Websoft University

www.radiomakalu.com || 021-522512


ओलीका केही कर्मः कसले सम्झिने ? किन सम्झिने ?

                          

 

                           एमालेलाई २० वर्षअघिको ब्याजबाट मुक्त गरे केपीले

 
प्रधानमन्त्रीबाट निवर्तमान भएलगत्तै केपी शर्मा ओली संसद भवनको मुख्यद्वारबाट सानका साथ निस्किए । उनका पछाडि करीव दर्जन सांसदहरु थिए । टेलिभिजन क्यामेराहरुले घेरिएका उनले करीव तीनचार मिनेट जति चारैतिर नियाले, अनि प्रफुल्ल मुद्रामा हात हल्लाउदै मिडियाकर्मीसँग प्रतिक्रिया नदिई बाहिरिए ।

ओली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट बाहिरिँदा करीव तीनचार सय युवाहरु राष्ट्रिय झण्डा फहराउँदै प्रतिरक्षारत थिए । ओली बालकोटतिर लागेसँगै उनका समर्थकहरु पनि नारा लाउँदै अघि बढे । बालकोटमा उनी पुग्दा सयौं सर्वसाधारण ओली निवास बाहिर जम्मा भइसकेका थिए ।

आउनेलाई बाध्यकारी बाटो


युवा संघ र अनेरास्ववियुका नेता-कार्यकर्ताहरु समेत थपिएपछि ओली निवासको प्राङ्गण सानोतिनो आमसभामा परिणत भयो । ‘ओलीका लागि होइन, भोलिका लागि’ भन्दै पुगेका समर्थकलाई सम्बोधन गर्दै उनले भनेको एउटा वाक्य निकै अर्थपूर्ण छ, जसले अबका केही दशक नेपालको राजनीतिक नचाहेर पनि त्यसकै वरिपरि घुम्नेछ ।

ओलीले भनेका छन्- ‘म मरेका सपनाहरुको मलामी भएर होइन, मुर्छित सपनाहरुलाई ब्युँझाएर फर्किएको छु, अबको २० वर्ष जो प्रधानमन्त्री भए पनि मैले अघि सारेका आर्थिक सम्वृद्धिका एजेण्डाबाट भाग्न सक्दैन ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको शब्द जस्ताको त्यस्तै उधृत गर्दा ओलीका कुरालाई हावादारी भनेर उठाइए पनि आर्थिक सम्वृद्धिका लागि उनले देखेका सपना र अघि सारेका एजेण्डामा राष्ट्र एक दिन हिँड्नैपर्छ ।

यो कुरा संसदको रोष्टमबाट नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड र उनका मुख्य सारथी शेरबहादुर देउवाले स्वीकार गरिसकेका छन् । ओलीले अघि सारेका विकास योजना र चीनसँगका सम्झौतालाई अघि बढाउछौं भन्नुको सार त्यही हो ।

सानले आए, सानले गए
ओलीका कामको समीक्षा गर्ने दृष्टिकोण फरक-फरक हुन सक्छन् । तर, एउटा कुराचाहिँ सबैले देखेको के हो भने-ओली जसरी प्रधानमन्त्री निर्वाचित भएर बालकोटबाट बालुवार छिरेका थिए, त्यसैगरी निवर्तमान भएर बालुवाटारबाट बालकोट फर्किए ।

‘सानका साथ गए, सानका साथ फर्किए’ सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा प्रायः सबैले गरेको साझा टिप्पणी यही हो । प्रधानमन्त्रीबाट बाहिँरिदै गर्दा उनमा कुर्सी हरणको कुनै अपशोच थिएन । बरु जाँदा जाँदै बालुवाटारमा पिपलको विरुवा रोपेर भविश्यका प्रधानमन्त्रीले पानी हाल्नुपर्ने बाध्यता बनाएर हिँडे, जुन सांकेतिक तर अर्थपूर्ण छ ।

ओलीलाई किन सम्झिने ?

