Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारीको एक वर्ष : संविधान कार्यान्वयन र सन्तुलित सम्बन्धमा जोड


Bidya-Devi-Bhandari

काठमाडौँ, कात्तिक १२ गते । गणतन्त्र नेपालका दोस्रो तथा मुलुकका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको एक वर्ष पूरा भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो पदमा रहेर खेल्नुभएको भूमिका र राष्ट्रपतीय संस्थाको संस्थागत विकासमा वर्तमान राष्ट्रपति भण्डारीले निरन्तरता दिनुभएको छ । उहाँले गत कात्तिक १३ मा पदभार सम्हाल्नुभएको थियो ।
संविधानले राष्ट्रपतिलाई संवैधानिक मानेको छ भने संविधानको अभिभावक र रक्षकका रूपमा पनि सो पदलाई लिइन्छ । राष्ट्रपतिले गर्ने निर्णय वा काम मन्त्रिपरिषद्को सिफारिसमा हुने भएकाले सो पदलाई विवादमुक्त र गरिमायुक्त बनाउन सरकार, दल र सबै पक्षले प्रयत्न गर्दै आएका छन् ।
राष्ट्रपति भण्डारी महिला भएकाले पनि उहाँ मुलुकको पहिलो राष्ट्रपति हुँदा उहाँको थप चर्चा भयो । वाम–लोकतान्त्रिक आन्दोलनमा उहाँले विगतमा दिएको योगदान र राजनीतिक दलमा रहेर बोकेको अनुभवले पनि उहाँलाई सो जिम्मेवारी सम्हाल्न मद्दत गरेको हुनसक्छ । ‘जनताको बहुदलीय जनवाद’का प्रणेता जननेता मदन भण्डारीकी धर्मपत्नी भएकाले उहाँलाई राष्ट्रपति हुनुअघि नै आदर्शवान् र सङ्घर्षवान् नेत्रीका रूपमा लिइन्थ्यो ।
नयाँ संविधानको व्यवस्थाबमोजिम व्यवस्थापिका–संसद्मा वि.सं. २०७२ कात्तिक ११ गते भएको राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्नुभएका भण्डारी ३२७ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले २१४ मत प्राप्त गर्नुभएको थियो । वि.सं. २०७२ असोज ३ मा संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा निर्वाचन भएको थियो । प्रमुख दलबीच सहमतिमा आएको संविधानपछिको सत्ता गठबन्धनमा भने सहमति हुन नसक्दा राष्ट्रपतिको निर्वाचनमा पनि मतदान भएको थियो, जहाँ संसद्को ठूलो दल काँग्रेस प्रमुख प्रतिपक्षी थियो ।
राष्ट्रपति भण्डारीले यसबीचमा दुई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालाई शपथ गराइसक्नुभएको छ भने संसद्बाट पारित विभिन्न विधेयकमा संविधानबमोजिम प्रमाणीकरण गर्नुभएको छ । दलबीचको सहमतिको यात्रा, संविधानको कार्यान्वयन, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, मुलुकको आर्थिक–सामाजिक विकास, प्राकृतिक विपद्जस्ता विषयमा उहाँले चासो दिँदै आउनुभएको छ । राजनीतिमा महिला सहभागिता र जागरण ल्याउन तथा संविधानमा हरेक निकायमा ३३ प्रतिशत महिला आरक्षणका लागि निरन्तर अगुवाइ गर्नुभएका उहाँले राष्ट्रप्रमुख भएपछि पनि सो भावनालाई पछ्याइरहनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताउनुभयो ।
स्वदेशभित्रका करिब १५० सार्वजनिक कार्यक्रममा सहभागी भई राष्ट्रपति भण्डारीले विशेषतः समाजमा पछाडि पारिएका समुदायका कार्यक्रम र समाजसेवालाई प्राथमिकता दिँदै आउनुभएको छ । यस्तै विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय भ्रमणमा पनि उहाँ जाने गर्नुभएको छ । बालबालिकासँग पनि उहाँले छलफल गर्नुभएको छ ।
राष्ट्रपतिका औपचारिक कार्यक्रम बढी त भएनन् भन्ने प्रश्नमा शर्माले भन्नुभयो, “महिला, बालबालिका, अपाङ्गता, साहित्य, शिक्षा, कला, पत्रकारिता, बालबालिका, वृद्धवृद्धाका कार्यक्रमलाई बढी प्राथमिकता दिइएको छ, त्यसले ती क्षेत्रमा प्रोत्साहन मिलेको अनुभव भएको छ । ” शर्माले सत्ता परिवर्तनका समयमा राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजिए पनि उहाँले आफ्नो भूमिकालाई ख्याल गरी विवादमा नआएर सरल र संवैधानिक तरिकाबाट सत्ता हस्तान्तरण गराउन सहजीकरण गर्नुभएको स्मरण गर्नुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget