Websoft University

www.radiomakalu.com || 021-522512


मोरङ एमालेमा दुई गुटः बहसमा पर्शुराम बस्नेतदेखि राज्यलक्ष्मी गोल्छासम्म


रेग्मी र ढकाल समूहवीच एक अर्कालाई खुइल्याउने होड
mahesh-regmi-and-binod-dhakal-uml-morang
बिराटनगर,पुष २६ गते । गुट बनाउन नपाइने पार्टी स्थायी कमिटीको सर्कुलर विपरीत नेकपा एमालेको मोरङ जिल्ला अधिवेशनमा गुटगत आधारमा प्यानल बनाएर निर्वाचन हुँदैछ । सर्वसम्मतिको प्रयास असफल भएपछि केपी ओली र माधव नेपाल पक्षका अलग प्यानलको चुनाव हुन लागेको हो ।

सोमबार केपी ओलीले उदघाटन गरेको अधिवेशनको बन्दशत्र चलिरहेको छ । मंगलबार उम्मेदवारहरुको मनोनयन दर्ता हुने र बुधबार मतदान हुने एमालेले जनाएको छ ।

निर्वाचन क्षेत्रका हिसाबले काठमाडौंपछि सबैभन्दा ठूलो जिल्ला मानिने मोरङको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका दुवै गुटका नेता मैदानमा सक्रिय छन् ।

नेताहरु आ-आफ्नो गुटलाई जिताउन नेताहरु लागिपरेका छन् । नेपाल पक्षका लालबाबु पण्डितसहितका नेताहरु मैदानमा छन् भने ओली पक्षका गुरु बरालसहितका नेताहरु भिडेका छन् ।

जिल्ला कमिटी अध्यक्षमा ओली गुटबाट पूर्वअध्यक्ष बिनोद ढकाल र नेपाल गुटबाट वर्तमान अध्यक्ष महेश रेग्मी भिड्दैछन् ।

कुन समूहमा को-को ?

दुबै समूहले आफ्नो टीमको पदाधिकारीको अन्तिम टुंगो लगाएका छन् । भूगोल, मधेसी तथा आदिवासी र जनजातिको सम्मानजनक उपस्थितिका लागि टीम मिलाउन कसरतमा जुटेका दुबै समूहले आफ्नो टोलीको नाम सहमतिका साथ जुटाएका छन् ।

विनोद ढकाल पक्षले उपाध्यक्षमा मधेसी नेता रामलाल साहलाई उठाउने भएको छ । साह संविधानसभाको दोश्रो निर्वाचनमा क्षेत्र नं ५ बाट पराजित भएका हुन् ।

सचिवमा वर्तमान सचिव तथा क्षेत्र नम्बर १ का सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाएको छ । महेश रेग्मी पक्षले उपाध्यक्षमा सत्यनारायण चौधरीलाई उठाउने भएको छ ।

रेग्मी समूहले वर्तमान सह-सचिव विद्या चाम्लिङलाई सचिवको उम्मेदवार बनाएको छ । चाम्लिङ जनजाति र महिला हुनुका साथै क्षेत्रगत रुपमा मिलाउन रेग्मी समूहले सचिवमा उठाउन लागेको हो । उनी उर्लाबारीबाट प्रतिनिधित्व गर्छिन् ।

रेग्मी समूहले सह-सचिवमा राजकुमार ओझाको टुंगो लगाएको छ । ढकाल समूहका तर्फबाट सह-सचिवको उम्मेदवार धना तामाङ बनेकी छन् ।

दुवै समूहले पदाधिकारीका उम्मेदवारमा समावेशी अनुहार देखाउन खोजेका छन् ।

९ सय २२ मत मतदाता

क्षेत्रगत आधारमा ८ सय २२ जना प्रतिनिधि, जिल्ला कार्यसमितिका ९१ जना र ९ जना क्षेत्रीय आध्यक्षसमेत गरेर ९ सय २२ जनाले निर्वाचनमा मत खसाल्नेछन् ।

निर्वाचनमा डेढ सय मतको अन्तरमा बिजयी हुने रेग्मी समूहले दाबी गरेको छ । सांसद तथा वर्तमान जिल्ला सचिव ऋषिकेश पोखरेलले ढकाल समूहको आन्तरिक प्रतिवेदन तयार पारेका छन् । यो प्रतिवेदनमा उनले २ सय मतले ढकाल विजयी हुने उल्लेख गरेका छन् ।

ढकाल समूहका बिराटनगर इन्चार्ज एवं जिल्ला सदस्य सागर थापाले पछिल्लो समयमा आˆनो समूहको राम्रो प्रभाव देखिएको दाबी गरे । रेग्मी समूहका नेताले पनि आफ्नो समूह अगाडि रहेको दाबी गरेको छ । रेग्मी पक्षका नेता तथा अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले रेग्मी अध्यक्ष भएको समयमा मोरङमा एमालेको प्रभाव बढेको बताए । उनले दोस्रो संविधानसभा निर्वाचनमा एमालेले ३ सीट जितेको र जिल्लाभर पार्टीको प्रभाव बढेका कारण रेग्मी थप एक कार्यकालका लागि अध्यक्ष बन्ने दाबी गरे ।

एमालेले ३० जना संगठित सदस्य बराबर एकजना प्रतिनिधि र महिला, मुस्लिम, दलितको हकमा १५ जना सदस्य बराबर एक प्रतिनिधिको व्यवस्था गरेको छ ।

मोरङ जिल्ला अधिवेशनबाट कुन पक्षले जित्छ भन्नेमा एमालेका देशैभरिका कार्यकर्तामा चासो छ । तीन वर्षअघिको सातौं अधिवेशनमा पूर्वअध्यक्ष ढकाल वर्तमान अध्यक्ष रेग्मीसँग २१ मतले पराजित भएका थिए । यसपालि उनीहरु दुबै फेरि चुनावी मैदानमा उत्रेका छन् ।