उनी प्रधानमन्त्री हुँदा मुलुक नाकाबन्दीबाट क्लान्त भएको थियो । तराई मधेसमा हिंसा मच्चिएर धेरैको ज्यान गइरहेको थियो । उनले नाकाबन्दी खुलाउनका लागि भारतका अनुचित शर्त मानेनन्, बरु भारत भ्रमण गर्ने मोदीको निम्तो उनले नाकाबन्दी नखुलेसम्म अस्वीकार गरे ।
जनताको साथ लिएर उनले नाकाबन्दीको सामना गरे । भूकम्पले थिलचिलो भएको छिमेकीलाई नाकाबन्दीको उपहार दिएको विषय अन्तर्राष्ट्रियकरण गरे । अन्ततः नाकाबन्दी पनि खुल्यो र मधेसी मोर्चाको आन्दोलन पनि साम्य भयो । ओलीले राष्ट्रिय स्वाधीनताको त्यो लडाइँ प्रचण्डको साथ लिएरै लडेका थिए, जसका पछाडि जनताको अपार समर्थन थियो ।
ओलीलाई सम्झिनुपर्ने अर्को कारण भनेको नेपाल आफैंले आफ्नो निर्णय गर्न सक्छ भन्ने पुष्टि गरे । नेपाल आफैंले केही गर्न सक्दैन, हामी सबै कुरामा भारतको इशारामा चल्छौं भन्ने मान्यता खण्डित गरे । छिमेकीको अनुचित चलखेल र हस्तक्षेपका बारेमा उनले जनताले सुन्ने गरी बताइदिए । यही आधारमा उनले जनताबीच आफ्नै राष्ट्रिय व्यक्तित्व पनि निर्माण गरे
ओलीको यही स्वतन्त्र निर्णय लिने अडानका कारण विगतमा नेपाल सन्दर्भमा सानातिना कुरामा पनि सुझाव दिन अघि सर्ने भारत पछिल्लो समयमा नेपाल नीतिमा टोन परिवर्तन गर्न थाल्यो । साउथ ब्लकमा हुने पत्रकार सम्मेलनहरुमा पछिल्ला दिनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको आन्तरिक मामिला भन्दै तर्किनुलाई यसरी बुझ्न सकिन्छ ।

आउनेलाई निगरानी

नेपाललाई भारतवेष्ठितबाट साँचो अर्थमा सन्तुलित सम्बन्धमा ल्याउन ओलीले गरेको आँट पूर्वाग्रही चश्मा खोलेर हेर्ने हो भने असाधारण हो । चीनसँगको व्यापार तथा पारवहन सम्झौता अब ओलीपछि आउने कुनै पनि प्रधानमन्त्रीले नजरअन्दाज गर्न सक्दैनन् ।
विशेष गरी चीनसँगका सम्झौता, काठमाडौं तराई फास्ट ट्रयाक, निजगढ विमानस्थल जस्ता परियोजनाहरुमा अबको सरकारले तलमाथि गर्नासाथ जनता जाग्ने मैदान खनेर हिँडे ओली । अबका सरकारले यी विषयमा तलमाथि गर्नासाथ ठूलो बिरोध सामना गर्नुपर्नेछ, जुन खतरा मोल्न निकै कष्ट हुनेछ ।
फास्ट ट्र्याक हामी आफैं बनाउन सक्छौं, हुलाकी राजमार्ग आफैं निर्माण गर्न सक्छौं, नेपालीले ढिलो वा चाँडो केरुङ हुँदै लुम्बिनीसम्म रेलवे लाइन देख्न सक्छन् भन्ने आशाको सञ्चार भएकै हो ।
प्रचण्डले स्रोत कहाँ छ भनेर प्रश्न गरे पनि उनले यी काम अघि नबढाए जनताले स्रोत देखाउँदै प्रश्न गर्ने गरी ओली बाहिरिएका छन् ।

