुले घर बनाउन एउटा शीर्षकमा पैसा छुट्याएर अर्कोमा खर्च गरेको प्राधिकरणले जनाएको छ ।
गैरसरकारी संस्थाले सरकारलाई रिपोर्टिङ समेत नगरेको स्रोतले जनाएको छ ।
Post a Comment