काठमाडौं,भदौ ५ गते । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनका विषयमा भारतमा छलफल गरेको भन्दै सरकारको आलोचना गरेको छ ।
व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान संशोधन हुन्छ भनेर चिठी दिइनु आपत्तिजनक भएको बताएका छन् ।प्रधानमन्त्रीको विशेष दूतका क्रममा नयाँदिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको प्रधानमन्त्री प्रचण्डको पत्रमा संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउने उल्लेख छ ।
एमाले सांसद यज्ञराज सुनुवारले संविधान संशोधनबारे दिल्लीमा छलफल गर्न पुगेर सरकारले दिल्लीको इशारा विना केही काम हुँदैन भन्ने सन्देश दिएको भन्दै यो राष्ट्रिय लज्जाको विषय भएको बताए ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि नेपालको संविधान संशोधनका विषयमा दिल्लीमा छलफल हुनु राष्ट्रियताको दृष्टिले चिन्ताको विषय भएको बताए ।
संसद बैठकमा विशेष समय लिएर बोलेका एमालेका सांसदहरुले भूकम्प प्रभावितहरुलाई घर बनाउनका लागि पहिलो किस्ताको रकम दिन ढिलाइ गरिएकाप्रति कांग्रेसमाथि कटाक्ष गरे ।
एमाले सांसदहरु रामहरी सुवेदी र यज्ञराज सुनुवारले प्रतिपक्षमा रहेका बेला भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ दिनुपर्यो भनेर सदन अवरुद्ध गर्ने कांग्रेसले सरकारमा गएपछि भूकम्प प्रभावितलाई किन विर्सियो भनेर प्रश्न गरे । प्रतिपक्षमा छँदा चर्को स्वर गर्ने अनि सरकारमा गएपछि मुन्टो लुकाएर हिंड्ने कांग्रेसी प्रवृत्तिलाई भूकम्प प्रभावितहरुले नजिकबाट नियालिरहेको उनीहरुले बताए ।
प्रतिपक्षी सांसदहरु खनिएपछि सत्तारुढ कांग्रैसकै सांसदहरुले पनि भूकम्प प्रभावितहरुलाई पहिलो किस्तास्वरुप डेढ लाख रुपैयाँ दिने भनेर संसदमार्फत गरिएको घोषणा तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
संसद बैठक भदौ १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।-अनलाइनखबरबाट

Post a Comment