मधेसप्रति ओली मोह

तराई मधेसको समथर भूभाग अन्न उत्पादनको उर्वर थलो हो । तर, लामो समयदेखि तराई मधेस राजनीतिको रोटी सेक्ने थलोमात्र बन्यो । पछिल्लो मधेस आन्दोलनताका मधेसमा ओलीको तस्वीर मधेस बिरोधीका रुपमा ब्यापक प्रचार गरियो । उनका भाषणलाई प्यारोडी बनाएर घन्काइयो ।
तर, ओलीले बजेटमार्फत तराई मधेसमा उनीप्रतिको धारणा परिवर्तन हुनेखालको कार्यक्रम ल्याए । मधेसका जिल्ला सदरमुकामहरुको विकासमा जुन बजेट उनले पठाएका छन्, त्यो खर्च भयो भने सम्बृद्ध तराईको सपना पूरा हुने बाटोमा जानेछ । हुलाकी राजमार्ग भारतले ओगटेरमात्रै राखेपछि ओलीले आफैं बनाउने गरी बजेट विनियोजन गरे ।
तराई मधेसमा सिञ्चाइ र त्यहाँका भूमिहीन तथा दलिहरुको सामजिक उत्थानका लागि विनियोजित बजेट कार्यान्वयन हुँदा मधेसी जनताले महशुस हुनेखालको परिवर्तन सायद देख्नेछन् । एमालेले सम्भवतः यही कुरा बोकेर तराई मधेसमा प्रवेश गर्नेछ । तर, यो बजेटमा राजनीति होइन, कार्यान्वयन आवश्यक छ ।

एमालेलाई दोस्रो ९ महिने संस्करण

एमालेको हकमा ओलीले केही चुनावी मसला र केही भाषणका टिप्स दिएर गएका छन् । अब एमालेले सधैंभरि मनमोहन अधिकारीको ९ महिने अल्पमतको सरकार सम्झेर बस्नु परेन । ओलीले नौ महिने सरकारको दोस्रो उपलव्धीको संस्करण निकालेका छन् ।
२० वर्षअघि एमालेकै पालामा शुरु भएको १ सय रुपैयाँ बृद्धभत्ता २ हजार पुर्‍याएको र अपांगता तथा विधवा भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रम एमालेका पुँजी हुन् । जसलाई ओलीले बढाइदिएका छन् । एमालेको महाधिवेशनबाटै राजनीतिक क्रान्ति सकियो भन्दै अब आर्थिक सम्बृद्धितर्फ जाने बाटो तय भएको थियो । त्यसलाई ओलीले व्यवहारमा कार्यन्वयनको गोरेटो कोरे ।
एमाले सचिव प्रदीप ज्ञवालीको विश्लेषण मान्ने हो भने अब देशको राजनीतिक कम्तिमा २० वर्ष ओलीकै एजेण्डाको वरिपरि घुम्नेछ । यो देशमा केही हुँदैन भनेर निराश बनेको युवा पुस्तामा ओलीले उत्साह भरेका छन् । राजनीतिलाई हेट गर्ने पुस्तामा ओली क्रेज देखिनु त्यसको संकेत हो । जुन क्रेज ०६४ को चुनावमा प्रचण्डप्रति थियो ।
पार्टीभित्रको सन्तुलन, सरकारका नियुक्तिहरुमा माधव नेपाल पक्षले ओलीबाट निषेधको व्यवहार खेप्नुपरेको गुनासो गरेको छ । गुटभन्दा माथि उठ्न नसक्ने नेता राजनेता कसरी बन्न सक्छ ? सायद ओलीका लागि यो प्रश्ने घोच्ने नै छ । तर, माधव नेपाल पक्षकै सांसद गणेश पहाडी बुधवार भन्दै थिए-ओलीले गुट चलाए पनि प्रत्येक निर्वाचन क्षेत्रमा एमालेका १५ सय भोट बढाइदिए ।

‘ओलीका लागि होइन, भोलिका लागि’

अनिल ताङबे गुरुङ एक प्रतिष्ठित व्यवसायी हुन् । मुस्ताङको कोरोला नाका खुलाउन उनले ३ वर्षदेखि गरेको प्रयास यसपटक आंशिक सफल भयो । उनी बिचारले कहिल्यै एमाले होइनन् तर आर्थिक सम्बृद्धि र राष्ट्रिय स्वाभिमानका सन्दर्भमा उनी ओलीका फ्यान भए । भन्छन्-ओलीका लागि होइन, भोलिका लागि म उनलाई समर्थन गरिरहनेछु ।
ओलीले धेरै केही गरेनन् । तर, मुर्झाएका सपनाहरु ब्युँझाइदिए, जसले गर्दा अब आर्थिक सम्बृद्धिको बहस नेपालमा मुख्य एजेण्डा बनेको छ । ओलीमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि एमालेका युवा नेता कार्यकर्ताहरु स्वतन्त्र युवा पनि बने । तर, त्यो भीडमा अर्थात ओलीका लागि होइन भोलिका लागि भन्ने लहरमा सानो हिस्सामा साँच्चिकै स्वतन्त्र युवा पनि थिए । जो एमालेका लागि होइन, एजेण्डाका लागि गएका थिए ।

आलोच्य ओली

जाँदाजाँदै ओलीले राष्ट्रिय ढुकुटीबाट अनावश्यक संस्था र व्यक्तिहरुलाई रकम बाँडे । गुगल ब्याइ नामले चिनिने आदित्य प्रतिष्ठानलाई तीन दलका शीर्ष नेताकै सहमतिमा एक करोड दिए । तर, महावीर पुनको अनुसन्धानमा एक कौडी पनि दिएनन् । यस्ता कुरामा ओली अरुको सुन्ने भन्दा पनि आफ्नो मनको निर्णय गर्ने स्वभावका कारण सधैं आलोचित छन् ।
सत्ता साझेदार प्रचण्डको मन किन फटाए ? गठबन्धनको साथ किन टुटाए ? माधव नेपाल, झलनाथ र बामदेव गौतमहरुको हात किन छुटाए ? यी प्रश्नको उत्तर ओलीले कतिपय दिइसकेका छन्, कतिपयको दिँदै गर्लान् । तर प्रधानमन्त्रीबाट बाहिरिदै गर्दा उनले जुन राष्ट्रिय नेताको उचाइ बनाएका छन्, यसलाई कायम राख्न आन्तरिक लोकतन्त्रलाई स्वीकार गर्दै पार्टीभित्रको एकता कायम गर्नु उनको सबैभन्दा ठूलो चुनौति हो । एमालेभित्रै साझा हुन नसक्ने नेता देशको साझा हुन सक्दैन भन्ने उनले बुझेका होलान् ।

अब मधेसीको मन बुझ्ने ?

ओलीले मधेस आन्दोलन मत्थर पारे । तर, आन्दोलनको मुद्दा टुंगो लगाउन सकेनन् । उनले चाहेर पनि गरेनन् वा उनको बशमा रहेन ? यसको जवाफ समयक्रममा आफैं आउनेछ । पछिल्लो तीनबुँदेले के प्रष्ट पारेको छ भने- या त ओलीप्रति मधेसी मोर्चाको विश्वास थिएन, अथवा यसको कमाण्ड अन्तै थियो ।
मधेसी र कतिपय आदिवासी जनजाति अगुवाहरुले उनलाई सामाजिक न्यायको विपक्षी नेताका रुपमा चित्रित गर्ने गरेका छन् । तराई मधेसको सम्बृद्धिमा उनले बजेट मार्फत जवाफ दिन खोजे पनि संविधानमा मधेसी समुदायले खोजेको के हो भन्ने कुरा अब प्रधानमन्त्रीका रुपमा होइन, पार्टी अध्यक्षका रुपमा उनले तराई झरेर खोज्नु उपयुक्त हुनेछ ।
जसरी पहाड र हिमालमा उनलाई राष्ट्रवादी नेताको उचाइ मिलेको छ, तराईका जनताले पनि उनीमाथि त्यहीरुपमा गर्व गर्ने अवस्था उनी आफैंले निर्माण गर्न सकुन् । जनता यस्ता प्राणी हुन्- जसलाई गाली गर्छन्, समय बित्दै जाँदा उसैसँग गला मिलाउँछन् । - मात्रिका पौडेल , अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget