काठमाडौं, पुस २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन बिद्येयकलाई अघि बढाउने बिषयमा सहयात्री कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्रीले आजै दिउँसो तीन बजे माओवादी केन्द्रका नेतासहित नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुसग छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।
संविधान संशोधनवारे सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशपछि संशोधन बिद्येयकलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार कंग्रेससहित मोर्चाको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा संविधान संशोधन बिद्येयक, निर्वाचन लगायतका बिषयमा कुराकानी हुने छ । संविधान संशोधन बिद्येयक पारित गराउन पहल गर्ने निर्णय गरेको मधेसी मोर्चाले एमालेको समेत समर्थन जुटाउन बैठकमार्फत सत्तारुढ दललाई दवाव दिने जनाएको छ ।
एमालेले संशोधन बिद्येयक फिर्ता लिन आग्रह गरेपनि सत्तारुढ दल र मोर्चाले त्यसलाई पारित गराउन अन्य दलको समर्थन जुटाउने प्रयास थालेका छन् ।
प्रदेश सिमाकंनका लागी प्रदेशसभाको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थालाई पालना गर्न सर्वोच्च अदालतले दलहरुको ध्यानाकर्षण गराएपछि मधेसी मोर्चाले भने सो सम्बन्धी धारा नै संशोधन गर्न सत्तारुढ दलहरुलाई दवाव दिने तयारी थालेको छ ।- रातोपाटी
Post a Comment