
चितवन, भदौ २४ गते । चितवनमा अन्य जिल्लामा भन्दा बढी स्क्रव टाइफसका बिरामी देखिएपछि स्वास्थ्य सेवा विभागको टोलीले जिल्लाका बिभिन्न क्षेत्रमा मुसाको खोजी गर्दै अनुसन्धान थालेको छ ।
स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडा र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले चितवनको शारदानगर, मेघौली, गुञ्जनगर लगायतका क्षेत्रमा संक्रमण गराउने मुसाहरुको खोजी थालेको हो ।
मुसामा हुने एक प्रकारको किरा (माइट)ले टोकेमा यो रोग लाग्छ । विशेषगरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्ने चिकित्सकहरु बताउँछन् ।
शुक्रबारदेखि आगामी सोमवारसम्म ती क्षेत्रमा रहेका मुसाहरुलाई खोजेर ट्यापमा पार्ने र तिनीहरूको अनुसन्धान गरिने विभागका जनस्वास्थ्य अधिकृत रेमश लामिछानेले जानकारी दिए । ‘५० भन्दा बढी मुसाहरूलाई खोजेर अनुसन्धान गर्ने हाम्रो उद्देश्य हो,’ जनस्वास्थ्य अधिकृत लामिछानेले भने, ‘मुसाको प्रजाति र मुसाको कान पेट लगायतका स्थानमा बस्ने माइटबारे अनुसन्धान थाल्ने छौं ।’

चितवनमा अन्य जिल्लामा भन्दा बढी बिरामीहरूमा स्क्रव टाइफसको संक्रमण देखिएकाले विभागको टोलीले पहिलोपटक जिल्लाका विभिन्न क्षेत्रमा मुसाहरूको खोजी गरेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले बताए ।
टोलीमा किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौडाका इन्टोमोलोजिष्ट शिशिर पन्त, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन बुद्धरत्न महर्जन, शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल टेकुका उत्तमराज प्याकुरेल र बिजय रिमाल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ललनप्रसाद साह र प्रमोद कुमार मेहता सहभागी छन् । जनस्वास्थ्य कार्यालय चितवनबाट भेक्टर कन्ट्रोल निरीक्षक राम केसी र जनस्वास्थ्य निरीक्षक अनुप अधिकारी टोलीमा संलग्न छन् ।
चितवनमा भदौ २० गतेसम्म १८९ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ५ जना, नारायणी सामुदायीक अस्पतालमा ७ जना र बाँकी १७७ जना चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा स्क्रव टाइफस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।
यसैबीच चितवनको भरतपुर अस्पतालमा स्क्रव टाइफसको निःशुल्क परीक्षण सुरु गरिएको छ ।-सुवास पण्डित,अनलाइनखबर
Post a Comment