Websoft University

www.radiomakalu.com || 021-522512


अर्को वर्ष पूरा होला ४५ वर्ष पुरानो मेलम्ची सपना ?



काठमाडौं , माघ १६ गते । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौं उपत्यकामा पिउने पानी आपूर्ति गर्ने योजना बनेको ४५ भयो । भनिन्छ, ‘१२ वर्षपछि त खोला पनि फर्किन्छ’ । तर, त्यस्ता १२ वर्ष ४ वटा बित्न लागिसके पनि राजधानीबासीले मेलम्चीको पानीको स्वाद कस्तो हुन्छ, थाहा पाउन सकेका छैनन् ।
काठमाडौं उपत्यकामा सहरीकरण बढ्दै जाने, जनसंख्या थपिँदै जाने तर वरपरका पानीका स्रोतले नभ्याउने भएपछि तत्कालीन सरकारले परामर्शदाता नियुक्त गरेर मेलम्चीबाट राजधानीमा खानेपानी ल्याउने योजना अघि सारेको थियो ।

सन् १९७२ मा बेन्नी पार्टनरले मेलम्चीबाट पानी ल्याउन ‘मास्टर प्लान अफ दी वाटर सप्लाइ सेभरेज अफ दि ग्रेटर काठमाडौं एन्ड भक्तपुर’ प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले पनि २५ वर्षअघि मेलम्चीको पानी ल्याएर काठमाडौं पखालिदिने सपना बाँडेका थिए ।
प्रतिवेदन तयार भएको ४५ वर्ष र पूर्वप्रधानमन्त्री भट्टराईले सपना देखाएको २५ वर्षपछि बल्ल मेलम्चीको पानी पिउने राजधानीबासीको सपना पूरा हुने सम्भावना देखिएको छ ।

अहिले काठमाडौंको सडकमा मेलम्ची खानेपानीको लागि पाइप विच्छ्याउने काम भइरहेको छ ।
परामर्शदाताले प्रतिवेदन बुझाए पनि लामो समय त्यो दराजमा थन्किएर बसेको थियो ।

भट्टराईको सो भनाइलाई लामो समय हाँसोको रूपमा उडाइयो । अब भने यो यथार्थमा बदलिँदैछ । अबको एक वर्षभित्रमा मेलम्चीको पानी ल्याइपुर्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । योजनाअनुसार काम भए अर्को वर्षदेखि मेलम्चीबाट दैनिक साढे १७ करोड लिटर पानी आपूर्ति हुनेछ ।
बेन्नी पार्टनरले प्रतिवेदन बुझाएको २८ वर्षपछि अर्थात् सन् २००१ देखि मेलम्ची आयोजनाको काम सुरु भएको थियो । विभिन्न आरोह अवरोहका बीच एसियाली विकास बैंक (एडीबी) को नेतृत्वदायी सहयोगमा आयोजनाको काम सुरु भएको हो ।

सुरुमा आयोजना सन् २००४ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, ठेकेदारले काम नगर्ने, ठेक्का तोडिनेलगायत विभिन्न कारणले गर्दा आयोजनाको म्याद पटक–पटक थपिँदै आयो ।
चाइना रेल्वे १५ ब्युरो कर्पोरेसनसँग ठेक्का तोडिएपछि अहिले इटालियन कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढिरहेको छ ।

इटालियन कम्पनीले पनि निर्धारित समयमा काम सम्पन्न नगर्दा आयोजना केही समय पछि धकेलिएको छ । अब भने आगामी वर्षभित्र सम्पन्न हुने लगभग निश्चित भएको छ ।
आयोजनाको पहिलो चरणअन्तर्गत साढे २७ किलोमिटर लामो सुरुङ खन्ने, सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण र उपत्यकामा पानी वितरणको आवश्यक पूर्वाधार विस्तारको योजना छ ।

हाल सुरुङ खन्नेदेखि, प्रशोधन केन्द्र निर्माण र खानेपानी पाइपलाइन विस्तारको काम अघि बढिरहेको मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।

मेलम्चीमा २४ करोड ९४ लाख डलर खर्च हुने देखिएको छ, जसअनुसार एडीबीको १३ करोड ७० लाख ऋण सहयोग छ । मेलम्चीमा एडीबीको ४१.६२ प्रतिशत सहयोग छ ।

यस्तै, जापान बैंक फर इन्टरनेसनल कोअपरेसनको ४ करोड ७५ लाख, एनडीएफको १ करोड ५ लाख, ओपेकको १ करोड ३७ लाख र सरकारको ७ करोड ३९ लाख डलर छ । यसमध्ये सरकारको लगानी हिस्सा २९ प्रतिशत बढी छ ।

मेलम्चीदेखि राजधानीको सुन्दरीजलसम्म साढे २७ किलोमिटर लामो सुरुङमध्ये साढे २३ किलोमिटर सम्पन्न भएको छ । सुन्दरीजल–सिन्धुको साढे ९ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ ।

समितिका अनुसार यो समेत गरी अब आयोजनाको सुरुङ खन्ने काम साढे ४ किलोमिटरमात्र बाँकी छ । आगामी असोजभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने समितिको योजना छ ।

आगामी असारसम्ममा मेलम्चीको रिवर्मादेखि सुन्दरीजलसम्म सुरुङको काम सम्पन्न गरी दसैंअगावै यसको तयारी, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल जडान सम्पन्न गर्ने लक्ष्य लिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराई बताउँछन् ।

असोजसम्ममा डिसिन्टिङ वेसिन निर्माण सम्पन्न नभए पनि डीआई पाइपको वाइपास निर्माण गरी पानी पथान्तरणको वैकल्पिक उपाय कार्यान्वयन गरी असोजभित्र उपत्यकामा पानि वितरण गर्ने तयारी समितिको छ ।

आयोजनाअन्तर्गत सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको पहिलो भागको परीक्षण गरी असारसम्म सञ्चालनमा ल्याइने, आगामी ०७४÷०७५ सम्म पानी प्रशोधन केन्द्रको क्षमता विस्तार सकिनेछ ।

काठमाडौं उपत्यकामा थप पानी ल्याउन मेलम्चीको रिवर्मादेखि ११ किलोमिटर लामो सुरुङ खनेर याङ्ग्री र लार्केखोलाबाट १७ करोड लिटरका दरले थप ३४ करोड लिटर पानी आपूर्ति बढाउने योजना छ ।

योसमेत गरी ९ महिना उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुनेछ । सुख्खायामको ३ महिनामा मेलम्चीबाट १७ करोड लिटरमात्र पानी आपूर्ति हुनेछ ।

आयोजनाको अनुमानित कुल लागत २३ अर्ब ४५ करोड ८६ लाख रुपैयाँमध्ये हालसम्म साढे १९ अर्ब रुपैयाँ खर्च भएको छ । भौतिक प्रगति ८५ प्रतिशत सकिएको र साढे १४ प्रतिशत पूरा गर्न बाँकी छ ।

मेलम्चीको दोस्रो उप–आयोजना अन्तर्गत उपत्यकामा खानेपानी सुधारका लागि पाइप बिछ्याउने काम जारी छ । याङग्री र लार्केको पानी राजधानीमा ल्याउनका लागि समितिले सम्भाव्यता अध्ययन थालेको छ । यी दुई खोलाबाट पानी थप भएपछि आपूर्ति बढेर दैनिक ५१ करोड लिटर पानी पुग्नेछ ।

पछिल्लो समयमा सिन्धु खण्डमा कमजोर भूगर्भका कारण सुरुङ खन्ने काममा ढिलाइ भइरहेको भट्टराई बताउँछन् । माटो खस्ने र सुख्खा पहिरो जानाले आयोजनाको काम प्रभावित भएको हो ।

यसको व्यवस्थापनका लागि ठेकेदारले काम गरिरहेको उनको भनाइ छ । “जमिन नै कमजोर देखिएको छ,” उनले भने, “यसलाई व्यवस्थापन गर्न हामी लागिरहेका छौं ।” - बाबुराम खड़का , बाह्रखरी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget