
काठमाडौँ, मङ्सिर ८ गते । उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रतिस्पर्धी वैदेशिक लगानीका लागि नेपालले उदार नीति अवलम्बन गरेको भन्दै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।भियनामा सुरु भएको संयुक्त राष्ट्रसङ्घको उद्योग विकास सङ्गठन युनिडोको औद्योगिक विकास बोर्डको ४४औँ सत्रलाई सम्बोधन गर्दै उहाँले अर्थपूर्ण वैदेशिक लगानीमा सहकार्यमार्फत नेपालमा प्रविधि भित्र्याउन चाहेको स्पष्ट पार्नुभयो ।
गतवर्ष नेपालमा जारी संविधानले संवैधानिक स्वतन्त्रता, मानव अधिकार, समावेशी समाजलाई सुनिश्चितता गरेको भन्दै उहाँले राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धि र औद्योगिकीकरणमार्फत द्रुतगतिमा दिगो आर्थिक विकासका लागि अगाडि बढ्ने बताउनुभयो ।मन्त्री जोशीले नेपालजस्ता मुलुकले पर्यटन, साना तथा मझौला उद्यमशीलता र विश्वमा बजारीकरणका लागि दिगो विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरित विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोग, उत्पादकत्व र बजार व्यवस्थापनजस्ता चुनौती रहेको बताउनुभयो ।
नेपालजस्ता अतिकम विकसित मुलुकमा विकासका अपार सम्भावना रहेको भन्दै मन्त्री जोशीले सन् २०३० सम्मको दिगो विकाससम्बन्धी मुद्दामा कुनै पनि मुलुक पछि पर्न नहुने बताउनुभयो । उहाँले दिगो औद्योगिकीकरणका लागि ऊर्जा र पूर्वाधारमा लगानी, निरन्तर मानव स्रोतसाधनको विकास र क्षमता अभिवृद्धि तथा प्रविधि र सिर्जनशीलता पूर्वसर्त भएकामा जोड दिनुभयो ।
साना मुलुकको आर्थिक प्रणालीमा संरचनात्मक परिवर्तन ल्याउन उनीहरुले सामना गर्नु परेका आन्तरिक तथा बाह्य जोखिम र आर्थिक अवरोधजस्ता कमजोरीलाई निराकरण गर्दै लैजानुपर्नेमा मन्त्री जोशीको जोड थियो ।
आर्थिक तथा सामाजिक क्षेत्रको रुपान्तरणका लागि पनि साना मुलुकले दिगो शान्ति र औद्योगिक रुपान्तरणमा ध्यान दिनुपर्ने बताउँदै उहाँले त्यसका लागि औद्योगिक मुलुकबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
मन्त्री जोशी अस्ट्रियाको भियनामा मङ्लबारदेखि सुरु भएको युनिडोको ५०औँ वार्षिकोत्सवमा भाग लिइरहनुभएको छ । रासस
Post a Comment