Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी महानिरीक्षकको दिनगन्ती शुरु, आइजीपी बन्ने अन्तिम कसरतमा चार डीआइजी


4-dig-nepal-police
काठमाडौं,माघ १० गते । ०६२/६३ को आन्दोलनपछि सबैभन्दा लामो समय नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाएका उपेन्द्रकान्त अर्याल आगामी फागुन २ गते घर जाँदै छन् । अवकाशको एक महिनाअघि विवाद बस्ने परम्परा भए पनि अर्याल विदा बसेका छैनन् ।

करिब ३९ महिना नेपाल प्रहरीको नेतृत्व सम्हालेका अर्यालले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । आइजीपी अर्यालले अवकाश पाउन २० दिन मात्रै बाँकी हुँदा अब नेपाल प्रहरीको कमाण्ड कसले सम्हाल्ला भन्ने सबैको चासोको विषय बनिरहेको छ ।



नियम अनुसार नेपाल सरकारले एआइजी मध्येबाट आइजीपी बनाउनुपर्ने भए पनि उपेन्द्रकान्तसँग एउटै ब्याचका एआइजीहरु भएकाले अर्यालसँगै सबै एआइजी घरजाने अवस्था छ । र, यसको सोझो फाइदा डीआइजीहरुलाई हुनेछ । हाल नेपाल प्रहरीमा हाल प्राविधिकतर्फ बाहेक २७ जना डीआइजी छन् । अब यिनै डीआइमध्येबाट आइजीपी बन्ने सम्भावना देखिन्छ ।

एआइजी नभए डीआइजीमध्ये उत्कृष्टलाई आइजीपी बनाउन सक्ने नियमावलीमा व्यवस्था छ । यसैवीच अहिले नेपाल प्रहरीको नेतृत्व सम्हाल्न चार डीआइजीवीच प्रतिस्पर्धा चलिरहेको छ ।

डीआइजीको रोलक्रममा एक नम्बरमा रहेका नवराज सिलवाल, दुई नम्बरमा रहेका प्रकाश अर्याल, तीन नम्बरमा रहेका जयबहादुर चन्द र चार नम्बरमा रहेका बमबहादुर भण्डारी आगामी आइजीपीको प्रतिस्पर्धामा छन् ।

कसले मार्ला बाजी ?

हाल केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्व सम्हालिरहेका नवराज सिलवाल वरियताको एक नम्बरमा रहेका डीआइजी हुन् । ४४ सालमा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका सिलवाल, अर्याल, चन्द र भण्डारी एउटै ब्याजी हुन् ।

चारैजना ०६९ सालमा डीआइजीमा बढुवा भएका थिए । सँगै बढुवा भएकै कारण चारैजनालाई भावी आइजीपीको प्रतिस्पर्धीका रुपमा हेरिएको छ । चार जनामध्ये एक नम्बरमा रहेका नवराज सिलवाल सबैभन्दा बढी दाबेदारका रुपमा देखिएका छन् ।

विषेश गरेर अध्ययनशिल मानिएका डीआइजी सिलवाल प्रहरीभित्र स्वच्छ छवि बनाएका अधिकृत पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनपछि काठमाडौं परिसरको नेतृत्व सम्हालेपछि सिलवालको चर्चा भएको थियो ।

प्रचण्ड प्रधानमन्त्री भएकै समयमा काठमाडौंमा वाइसीएलको दबदबा थियो । तर, उनले २२ वटा क्याम्प हटाउने गराउनेदेखि रातभर चल्ने नांगो डान्ससमेत बन्द गराएपछि सिलवालको चर्चा भएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रमुख हुँदै उनी एसएसपीमा बढुवा भएका थिए । एसएसपी भइपछि उनले पहिलोपटक जनकपुर अञ्चलको कमाण्ड सम्हाले । मधेस आन्दोलनपछि जनकपुर अञ्चलको नेतृत्व सम्हालेका सिलवालले सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डको अनुसन्धान गरेका थिए ।

जनकपुरबाट उनी लागुऔषध नियन्त्रण ब्युरोमा सरुवा भए । लागुऔषध ब्युरोमा पहिलो पटक नेपालमा विश्वकै सबैभन्दा महंगो लागुऔषध कोकिन बरामद गरेपछि सिलवाल थप चर्चित भए । काठमाडौंमा चरेसको कारखाना चलाएर बसेका देवेन्द्र छापालीलाई उनकै पालामा कार्वाहीको दायरामा ल्याइएको थियो ।

