शनिबार बेलुका नेपाल टेलिभिजनबाट प्रसारित “सीधा कुरा प्रधानमन्त्रीसँग’मा कुरा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान कार्यान्वयन गर्न वातावरण सिर्जना गर्नु आवश्यकता र चुनौती दुवै हो, त्यसका लागि संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने आदिवासी जनजाति र मधेसी समुदायलाई सहमतिमा ल्याएर सरकार
अगाडि बढ्नेछ । ”
संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री दाहालले आफ्नो सरकारले पुनःनिर्माण, विकास र समृद्धि, भ्रष्टाचार, महँगी, कालोबजारी तथा देशमा व्याप्त दण्डहीनता अन्त्य गर्ने सङ्कल्प गर्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “हामीले कहिल्यै प्रत्येक जातिलाई प्रदेश बाँड्ने भनेकै छैनौँ । ” प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै निर्णय र नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेभन्दा पनि राष्ट्र र जनताको पक्षमा भएका निर्णय आफ्नो सरकारले कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार परिवर्तन गर्नुको पछाडि केही न केही अन्तरहरू रहेका थिए, त्यसैले पनि अघिल्लो सरकारका सबै निर्णय कार्यान्वयन हुन्छ नै भन्ने होइन । ”
प्रधानमन्त्री दाहालले सरकारको आयु नौ महिनामात्र हुने भन्नेबारेमा कुनै त्यस्तो लिखित सहमति भएको छैन तर यतिभित्रमा काम सक्ने वा सरकारको प्राथमिकता के के हुने भन्नेबारे केही आधार तयार भएको
छ भन्नुभयो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको कार्यक्रम ‘सीधा कुरा प्रधानमन्त्रीसँग’लाई आजदेखि पुनः निरन्तरता दिइएको हो ।
Post a Comment