चितवन, भदौ २४ गते। चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले परीक्षण निःशुल्क गर्न थालिएको हो ।

जिल्लामा पहिलोपटक यही वर्ष स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । चितवन मेडिकल कलेजले सुरुमा निजी रुपमा करिब रु दुई हजार ५०० लिएर रोगको परीक्षण गर्दै आएको थियो । पछि भरतपुर अस्पतालले रु एक हजारमा परीक्षण थालेको थियो ।
अहिले अस्पतालमा सरकारी तवरबाट किट उपलब्ध भएकाले निःशुल्क परीक्षण हुन थालेको हो । ‘किट आएको छ, केही सेवा शुल्क लिएर परीक्षण हुन्छ.’ सरकारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासैनीले भने
चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालले यसको परीक्षण गर्दै आएको छ ।
वैशाखयता जिल्लामा कुल ४७३ जना बिरामीको नमुना परीक्षणमा १८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
उनका अनुसार यही भदौ १३ देखि अहिलेसम्म २७ जना नयाँ बिरामी फेला परेका छन् । १३ गतेसम्म कुल ४०३ जनाको परीक्षणका क्रममा १६२ जनामा सङ्क्रमण भएको थियो ।
उक्त रोगका कारण यो वर्ष चितवनमा दुईजनाको ज्यान गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले सङ्क्रमण दरमा कमी आएको बताए ।
नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण छजनाको ज्यान गइसकेको छ । नेपालमै सबैभन्दा बढी चितवनमा यो रोग फैलिएको छ । मुसामा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा यो रोग लाग्छ । विशेषगरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्ने गर्छ ।
गएको वर्षबाट नेपालमा आधिकारिक पुष्टि भएको यो नयाँ रोग स्क्रब टाइफस चितवनमा भने यही वर्ष देखिएको हो ।-रासस
Post a Comment