Websoft University

www.radiomakalu.com || 021-522512


मुटुरोगी छोरा बचाइदिन आमाको हारगुहार



बैतडी,साउन १९ गते  । आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन । खर्च अभावमा देहिमान्डौँ–८ मा बस्दै आएकी बसन्तीदेवी ऐरका ५ वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो ।


श्रीमान र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै आएकी ऐरका अन्य परिवार झलारीपिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उनी माइतीको आश्रयमा बस्दै आएकी छिन् । माइतीको अवस्था पनि झन् नाजुक छ । माइतीमा पनि बुबाको र भाइको पहिले नै मृत्यु भइसकेको उनको ६२ वर्षीया आमा मात्रै छिन् ।

श्रीमान र घरपरिवारले छोराको उपचार गर्न कुनै वास्ता नगरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुगेकी हुन् । छोराको जीवन जोगाईदिन उनले हारगुहार गरेकी छन् । विरामी बालक सञ्जीवका बुबा ज्ञानेन्द्रबहादुर ऐर बेरोजगार छन् । मेरो र छोराको हेरचाह नगर्ने र वास्ता गर्न छोडेपछि विगत ३ वर्षदेखि माइतीमा बस्दै आएको वसन्तीले बताइन् । उनको माइतीको अवस्था पनि दयनीय छ ।

उनले भनिन्, “हामी दुई बहिनी मात्रै छाैं, दुवैको बिहेपछि माइतीमा आमा मात्रै छन् ।” घरपरिवारले बेवास्ता गर्दा छोराको उपचार गर्न नसकेको उनले दुखेसो पोख्दै भनिन्,“माइतीमा कोही छैन घरकाले नहेर्दा छोराको उपचार हुन सकेको छैन ।” जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि गत जेठमा छिमेकीको सहयोगले छोरालाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा उपचारका लागि लगिएको थियो ।

काठमाडौँमा जाँच गराउँदा मुटुमा प्वाल परेको छ, छिट्टै शल्यक्रिया गर्नुपर्छ नत्र ठीक नहुने डाक्टरले सल्लाह दिएपछि वसन्तीलाई थप चिन्ता परेको छ । आर्थिक अभावले उपचार हुन सकेको छैन । सञ्जीवको मुटुको शल्यक्रिया गर्नुपर्ने भनेपछि बसन्ती समस्यामा छिन् । उपचार गर्न उनीसित पैसा छैन । विपन्न वर्गको सिफारिस गर्न सदरमुकाम आएकी वसन्तीले छोरा बचाई दिन सहयोगको याचना गरेकी छिन् । उनले छोराको उपचारका लागि आवश्यक पहल गरिदिन जिल्लाका राजनीतिक दल,सञ्चारकर्मी र स्थानीय निकाय तथा सहयोगीदातालाई अनुरोध गरेकी छन् ।

उनलाई यहाँबाट काठमाडाैं पुग्न समस्या छ । उपचार गर्न जाँदा छोरासँग जाने कोही छैनन् । उनले भनिन्, “पैसाको अभाव एकातिर छ अर्कोतिर अस्पताल लगिदिने आफ्नो कोही छैन । छोराको मुटु सामान्यको भन्दा दुई गुना बढी एकोहोरो चल्ने गर्छ, मुटु सुन्निने रोगको औषधि खुवाइरहेकी छु समयमै उपचार गर्न नसके भोलि के हुन्छ चिन्ता लाग्न थालेको छ ।”

सञ्जीव २ वर्षको छँदादेखि नै अलिअलि ज्वरो आउने गरेको थियो । सामान्य ज्वरो हो भनेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएका थिए । स्थानीय अस्पतालमा सामान्य उपचार गराएर पनि छोरालाई निको नभएपछि त्यहीबेलादेखि चिन्ता लागेको वसन्तीले सुनाइन् । “निमोनिया हो ठीक भइहाल्छ भन्ने सोचेकी थिएँ”, उनले भनिन्,“हाल आएर मुटुमा समस्या भएको देखाएको छ । मुटुको समस्याले छोराको मानसिक विकास पनि राम्ररी भएको छैन । छोराको उपचारका लागि भौँतारिँदैछु, पैसा जुटाउन सके छोराको रोग निको हुन्थ्यो कि आशा पलाएको छ ।”

सहयोगी हातको प्रतीक्षामा रहेकी वसन्तीसँग देहिमान्डौँस्थित विद्यालय र स्थानीय बजारमा केही रकम उठेको छ तर त्यो उपचारका लागि काठमाडाैं जान पर्याप्त छैन ।

पति सम्पर्कविहीन छन् परिवारले सहयोग जुटाउन सहायता गरेका छैनन्, उनले भनिन्,“एकपटक मात्रै छोरालाई उपचारका लागि काठमाडाैं लगेका उनका परिवारले आजभोलि वास्ता गर्न छोडेका छन् ।” ३५ वर्षीया वसन्तीले दुखेसो पोख्दै भनिन्,“सम्पत्तिका नाममा त्यही एउटा छोरा छ,कतैबाट सहयोग पाए त्यही सम्पत्ति जोगाउन सकिन्थ्यो की !”

सञ्जीवलाई आजभोलि पनि नियमित रुपमा औषधि खुवाइराखेको भएपनि औषधि सकिन लागेको उनले बताइन् । सञ्जीवलाई आजभोलि पुनः ज्वरो आउन थालेको,बायाँतिरको मुटु बढी हानिराखेको छ ।

१० वर्षपहिले बिहे गरेकी बसन्तीले आँखाबाट आँसु झार्दै भनिन्, “मेरो जति चिन्ता श्रीमान र घरपरिवारलाई भइदिएको भए आज यस्तो दिन आउने थिएन ।” ५ वर्षीय छोराको उपचार रकम जुट्न सके नयाँ जीवन पाउने आशा बसन्तीले गरेकी छिन् ।-बिनोद बिष्ट ,रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget