पोखरा, माघ ९ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताउनुभएको छ ।

पहाड एवम् तराईलाई छुट्याउने, राष्ट्रिय एकता एवम् राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउँदै उहाँले त्यसबाट देशलाई जोगाउन एमाले सक्रियताका साथ लागेको धारणा राख्नुभयो ।
संविधानको कार्यान्वयनका लागि देशमा निर्वाचन हुनुपर्ने भए पनि वर्तमान सरकारले यस विषयलाई आफ्नो प्राथमिकतामा नराखी अन्य कुरामा अल्मलिएको अध्यक्ष ओलीको भनाइ थियो ।
देशका विद्यमान चुनौतीलाई पार लगाउने शक्ति एमालेमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
सो अवसरमा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिवर्तनको मोडमा देश बढिरहेको बताउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।
राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानलाई कमजोर बनाउने षड्यन्त्रस्वरुप जातीय, धार्मिकलगायतका विषयलाई उछाल्ने प्रयास भएको बताउँदै उहाँले त्यस्ता षड्यन्त्रबाट प्रभावित नबन्न पनि कार्यकतालाई आग्रह गर्नुभयो ।
एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले गुट उपगुटबाट माथि उठेर पार्टीलाई आगामी दिनमा अझै सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।
युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले आन्दोलनका उपलब्धि संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् पार्टीका मोर्चा सङ्गठन संयोजक गोकर्ण विष्टले तीनदिने भेला एवम् प्रशिक्षण कार्यक्रममा मोर्चाअन्तर्गतका विभिन्न २० वटा सङ्गठनका पदाधिकारी गरी करिब ४०० जनाको सहभागिता रहेको जानकारी दिनुभयो । रासस
Post a Comment