भदौको अनन्त चतुर्दशीका दिन सुदूर तथा मध्यपश्चिमको हुम्ला, बाजुरा, बझाङ, जुम्ला, अछाम, दार्चुला, डोटी, डडेल्धुरा, कालीकोटका विभिन्न देवताका देवस्थलहरूमा ठूला जात्रा हुनुका साथै महत्वपूर्ण पर्वको रुपमा मनाइन्छ । आसपासका मानिसहरू जति व्यस्त भए पनि कामधाम छोडेर मेला आयोजना हुने स्थलमा जम्मा भई देवताको पूजा गरी जात्राको मनोरन्जन लिन्छन् ।यसरी ती ठाउँहरूमा ठूलो सङ्ख्यामा मानिसहरू जम्मा भई मनाइने भव्य मेला कुनै पर्वभन्दा कम हँुदैनन् । शास्त्रहरूले त्यस दिन अनन्तलाई विष्णुका रुप मानेर पूजा गर्नु भने पनि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा मान्ने गरेजस्तै त्यसतर्फ देवी मन्दिर तथा आफ्ना कुल देवताको विभिन्न मन्दिरहरूमा पर्वको आयोजना गरी पूजा, धामी नाच आदि हुन्छ । यस दिनमा बझाङ, बाजुरा, डोटी र अछामको बीचमा रहेको प्रसिद्धस्थल खप्तडमा र त्यसको भोलिपल्ट छान्नाको सैनडाँडामा समेत खापर देवताको पूजा र मेलाको आयोजना हुन्छ ।
श्यामबहादुर खड्का
धेरै ठाउँमा यसरी पूजा हुने गरे पनि बझाङको ढँडारमा मष्टोको थानमा हुने मेलाको सम्बन्धमा चर्चा गर्न खोजिएको छ । रामायणकालका योध्दा, इन्द्रपुत्र जयन्तलाई मष्टोको अर्को रुप मानिन्छ । इन्द्रको राज्य सुरक्षाका लागि उनले दानवहरूसँग युद्ध गरेका थिए । केही व्यक्तिहरूको मान्यतामा लडाइँमा देवताहरूको जित भइसकेपछि उनलाई इन्द्रले नै त्यस ठाउँमा स्थापित गराएका थिए । स्थानीय मानिसहरू मष्टोसम्बन्धी फाग गीत गाउँदा उनी इन्द्रपुत्र, इन्द्रका बाह्रा (पुरी) बाट आएको मान्दछन् । मष्टोले आफूलाई इन्द्रपुत्र भन्दछन् र मण्डाल्नी उनकी आमाको नाम हो । उनी इन्द्रकी पत्नी र राक्षसकी पुत्री रहेको स्थानीय मान्यता छ । पुराणमा समेत इन्द्र पत्नी शची पुलोमा दानवकी छोरी रहेको उल्लेख छ । इन्द्रध्वजोत्थानमा इन्द्र, शची र जयन्तसमेतको पूजा गर्नुपर्छ भनिएको छ । उनी कसका पुत्र हुन् भन्ने कुरा निम्न फागले स्पष्ट पार्दछ ।
कसका पुत गोसाई कसका जाया । (कसको पुत्र भए कसको कोख जन्मे ।)
इन्द्रका पुत गोसाई मण्डाल्नीका जाया । (इन्द्र्रका पुत्र भए मण्डाल्नीका कोख जन्मे ।)
देश तथा विदेशका विभिन्न ठाउँमा मन्दिरहरु रहे पनियिनको मूल थान बझाङको उत्तरपूर्वी भागमा रहेको भातेखोलामा पर्ने ढँडार हो । संस्कृतिविद तथा मष्टोसम्बन्धी अध्येताहरूले समेत मुख्य थान ढँडारलाई नै माने पनि मष्टोदेवता बद्रीनाथ, काश्मिर अथवा एसियाको पश्चिमी भागबाट आएको उनीहरूको मान्यता छ । देशको अन्यत्र भागमा पूजा हुने मष्टोका थानहरु यस ठाउँबाट बक्साएर अथवा विभिन्न ठाउँमा दैवीशक्ति देखिएर स्थापित भएका हुन् । विभिन्न ठाउँमा भएका पूजा गर्ने थानको स्थानीय नामका आधारमा लेखकहरूले एउटै भए पनि उनलाई धेरै प्रकारका प्रस्तुत गरेका हुन् । यो स्थानको विशेषता के रहेको छ भने उत्तरमा रहेका कैलाश पर्वत, यो थान र खप्तड एउटै सरल रेखामा रहेको छन् । छेउमा पवित्र सेतीनदी बग्ने यो थान बुढीनन्दा पर्वत शृङ्खलाको पश्चिमी भागमा रहेको छ । मष्टोले नै धामीमा औतार हुँदा भन्ने गरेका छन् ।
बनारसी रजस्थान रोजेँ ढँडार भोग । (पृथ्वी मेरो राज्य गर्ने स्थान भए पनि ढँडार मेरो राज्य सञ्चालन गर्ने प्रमुख ठाउँ हो ।
ढँडार रहेको स्थानमा मष्टो थानको उत्पत्तिका सम्बन्धमा एक कथा प्रचलित छ— दुई किलो मिटर सीधा तल पैयाजडामा मष्टो नाम दिएर दैवीशक्तीको पूजा हुन थाली सकेको थियो । हाल ढँडारको थान रहेको स्थानमा घना जङ्गल मात्र रहेको हुँदा आसपास कुनै बस्ती नभएर गोठालाहरूको खर्क (छाप्रो) थियो । हाल होमकुण्डका लागि प्रयोग भई रहेको स्थान त्यसबेला गोठालाहरूको दूध तताउने अगेना थियो । राति गोठालाहरू खर्कमा नै बसोवास गर्थे भने दिनमा कोही घाँस काट्न अथवा काममा जान्थे ।
एक दिन गोठालाहरू साँझमा आउँदा, खर्कभित्र रहेका दूध दहीका सबै भाँडाहरू रित्ता थिए । घटनालाई लिएर अचम्मित भए पनि सामान्य ठानेर तिनीहरूले धेरै सोधखोज गरेनन् । अर्कोदिन समेत गरी, त्यो घटना निरन्तर दोहोरिन थालेपछि गोठालाहरूले चेवा बस्ने सल्लाह गरे । सबै जनाको दूध जम्मा गरेर एउटा कराईमा अगेनामा तताउन राखी निगरानी गरिरहेको बेला, गरुडको भेषमा रहेको जनावर आई दूध रित्याउनथाल्यो । गोठालाहरू ‘पख’ भन्दै भित्र पस्दा जनावर भाँडा र अगेनासहित ठूलो आवाजका साथ जमिनमा बेपत्ता भयो । त्यहाँ ठूलो आवाजकासाथ ढाँड (प्वाल) परेर दूधको भाँडो तल पैयाजडामा तल देखा पर्यो । ढाँड परेको हुनाले त्यस स्थानको नामढँडार रहन गयो ।
अनन्त चतुदर्शीमा हुने मेलालाई स्थानीय मानिसहरू ढँडारको जाँत (जात्रा) भन्दछन् । उक्त दिनलाई वर्षभरीको सबैभन्दा महत्वपूर्ण दिन र पर्व मान्ने गरेको कुरा मष्टोको भनाइबाटै स्पष्टछ “यो दिन मेरो स्वर्गदेखि पातालसम्मको ठूलो पर्व हो ।” द्वादशीदेखि मन्दिर लिपपोत गरी बरणी बान्ने र पूजा समेत सुरु गरेर सबै देवताको नाममा हवन कार्य तथा धामीमा मष्टोको औतार हुन्छ । अनन्त चतुदर्शीको अवसरमा स्थानीय मानिसहरू जमरा उमार्दछन् । जुन देवता औतार भएको धामीमा चढाए पछि सबै श्रध्दालुहरू लगाउँदछन् ।
त्रयोदशीका दिन श्रध्दालुहरू व्रत बसेर बेलुका भवानीको विशेष पूजासहित दियो, बत्ती गरेर, शंखघण्टा बजाई पहिले भवानी, लाँकुडा र लाटाहितको क्रमशः औतार हुन्छ । शंख र घण्टको आवाजका साथै बाजाहरूको तालमा देवताको पोशाक लगाई धामीहरू नाच्दछन् । वेदपाठी देवता बाँठपालाको थानमा धामीमा बाँठपालाको औतार हुन्छ । मेलाको अवसरमा आसपास तथा टाढा टाढाबाटदेवताका पाली (पूजक) सबै जातिहरू मन्दिरमा जम्मा भएका हुन्छन् ।
जनैपूर्णिमाको दिन मष्टो, वाचाअनुसार आफ्ना पालीका साथ देवीकोपूजा गर्न उच्च हिमाली शिखरतर्फ जान्छन् । अनन्त चतुर्दशीमा देवीहरू शिखरबाट आमा मण्डाल्नी तथा दाज्यु मष्टोसँग भेटघाट गर्न ढँडारमा आउँछन् । देवीको सम्मानमा ढँडारको देवपाटनमा देवीहरूलाई खानेकुराको भोग लगाइन्छ ।
यस मन्दिरमा हुने पूजाआजाले देशमा सहकालको अवस्थालाई प्रभाव पार्नुका साथै पूजामा हुने कमी कमजोरीको असर राष्ट्रिय स्तरमा पर्दछ । त्यसैले राष्ट्रिय हितका लागि पनि यस स्थानको पूजा नियमित तथा व्यवस्थित हुनुपर्दछ । २०५७ माघमा उक्त मन्दिरको मुख्यबाहेकको एक भाग आगलागी भएको थियो । मानिसहरूले अपशकुनको रूपमा देशमा अनिष्टवा क्षति हुने अनुमान गरेका थिए । सोही सालको फागुनमा देवता औतार भएर धामीले राजसंस्थालाई क्षति पुग्ने भविष्यवाणी गरेका थिए । धामीले सामान्य अवस्थामा भन्न खोज्दा मानिसहरू नबोल्न अनुरोध गर्दथे । घटनाको एक हप्ता अगाडि आफूलाई पूर्व आभास भएका सम्बन्धमा उनले विभिन्न व्यक्तिहरूसँग चर्चा गरेका थिए । धामीले पहिल्यै जानकारी दिएको भनेर पछुताएर केहीले क्षमायाचनासहित पूजा सामग्री पठाएका थिए ।
मष्टोका दूध र चामलको पूजा लिने सात्विकरुप दुधेमष्टो तथा रक्तबली ग्रहण गर्ने दाह्रेमष्टो गरी दुई रुप मानिन्छन् । दाह्रेमष्टो, मष्टोले देवीको सहयोगमा सृजना गरेको, लामा दाँत भएको आफैमा समाहित अर्को शक्तिको रुप हो । मुख्य मन्दिरहरूमा दुधेमष्टो र दाहे्रमष्टोको पूजा एउटै थानमा हुन्छ । उदाहरणका लागि ढँडार र राम्डीलगायतका मष्टोको मुख्य थानहरूमा संक्रान्ति, पूर्णिमा आदि विशेष पर्वहरूमा र आइतबार, बुधबारका दिन कुनै बली नभएर दुधेमष्टोको मात्र पूजा हुन्छ । मङ्गलबार र शनिबारलगायत अन्य दिनमा पूजा हुँदा बलीसमेत हुने र किमडालाबाट दाह्रेमष्टो आएर बोकाको भोग लिन्छन् भन्ने विश्वास गरिन्छ । देवता धामीमा औतार भएर मानिसहरूसँग प्रत्यक्ष वार्तालाप गर्दछन् । मष्टोले गब्युरभित्र पसेर कुनै हतियारहरू प्रयोग नगरी दाँतले बोकाको बली ग्रहण गर्दछन् ।
माटोका मालिक भएकाले यिनलाई मट्टे देवता, भूमि देवता वा भूमिया आदि पनि भनिन्छ । डडेलधुरा, डोटीको केही भाग र बैतडीतिर यिनलाई भूमिराज देवता अथवा भूमेश्वरको नाममा पूजा गरिन्छ ।
ढँडार वरिपरि पहिले घनाजङ्गल भए पनि देवताको पूजा हुन थालेपछि बस्ती बस्यो । मन्दिरको संरक्षित जङ्गलको बीचमा तलदेखि माथिसम्म भक्तजनहरू उक्लनका लागि जुम्ला, सिंजाको अज्ञात राजाले बनाइ दिएको चार सय अठासीवटा खुट्किलाहरू छन् । मुख्य मन्दिर प्रवेश गर्नुभन्दा अगाडि खोलादेली (फाटक) आउन्छ । संगै लाँकुडा देवताको ठाँटी (मन्दिर), दाहिनेतिर बाँठपालाको मन्दिर, पूर्वतर्फ खाली मैदान (देउ पाटन) रहेका छन् । मन्दिरको मूल ढोकाभित्र पस्दा सामुन्नेमा होमकुण्ड र पूर्वतिर बायाँ भागमा माता मण्डाल्नी र दाहिनेतर्फ मस्टोको गब्युर छ । दाहिने गब्युरको ढोकानेर मस्टो देवताको बस्ने पाट (सिंहासन) छ । मन्दिरको पश्चिमी भागमा देवारु (भक्तजन) आउँदा आगो बाल्ने धुनी रहेको छ । पश्चिम उत्तरमा लाँकुडाको थान रहेको र सँगै पर्खालमा कालसैन तथा लाँगा देवताको पूजा गर्ने खोपाहरु छन् ।
भारतको उत्तराखण्ड क्षेत्रको गढवाल, पिथौरागढको चण्डाकलगायतका स्थानहरूमा मोस्टा देवताको नामबाट मस्टोको पूजा हुन्छ । त्यसतर्फ यिनलाई देवीहरूको भाइ मान्दछन् भने लाटुदेवतालाई समेत नन्दादेवीको भाइ भएको विश्वास गरिन्छ । अझ त्यसतर्फ त दुई भाइको नाम दिने गरिएकाले देवी र मस्टोबीच भाइ बैनी सम्बन्ध रहेको स्पष्ट हुन्छ । पाकिस्तानमा रहेको हिउलादेवीको मन्दिर त्यसतर्फका मानिसहरू विबीनानी र नजिकै उनका भाइ रुपमा रहेका दैवीशक्तिलाई पीर गायब भनेर पूजा गर्दछन् ।
Post a Comment