भोजपुर मङ्सिर ८ गते । लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको महसुस भएको छ । घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किएका अनि पुराना र छियाछिया भएका छन् । अधिकांश कच्ची घर भएको भोजपुर सदरमुकाम भूकम्पले थिलथिलो र आगलागीले ध्वस्त भएपछि सदरमुकाम नै जोखिममा परेको हो ।

भोजपुरबजार चर्चित र पुरानो भएपनि यहाँ औँलामा गन्न सकिने सीमित घर मात्र पक्की बनेका छन् । सदरमुकाममा कच्ची र पुराना घरको बाहुल्यता हुँदा धेरै मात्रामा क्षति पुगेको हो ।
वरिपरि र चारैतिर रहेका घर आगलागी हुँदा सदरमुकाम दिनानुदिन जोखिममा पर्दै जान थालेको छ । दुईतिर घर हुँदा साँघुरो बाटो रहेको भोजपुरमा हिँड्डुल गर्नमा नै समस्या हुन थालेको छ ।
यही ठाउँ हुँदै दिनहुँ बटुवा तथा सयौँ विद्यार्थी ओहोरदोहोर गर्ने गर्दछन् । जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याङ्कमा आइतबार भएको भीषण आगलागीबाट आठ घर जलेर नष्ट भएको छ भने पाँच घरमा आंशिक क्षति पुगेको छ ।-रासस
Post a Comment