Websoft University

www.radiomakalu.com || 021-522512


राक्षस धपाउन पूजा गर्नेे मौलिक पर्व घन्टाकर्ण मनाइदै


 

भक्तपुर, साउन १७ गते  । आज साउन कृष्णपक्ष घन्टाकर्ण चतुर्दशी । नेवारी समुदायले आज हर्षोल्लासका साथ घन्टाकर्णअर्थात् गठामुंगः पर्व मनाउँदैछन् ।

आजको दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षस धपाउन पूजा गर्ने गर्दछन् ।

घन्टाकर्णको दिन नेवार समुदायले एका बिहानै महादेवको मन्दिर पुगेर जल ल्याउने र आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने प्रचलन रहेको छ । घन्टाकर्णको दिन घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भुतप्रेत पस्न सक्दैन भन्ने जन विश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

आजै नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गरिन्छ । काँचो माटोको सानो दहीको कटारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूल समेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलन समेत रहेको छ ।

आजकै दिन टोलवासीले नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगातअर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोलामा लगेर जलाइन्छ ।

नेवार समुदायमा घन्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्ष अघिदेखि प्रचलनमा रहेको छ ।

वर्षको चारवटा प्रमुख चतुर्दशी घन्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घन्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने मौलिक पर्व हो । यस पर्वलाई किसानको रोपाइँ कार्य सम्पन्न भएको र चाडपर्वको सुुरुबाट भएको सङ्केत पर्वको रुपमा पनि लिने गरिएको छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा श्रेष्ठ बताउनुहुन्छ ।

आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वको रुपमा लिने र सो दिनदेखि घन्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा रहेको छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत घन्टाकर्ण पर्व पछि सुरु गरिन्छ ।

भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । बडादसैँको टीकाको दिनदेखि प्रदर्शन गरिने नवदुर्गा नाच भक्तपुरको प्रसिद्ध नाचमध्ये एक हो । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget