पर्सा,भदौ १३ गते । सशस्त्र वनरक्षक र तस्करबीच पर्सामा गएराति दोहोरो गोली हानाहान भएको छ । पर्साको मधुवनमथवल वन क्षेत्रमा गएराति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो ।
नियमित गस्तीमा रहेको इलाका वन कार्यालय बढनियारको वन रक्षकमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको टोलीले रूख फँडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करवाट रक्षकलाई नै लक्षित गरी चार राउन्ड गोली प्रहार गरिएको र सोको प्रतिकारमा रक्षकबाट तीन राउन्ड गोली प्रहार भएको उनले बताए ।
प्रजिअ घिमिरेका अनुसार, तस्कर र वनरक्षकबीच भएको दोहोरो गोली हानाहानमा कुनै मानवीय क्षति नभएको र बनरक्षकले घटनास्थलबाट फँडानी गरिएका चार थान सालको काँचो गोलाइ, वन फँडानीमा प्रयोग गरिएका दुई थान आरा एवम् चार थान साइकल बरामद गरेका छन् । घटनामा संलग्न रहेकाको खोजी कार्य भइरहेको पनि उनले बताए ।
बरामद गरिएको आरा, साइकल र काठलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका वन कार्यालय बढनिहारमा राखिएको प्रहरीले जनाएको छ ।-रासस

Post a Comment