बहसमा राज्यलक्ष्मी गोल्छादेखि पर्शुराम बस्नेतसम्म

ओली गुट र माधव नेपाल गुट दुबै पक्षका नेताहरुले चुनावी प्रतिस्पर्धामा एक अर्कालाई खुइल्याउने अभियान छेडेका छन् । महेस रेग्मी पक्षका एक नेताले बताए अनुसार ओली खेमाका विनोद ढकाल समूहमाथि मुख्यतः तीनवटा आरोपहरु लगाइएको छ ।

पहिलो आरोप राज्यलक्ष्मी गोल्छाबाट पैसा खाएर उनलाई सभासद बनाइएको आरोप छ । सभासद बनेपछि पनि ओली पक्षका युवा संघका नेताहरुले गोल्छामाथि आर्थिक दोहन गरेको रेग्मी पक्षले आरोप लगाएको छ ।

त्यसैगरी एमालेमा पर्शुराम बस्नेत लगायत विभिन्न डन प्रवृत्तिका युवाहरुलाई संरक्षण गरेको र एमालेलाई गुण्डाहरुको पार्टी बनाएको आरोप रेग्मी पक्षले ढकाल पक्षमाथि लगाएको छ । रेग्मी पक्षका एक नेताले अनलाइनखबरस्ँग भने- ‘एमालेलाई कस्तो पार्टी बनाउने ? कसको पार्टी बनाउने ? ढकालजीहरुले पहिले पनि डनहरुलाई संरक्षण गर्नुभयो । र, अहिले पनि उहाँ सुध्रिनुभएको छैन, पर्शुराम बस्नेतहरुलाई बोकेर हिँडिरहनुभएको छ ।’

त्यसैगरी पार्टीका पूर्वअध्यक्ष विनोद ढकालले उनी अध्यक्ष भएका बेला एमालेलाई मोरङमा शून्य सीट दिलाएको विषयलाई पनि रेग्मी पक्षले चुनावी एजेण्डा बनाएको एक नेताले बताए ।

उनले भने- ‘ओली गुटका साथीहरुले मोरङमा पार्टीको नेतृत्व सम्हालेका बेला ९ सीटमा शुन्य सीट हात परेको थियो, महेश रेग्मी अध्यक्ष बनेपछि एमालेले तीन सीटमा जीत हात पारेको छ र अहिले पार्टी जिल्लामा पहिलो दल बनेको छ ।’

बराल हारेको दोष रेग्मीमाथि

उता केपी ओली पक्षको विनोद ढकाल समूहले माधव नेपाल समूहका महेश रेग्मीमाथि मोरङमा दुईवटा चुनाव क्षेत्रमा जीत दिलाउन नसकेको आरोप लगाएको छ ।

मोरङ क्षेत्र नम्बर ३ र ९ मा संविधान सभा निर्वाचन जित्न सक्ने सम्भावना हुँदाहुँदै पनि रेग्मीले व्यवस्थापन गर्न नसकेका कारण हार व्यहोर्नुपरेको ढकाल पक्षको आरोप छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ओली गुटका नेता गुरु बराल क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिलिप गच्छदारसँग हारेका थिए । बराललाई हराउने गच्छदार यतिबेला श्रम राज्यमन्त्री छन् । बराल भने मोरङमा पटक-पटक चुनाव हार्दै आएका छन् ।

त्यसैगरी एमालेको राम्रो पडक रहेको मानिने मोरङको क्षेत्र नं ९ मा केपी ओली गुटकै घनश्याम खतिवडा नेपाली कांग्रेसका डिकबहादुर लिम्बुसँग दोस्रो संविधानसभामा हारेका थिए । माओवादीका वर्षमान पुन पनि सोही क्षेत्रमा चुनाव लडेका थिए र उनी तेस्रो बनेका थिए ।

दोस्रो संविधानसभामा मोरङका ९वटा निर्वाचन क्षेत्रमध्ये एमालेले तीन सीटमा जितेको थियो । यीमध्ये १ नम्बर क्षेत्रका सांसद ऋषि कट्टेल ओली पक्षका हुन् । क्षेत्र नं २ का चण्डी राई र क्षेत्र नं ८ का सांसद चन्द्रबहादुर गुरुङ माधव नेपाल पक्षका हुन् ।

ढकाल पक्षका एक नेताका अनुसार चार वर्षसम्म सक्रिय जिम्मेवारी नपाएका विनोद ढकालले यसपटकको निर्वाचनमा घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् । केन्द्रीय नेतृत्वको सम्भावना हुँदाहुँदै पनि उनलाई अवसरबाट बञ्चित गरिएको ढकाल पक्षको तर्क छ । त्यसैले आफूप्रति सहानुभूतिको मत आउने सो समूहको आश छ ।

अघिल्लोपटक सञ्चार माध्यमबाट विभिन्न ‘आर्थिक मामिला’ र ‘केटा परिचालन’ गरेको आरोप खेप्नुपरेका ढकाल यसपटक त्यो आरोपबाट मुक्तभइसकेको दाबी गर्छन् ढकाल समूहका नेताहरु । तैपनि यो अधिवेशनमा ढकालको समर्थनमा युवा संघका सचिव पर्शुराम बस्नेतले युवाहरु परिचालन गरिरहेका छन् ।

बस्नेतलाई एमालेभित्रैका नेताहरुले ‘डन’ का नेता भन्ने गरेका छन् । र, बस्नेतले एमालेलाई बदनाम बनाएको उनीहरुको गुनासो छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget