काठमाडौं, भदौ २३ गते। सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न सो रोगविरुद्धको खोप कार्यक्रमको दोस्रो चरण विहीबारदेखि सुरु गरेको छ ।
गत वर्षको फागुन १६ गते कास्की र चितवनमा खोप कार्यक्रम सुरु गरिएको थियो ।छ महिनाको अन्तरमा दुई चरणसम्म दिइने खोपको दोस्रोचरण आजदेखि सुरु गरिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिए।
प्रथम चरणमा विद्यालयमा जाने कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका १५ हजार किशोरीलाई खोप दिइएको थियो ।
प्रमुख गौतमका अनुसार गत वर्ष लगाएकालाई दोस्रो चरणको र अहिले कक्षा ६ मा अध्ययनरत र १० वर्षका किशोरीलाई पहिलो चरणको खोप दिइन लागिएको छ ।
उनले भने, ‘हामीले परीक्षणस्वरुप दुई जिल्लामा खोप कार्यक्रम सुरु गरेका छौँ । बाँकी जिल्लामा यस कार्यक्रमको प्रभावकारिता हेरी सुरु गरिनेछ ।’
निःशुल्करुपमा दिइने यो खोपको मूल्य दुई चरणको गरी २० हजार रूपैयाँ पर्न आउने गौतमको भनाइ छ ।
विहीवारदेखि विद्यालयमा जाने किशोरीलाई विद्यालयमा पुगेर खोप दिनुपर्ने र नजाने किशोरीलाई नजिकको स्वास्थ्य केन्द्रमा पुगेर खोप दिने भएकाले कार्यक्रम सञ्चालन गर्न कठिन भएको र दुई जिल्लाको परिणाम हेरेर मात्रै बाँकी जिल्लामा कार्यक्रम लैजाने सरकारको तयारी छ ।
गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘खोप कार्यक्रम र महिलाको कार्यक्रमलाई सँगै लैजाने तयारी गरिरहेका छौँ ।’
सरकारी तवरबाट पहिलोपटक पाठेघरको मुखको क्यान्सर रोक्न खोप कार्यक्रम सञ्चालन गर्न लागेको भएपनि निजी क्षेत्रबाट भने खोप पहिलेदेखि नै दिइँदै आएको छ ।-रासस

Post a Comment