ब्युरोमा हुँदै सिलवाल डीआइजीमा बढुवा भए । उनीसँगै प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी पनि सँगै बढुवा भए । ०६९ सालमा डीआइजीमा बढुवा भएका सिलवाललाई ०७० सालमा दोस्रो पटक संविधानसभाको निर्वाचन गराउन पूर्वक्षेत्रको कमाण्ड सम्हाल्न पठाइएको थियो ।

सँगै बढुवा भएका चारजना मध्ये सिलवालले मात्रै संविधानसभाको निर्वाचनमा जिम्मेवारी पाएका थिए ।

पछिल्लो समय सीआइबीको नेतृत्व सम्हालेपछि नक्कली प्रमाणपत्रधारी डाक्टरदेखि पाइलटसम्मलाई कार्वाहीको दायरामा ल्याएका सिलवालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ किलो सुन बरामद गरेपछि उनको थप चर्चा चलेको छ ।

अर्याल र चन्द सिलवलाका प्रतिस्पर्धी

सिलवालसँगै आइजीपीको प्रतिस्पर्धामा रहेका प्रकाश अर्याल हाल ट्राफिक महाशाखामा छन् । डीआइजी अर्यालले एसपी हँदा रुपन्देही जिल्लाको नेतृत्व सम्हालेका थिए । त्यहाँबाट एसएसपी भएर लुम्बिनी अञ्चल प्रमुख भएका थिए ।

उनी पनि सिलवालसँगै ०६९ सालमा डीआइजीमा बढुवा भए । डीआइजी भएलगत्तै सीआइबीको नेतृत्व सम्हाल्न पुगे ।

बढुवालगत्तै इञ्चार्ज पाउने उनी कम अधिकृतमध्ये पर्छन् । एसपी र एसएसपी हुँदा खासै चर्चामा नरहे पनि अर्याललाई सीआइबीमा एउटा सफलता हात लाग्यो ।

उनले पहिलोपटक अवैधरुपमा तस्करी भैरहेको ३५ किलो सुन बरामद गरे । तर, सुराकी बापतको कमिसनमा पनि आँखा लगाएको भन्दै अर्याललाई लोकमानसिंह कार्कीका मानिसहरुले फसाएपछि अर्याल विवादमा मुछिए । अर्यालले ३५ किलो सुन समातेको विषयलाई छायाँमा पारियो र उनले परिचालन गरेका सुराकीका विषयमा स्याल हुइँया मच्चाइयो, जसले गर्दा सुन तस्करहरु जोगिए ।

सीआइबीबाट मध्य क्षेत्र पुगेका डीआइजी अर्याल हाल ट्राफिक महाशाखामा कार्यरत छन् । उनी प्रशासनिक काममा बढी दख्खल राख्छन् ।

आइजीपीका अर्का प्रतिस्पर्धी जयबहादुर चन्द द्वन्द्वकालमा सबैभन्दा बढी उपत्यका बाहिर बस्ने अधिकृत हुन् । पछिल्लो समय औषधि उत्पादन कम्पनीको नाममा ल्याइएको रसायन एवं लागुऔषध तस्करीलाई सप्लाई गरेको भन्दै पवन संघाइको उद्योगमा छापा मारेपछि चन्द चर्चामा आए । चन्द पनि अहिले आइजीपीको होडमा छन् ।

सालीन भण्डारी पनि प्रतिस्पर्धामा

आइजीपीको प्रतिस्पर्धामा रहेका मध्ये अर्का डीआइजी हुन् बमबहादुर भण्डारी । डीआइजी भण्डारी उनका ब्याजीमध्ये खासै चर्चामा नरहेका अधिकृत हुन् ।

संगठनभित्र निकै शालीन मानिएका भण्डारी फिल्डमा भन्दा अनुसन्धानमा दख्खल राख्ने अधिकृत हुन् । त्यसैले उनी पोशकमा कमै मात्रामा खटिएका छन् ।

भण्डारीले एसएसपी हुँदा, लुम्बिनी अञ्चल, डीआइजी भएपछि पश्चिम क्षेत्रको कमाण्ड सम्हालेका हुन् । त्यसबाहेक उनी लामो समय लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रधान कार्यालयमा रहेको विषेश ब्युरोमा कार्यरत रहे । हाल पनि भण्डारी विषेश ब्युरोमै छन् ।-रमेश धमला,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget